नेपाल स्रष्टा समाजको २०औं अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
निर्वाचनमा अध्यक्ष रोदन सहित उपाध्यक्षमा प्रकाश घायल, महासचिव मधु पाठक, कोषाध्यक्षमा तारा पराजुली निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी सचिवमा प्रदीप सापकोटा विजयी भएका छन्।सदस्यहरूमा क्रमश: यादव भट्टराई, डा. शान्तिमाया गिरी, सुमन थापा सङ्गम र तोयानाथ गौतम विजयी भए।
यसअघि उद्घाटन सत्रमा विभिन्न साहित्यिक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि एवं सदस्यहरूले अधिवेशनको सफलताको शुभकामना दिँदै समाजले भाषा, साहित्यको क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए।
यसरी शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा वरिष्ठ नाटकार, साहित्यकार एवं समाजका सल्लाहकार अशेष मल्ल, सल्लाहकार लक्ष्मणप्रसाद गौतम, संरक्षक पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल र दायित्व प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त थिए।
यसैगरी एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, रमेश विकल प्रतिष्ठानका महेन्द्र चालिसे, लिलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा र गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले पनि मन्तव्य प्रस्तुत गरेका थिए। शुभकामना मन्तव्यकै क्रममा अभिनव साहित्यिक प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरेले पनि बाेलेका थिए।
दिवंगत साहित्यकारहरू तथा गत भदौ १० को महाविनाशकारी बाढीमा जीवन गुमाउनेहरूप्रति मौनधारण गरी शुरु गरिएको कार्यक्रममा नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, बागमती प्रदेश अध्यक्ष शंकर भारती, मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा सहभागीहरूलाई स्वागत मन्तव्य समाजका अध्यक्ष एवं सभाध्यक्ष रोदनले गरेका थिए। अध्यक्षले मन्तव्यकै क्रममा आफूले कार्यसमितिका सबैले राम्रो कार्य गरेकाले समाज यो अवस्थामा आइपुगेको भन्दै उत्कृष्ट पदाधिकारीको रूपमा कोषाध्यक्ष तारा सुवेदीलाई सम्मान समेत गरे।
उद्घाटन सत्रमै सदस्य डा. शान्तिमाया गिरीले धन्यवाद ज्ञापन गरिन्। उद्घाटन सत्रको सञ्चालन महासचिव प्रकाश घायलले गरेका थिए।
बन्द सत्रमा महासचिव घायलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष तारा सुवेदीको आर्थिक प्रतिवेदन र सदस्य प्रदीप सापकोटाको प्रदेश सञ्चालन कार्यविधि,निर्वाचन कार्यविधि प्रस्तुत भएको थियो। तीमाथि छलफल गरी पारित समेत गरिएको थियो। बन्द सत्रको सञ्चालन सदस्य माधव विडारीले गरेका थिए।
निर्वाचन समितिका संयोजक प्राडा लक्ष्मणप्रसाद गौतमले निर्वाचित हुने सबैलाई माला तथा प्रमाणपत्र प्रदान गरेका थिए। संरक्षक पवन आलोकले टीका लगाइदिए।
यसैगरी निर्वाचन संयोजक प्राडा गौतमले निर्विरोध र मतदानबाट निर्वाचित सबै पदाधिकारीलाई बधाई तथा कार्यकालको सफलताको निम्ति शुभकामना दिंदै सपथ ग्रहण गराएका थिए।प्राडा गौतमको संयोजकत्वमा राजेश खनाल, अधिवक्ता विजयभक्त श्रेष्ठ निर्वाचन समितिमा रहेका थिए।
प्रकाशित: २१ भाद्र २०८३ ०८:०५ आइतबार



