भारतीय फिल्मका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी र मराठी फिल्ममा करिब पाँच दशक बिताएका पाटेकरको बिहीबार भारतको गोवास्थित निवासमा कार्डियक अरेस्ट भएपछि निधन भएको हो।
अस्पताल पुर्याइएका उनलाई चिकित्सकले करिब ४५ मिनेटसम्म बचाउने प्रयास गरेका थिए तर उपचार सफल हुन सकेन। बिहान ५ बजेर २० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो। उनको निधनले भारतीय फिल्म क्षेत्रलाई स्तब्ध बनाएको छ। अभिनयमा आफ्नो छुट्टै पहिचान बनाएका पाटेकर पर्दामा जति प्रभावशाली थिए, पर्दाबाहिर सामाजिक काममा पनि उत्तिकै सक्रिय थिए।
नानाको निधनले भारतीय फिल्म क्षेत्रले फरक शैलीका एक अनुभवी कलाकार गुमाएको छ। उनी परम्परागत नायकको छविमा मात्र सीमित थिएनन्। खलनायक, प्रहरी अधिकारी, सामाजिक अन्यायविरुद्ध आवाज उठाउने पात्र, परिवारका सदस्य र हास्य चरित्रसम्म उनले उत्तिकै प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। उनको आवाज, संवाद बोल्ने शैली, अनुहारको भाव र पात्रअनुसार आफूलाई बदल्न सक्ने क्षमताले उनलाई अरू कलाकारभन्दा अलग बनाएको थियो। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘सलाम बम्बे’, ‘अग्नि साक्षी’, ‘अब तक छप्पन’, ‘नटसम्राट’ र ‘वेलकम’जस्ता फिल्ममा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लामो समयसम्म सम्झिइनेछन्।
अन्तिम रातको सन्देशपछि आएको दुःखद खबर
भारतीय सञ्चारमाध्यमका अनुसार निधन हुनुभन्दा केही घण्टाअघि नानाले आफ्ना एक साथीलाई आफूलाई अस्वस्थ महसुस भइरहेको सन्देश पठाएका थिए। राति करिब २ः३० बजे पठाइएको उक्त सन्देश साथीले तत्काल देखेनन्। पछि सन्देश हेरेपछि उनी बिहान करिब ४ बजे नानाको गोवास्थित निवास पुगेका थिए। त्यतिबेला नाना असहज अवस्थामा थिए। उनलाई पसिना आएको र सास फेर्न गाह्रो भइरहेको बताइएको छ।
त्यसपछि स्वास्थ्यकर्मी बोलाएर उनलाई अस्पताल पुर्याउने व्यवस्था गरिएको थियो। गोवास्थित मणिपाल अस्पतालमा चिकित्सकले उनलाई बचाउने प्रयास गरे। करिब ४५ मिनेटसम्म उपचार र पुनर्जीवित गराउने प्रयास गर्दा पनि उनको अवस्थामा सुधार आएन। अन्ततः बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरिएको थियो। अस्पतालका चिकित्सकले उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको बताएका थिए। उनको निधनबारे छोरा मल्हार पाटेकरले पनि पुष्टि गरेका थिए।
उनको पहिचान अभिनयमा मात्र सीमित थिएन। किसानका समस्या, खडेरी प्रभावित गाउँ र पानी संरक्षणका विषयमा उनले गरेको कामका कारण फिल्म क्षेत्रबाहिरका मानिससँग पनि उनको सम्बन्ध जोडिएको थियो।
महाराष्ट्रमा जन्म, रंगमञ्चबाट अभिनयको सुरुआत
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। उनको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा भएको थियो। उनी सानैदेखि कला र अभिनयमा रुचि राख्थे। फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि उनले रंगमञ्चमा काम गरेका थिए। मराठी नाटकमा अभिनय गर्दै उनले पात्रको मनोविज्ञान बुझ्ने, संवाद प्रस्तुत गर्ने र भावनालाई स्वाभाविक रूपमा व्यक्त गर्ने अनुभव हासिल गरे। यही अनुभव पछि फिल्ममा उनको अभिनयको आधार बन्यो।
