कला/साहित्य

नेपालको मौलिक सङ्गीत जापानका प्रसिद्ध सहरहरूमा पुर्‍याइँदै

नेपाल र जापानकाे कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिक उत्सवका अवसरमा जापानका प्रमुख सात सहरमा विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। मिन-ओनको आयोजनामा हुन लागेको उक्त साङ्गीतिक भ्रमण कार्यक्रमले नेपालको मौलिक सङ्गीत जापानका प्रसिद्ध सहरहरूमा पुर्‍याउने छ।

‘नेपालको काव्यिक हृदयः चार ऋतु र पर्वहरू’  नाम दिइएको यस साङ्गीतिक कार्यक्रममा नेपाली लोक तथा शास्त्रीय धुन सम्मिश्रित साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिँदै छ। यो कार्यक्रम नेपालका विभिन्न ऋतु र चाडपर्वको परिचय दिने भिडियोसहितको साङ्गीतिक कन्सर्ट हो।

हिमालयको काखबाट प्रस्फुटित मौलिक धुनहरू जापानी दर्शकसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई ‘हिमालयलाई नियाल्ने सङ्गीतकारहरूको चमत्कारिक प्रस्तुति’ का रूपमा लिइएको छ।

यस साङ्गीतिक टोलीमा नेपालका दिग्गज तथा प्रतिभावान् वादकहरूको सहभागिता रहनेछ। यो कन्सर्ट सितारवादक सवन जोशी (पिएचडि) संयोजक भएर आयोजना गर्न लागेको हो।

जापानको ‘टोकियो युनिभर्सिटी अफ आर्टस्’ बाट विद्यावारिधि गरी लामो समयदेखि जापानमा नेपाली सङ्गीतबारे अनुसन्धान, अध्यापन र सितार कन्सर्टद्वारा नेपालको सङ्गीत र संस्कृतिहरू चिनाउँदै आएका सवन जोशीको यस कार्यक्रममा मुख्य भूमिका रहनेछ।

उक्त साङ्गीतिक टोलीमा सवन जोशी (सितार) लगायत अन्य कलाकारहरूमा रमन महर्जन (बाँसुरी), मिलेश तण्डुकार (तबला/पर्कसन) र मनिष गन्धर्व (सारङ्गी) छन्। साथै जापानी सङ्गीतकार मोरीफुजी शोजीले किबोर्ड तथा सिन्थेसाइजरमार्फत नेपाली सङ्गीतकारहरूलाई साथ दिनेछन्।

स्मरणीय छ, यी कलाकारहरूले नेपाल लगायत जापानका प्रसिद्ध विभिन्न सहरमा यसअघि पटकपटक शास्त्रीय सङ्गीत कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

२०८३ कात्तिक ३० देखि मङ्सिर ८ गतेसम्म जापानका विभिन्न हलमा आयोजना हुने बताइएको छ।

चिबा प्रान्तस्थित इचिखावा सिटी कल्चरल हलबाट सुरु हुने कार्यक्रम क्रमशः सिजुओका प्रान्तको फुजी सिटी कल्चरल हल (रोज थिएटर), सिजुओका प्रान्तकै मिसिमा सिटी कल्चरल हल (युयु हल), गिफु प्रान्तस्थित नागारागावा इन्टरनेसनल कन्भेन्सन सेन्टर, आइची प्रान्तको नितेरा जापान तोकुस्यु तोग्यो सिभिक हल, निगाता प्रान्तको मिनामी–उओनुमा सिभिक हल र अन्तिम दिन कानागावा प्रान्तस्थित कामाकुरा आर्टस् हलमा  हुने बताइएको छ।

दुई देशको कूटनीतिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध झन् प्रगाढ बनाउन यो साङ्गीतिक प्रस्तुतिका माध्यमले योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १३:३९ बुधबार