कला/साहित्य

चलचित्र ‘सोल्टिनी’मा समावेश ‘नौलाखे तारा’ सार्वजनिक

भाइटिकाको दिन  सार्वजनिक हुन लागेका चलचित्र 'सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक गरेको छ। सम्झना समेटिएर बनाइएको गीत जसमा शब्द, सङ्गीत र स्वरको सुन्दर मिश्रण रहेको छ। चलचित्रको गीतमा भावुक विषयवस्तु समेटिएको छ।  

गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।

‘नौलाखे तारा’मा प देखिएका भिजुअल, तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई समेटिएको छ। गीतको  भिडियोमा पनि ती भाभुक उतार–चढाव स्पष्ट देखिन्छ, जसले चलचित्रको मूल कथाको सन्देश दिन्छ।

अर्जुन सुवेदीले निर्देशन गरेका सोल्टिनी’ मा प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न रहेको छ। इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका  सुन्दर पृष्ठभूमिमा छायाङ्कन गरिएको 'सोल्टिनी’ले समाजमा रहेका जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने अड्चनलाई समेटिएको छ।

निर्देशक सुवेदीका अनुसार चलचित्र सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्यले बनाइएको हो।

प्रकाशित: २४ आश्विन २०८२ २१:२९ शुक्रबार