रंगमञ्चबाट पाएको अनुभवले उनलाई संवादमा विशेष पकड दिएको थियो। उनी संवाद बोल्दा आवाजको उतारचढाव, शब्दमा दिने जोड र अनुहारको भावलाई पात्रको अवस्थाअनुसार प्रयोग गर्थे। त्यसैले उनका केही संवाद फिल्म प्रदर्शन भएको धेरै वर्षपछि पनि दर्शकमाझ चर्चित रहे। अभिनयमा वास्तविकता खोज्ने र पात्रलाई गहिराइका साथ प्रस्तुत गर्ने शैलीले उनलाई गम्भीर फिल्मका निर्देशकहरूको रोजाइमा पुर्यायो।
नानाले सन् १९७८ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘गमन’बाट फिल्मी यात्रा सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी र मराठी दुवै भाषाका फिल्ममा काम गरे। सुरुआती समयमा उनले साना भूमिका र गम्भीर विषयवस्तु भएका फिल्ममा अभिनय गर्दै आफ्नो क्षमता प्रमाणित गरे। तत्काल ठुलो स्टारका रूपमा स्थापित नभए पनि उनले निरन्तर काम गरेर दर्शक र फिल्म निर्माताको ध्यान आकर्षित गरे।
गम्भीर भूमिकादेखि हास्य पात्रसम्म
नानाको अभिनय यात्रा गम्भीर फिल्ममा मात्र सीमित थिएन। उनले ‘अग्नि साक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अपहरण’, ‘अब तक छप्पन’ र ‘ट्याक्सी नम्बर ९२११’ जस्ता फिल्ममा पनि उल्लेखनीय भूमिका निर्वाह गरे।
‘अग्नि साक्षी’मा उनको अभिनयले दर्शकको ध्यान खिचेको थियो। ‘खामोशीः द म्युजिकल’मा उनले बोल्न र सुन्न नसक्ने पात्रको भूमिका निर्वाह गरेका थिए। यस भूमिकामा संवादभन्दा अनुहारको भाव र शारीरिक हाउभाउमार्फत भावना व्यक्त गर्नुपर्ने भएकाले उनको अभिनय क्षमताको अर्को पक्ष देखिएको थियो।
‘अब तक छप्पन’मा उनले अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए। यस फिल्ममा उनको पात्र कठोर र व्यावहारिक थियो। अपराधसँग जोडिएको संसारमा काम गर्ने प्रहरी अधिकारीको मनोविज्ञान र व्यक्तिगत जीवनबिचको द्वन्द्वलाई उनले आफ्नै शैलीमा प्रस्तुत गरेका थिए। ‘अपहरण’मा पनि उनले प्रभावशाली भूमिका निर्वाह गरेका थिए। फरक कथावस्तु र पात्रमा काम गर्दा पनि उनले आफ्नो अभिनयलाई एकै ढाँचामा दोहोर्याएनन्।
सन् २००७ मा आएको ‘वेलकम’ले नानालाई फरक किसिमको लोकप्रियता दिलायो। यस फिल्ममा उनले उदय शेट्टी नामक पात्रको भूमिका निर्वाह गरेका थिए। गम्भीर र हिंसात्मक भूमिकामा परिचित नानाले यसमा हास्य अभिनयबाट दर्शकलाई मनोरञ्जन दिए। उनको संवाद, अनुहारको भाव र पात्रको आत्मविश्वासले उदय शेट्टीलाई फिल्मको चर्चित चरित्र बनायो। उनले हास्य भूमिकामा पनि आफूलाई सहज रूपमा प्रस्तुत गर्न सक्ने प्रमाणित गरे।
‘वेलकम ब्याक’मा पनि उनले यही पात्रलाई निरन्तरता दिएका थिए। हास्य फिल्ममा उनको उपस्थितिले दर्शकलाई फरक अनुभव दिएको थियो। यसले नाना केवल गम्भीर अभिनय गर्ने कलाकार होइनन् भन्ने कुरा स्थापित गर्यो। व्यावसायिक मनोरञ्जनात्मक फिल्म र सामाजिक विषयवस्तु भएका सिनेमामा समान प्रभाव छोड्न सक्नु उनको करिअरको उल्लेखनीय पक्ष थियो।
