इलामको माइजोगमाई गाउँपालिकामा स्थानीय कला, संस्कृति, साहित्य र इतिहासको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘माइजोगमाई रैथाने गाथा’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माइजोगमाई सेवा समाजको आयोजनामा जेठ ३० गते सम्पन्न सांस्कृतिक महाकुम्भमा विभिन्न जातीय समुदायको सहभागिता, बौद्धिक बहस तथा सम्मान कार्यक्रम मुख्य आकर्षण बनेका थिए।
कार्यक्रमको सुरुवात नयाँ बजार क्षेत्रमा आयोजित बहुजातीय सांस्कृतिक झाँकी तथा र्यालीबाट गरिएको थियो। राई, लिम्बू, बाहुन, गुरुङ, शेर्पा, लेप्चालगायत विभिन्न समुदायले आफ्नो मौलिक भेषभूषा र सांस्कृतिक पहिचान झल्काउने प्रस्तुतिसहित सहभागिता जनाएका थिए। लिम्बू समुदायको च्याब्रुङ बाजासहितको र्याली र ‘केलाङ’ नृत्यले विशेष आकर्षण थपेको थियो।
मूल समारोहमा विभिन्न जातीय समुदायका सांस्कृतिक टोली तथा स्थानीय कलाकारलाई ‘माइजोगमाई संस्कृति सम्मान’ प्रदान गरिएको थियो। मौलिक संस्कृति संरक्षणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा माइजोगमाईमा जन्मिएर विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यक्तित्वहरूलाई ‘माइजोगमाई गौरव सम्मान’ प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा वरिष्ठ संस्कृतिविद् मोहनसिंह थेबे, गायिका फुटी शेर्पा, लोकगायक इन्द्र गुरुङ, प्राध्यापक डा. भीम सुवेदी, गायक तथा संगीतकार कोमल निरौला, युवा गायक कृष्ण भट्टराई, साहित्यकार दिवाकर भण्डारी, चिकित्सक डा. तारानाथ पोख्रेल, प्रशासक वीरबहादुर राई तथा नेपाल प्रहरीका पूर्व डीआईजी पिताम्बर अधिकारी छन्।
यसैगरी, समकालीन कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएकी कोरियोग्राफर तथा रंगकर्मी स्मृति प्रधान र बाँसुरीवादक देव निरौलालाई ‘माइजोगमाई प्रतिभा सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रममा शैक्षिक क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको छ। कक्षा ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट अंक ल्याएकी अमर कल्याण माध्यमिक विद्यालयकी छात्रा प्रेहिमा भण्डारी तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पालिकाभर उत्कृष्ट नतिजा हासिल गरेकी सिरिसे माध्यमिक विद्यालयकी छात्रा अचिश्मा लिम्बुलाई प्रशंसापत्रसहित पुरस्कृत गरिएको थियो।
सो अवसरमा ‘माइजोगमाई रैथाने साहित्य तथा संस्कृति बहस’ शीर्षकमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। गोरखापत्र दैनिकका संवाददाता प्रेम अधिकारीको सहजीकरणमा सम्पन्न बहसमा वरिष्ठ संस्कृतिविद् युद्धप्रसाद वैद्य, साहित्यकार दिवाकर भण्डारी, गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र उपाध्यक्ष प्रविना राईले रैथाने भाषा, साहित्य तथा संस्कृति संरक्षणका विषयमा धारणा राखेका थिए।
प्रकाशित: ३ असार २०८३ १४:४० बुधबार



