चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि ठुलो पर्दामा फर्किएका छन्। उनी अहिले प्रदर्शन भइरहेको चलचित्र ‘चमेलीको पोइ’मार्फत चलचित्रमा फर्किएका हुन्।
लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी हास्य टेलिशृंखला ‘ट्वाक्क टुक्क’मा उनले निर्वाह गरेको ‘प्रेम चरो’ र ‘ज्वाइँ’ पात्रका कारण दर्शकमाझ परिचित छन्। अमेरिकामा रहँदा पनि उनी व्यवसायसँगै अभिनयमा सक्रिय थिए। उनले अमेरिकाबाटै केही टेलिसिरियलमा समेत काम गरेका बताउँछन्।
करिब १८ वर्षपछि चलचित्रमा फर्किएका त्रिपाठीले यसबिच केही टेलिसिरियलमा काम गर्दै आएका थिए। अहिले निर्देशक एभरेस्ट सूर्य बोहराको निर्देशन तथा लेखन रहेको ‘चमेलीको पोइ’मा उनी पुरानै हास्य शैलीमा देखिएका छन्।
धेरैपछि दर्शकमाझ फर्किन पाउँदा र आफ्नो पुरानै शैलीमा अभिनय गर्न पाउँदा आफू उत्साहित रहेको त्रिपाठीले एक अन्तर्वार्तामा बताएका थिए।
त्रिपाठीको पहिलो चलचित्र ‘मनमा माया’ हो। ‘चमेलीको पोइ’मा भने उनी अभिनेत्री सुरक्षा पन्तको भिनाजुको भूमिकामा छन्।
प्रकाशित: १७ आश्विन २०८३ १६:२२ शनिबार