‘नटसम्राट’ र मराठी फिल्ममा योगदान
मराठी फिल्ममा नानाको योगदान पनि हिन्दी फिल्मको जत्तिकै महत्त्वपूर्ण थियो। ‘नटसम्राट’मा उनले गणपत बेलवलकर नामक वृद्ध रंगकर्मीको भूमिका निर्वाह गरेका थिए। आफ्नो जीवनको ठुलो हिस्सा रंगमञ्चमा बिताएको कलाकार वृद्ध भएपछि परिवार र समाजसँगको सम्बन्धमा आउने परिवर्तन यस फिल्मको मुख्य विषय थियो। नानाले यस पात्रको पीडा, आत्मसम्मान र एक्लोपनलाई भावनात्मक रूपमा प्रस्तुत गरेका थिए।
‘नटसम्राट’मा उनको अभिनयले रंगमञ्चबाट आएको अनुभवलाई पर्दामा उपयोग गरेको देखिन्छ। संवादको गति, मौन क्षण र अनुहारमा देखिने भावमार्फत उनले पात्रको भित्री संघर्ष प्रस्तुत गरेका थिए। फिल्मले परिवार, बुढ्यौली, सम्मान र मानिसको जीवनमा आउने उतारचढावबारे प्रश्न उठाएको थियो। उनको अभिनयलाई मराठी सिनेमाका उल्लेखनीय प्रदर्शनमध्ये एक मानिन्छ।
‘प्रहार’बाट निर्देशनमा प्रवेश
नाना पाटेकर अभिनयमा मात्र सीमित रहेनन्। उनले निर्देशनमा पनि हात हालेका थिए। सन् १९९१ मा आएको ‘प्रहार’ उनले निर्देशन गरेको फिल्म हो, जसमा उनले अभिनयसमेत गरेका थिए। फिल्ममा सैनिक अनुशासन, तालिम, हिंसा र समाजमा देखिने अन्यायजस्ता विषय समेटिएका थिए। यसले उनको रुचि केवल अभिनयमा नभई फिल्ममार्फत विचार र सामाजिक विषय प्रस्तुत गर्न पनि रहेको देखायो।
‘प्रहार’ तयार गर्दा उनले सैनिक तालिम र अनुशासनबारे अध्ययन गरेको बताइन्छ। फिल्ममा पात्रलाई वास्तविक देखाउन शारीरिक अभ्यास र तालिममा पनि ध्यान दिइएको थियो। निर्देशनमा उनको दृष्टिकोण अभिनयसँग जोडिएको थियो। पात्रको व्यवहार विश्वसनीय बनाउने र कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कुरामा उनले जोड दिएका थिए।
नाना पाटेकरले आफ्नो अभिनयका लागि तीनवटा राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए। उनका पुरस्कारले हिन्दी र मराठी दुवै फिल्ममा गरेको कामको कदर भएको देखाउँछन्।
सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो। यो भारतका प्रमुख नागरिक सम्मानमध्ये एक हो र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ।
किसानका समस्या देखेपछि समाजसेवामा सक्रिय
नानाको जीवनको महत्त्वपूर्ण पक्ष समाजसेवा थियो। महाराष्ट्रका किसानले भोगिरहेका आर्थिक समस्या, खडेरी र आत्महत्याका घटनाले उनलाई प्रभावित पारेका थिए। किसानले उत्पादन गरेको अन्नमा देशको ठूलो हिस्सा निर्भर भए पनि उनीहरू आफैं आर्थिक संकटमा पर्ने अवस्था उनलाई चिन्ताजनक लागेको थियो। त्यसपछि उनले समस्यामा परेका किसान परिवारलाई सहयोग गर्ने काममा सक्रियता बढाए।
सुरुआतमा नानाले व्यक्तिगत रूपमा किसान परिवारलाई आर्थिक सहयोग गरेका थिए। किसानको आत्महत्यापछि परिवारले सामना गर्ने आर्थिक र सामाजिक कठिनाइ कम गर्न उनले सहयोग जुटाएका थिए तर व्यक्तिगत सहयोगले मात्र समस्या समाधान नहुने कुरा उनले बुझे। किसानलाई तत्काल राहत दिनु आवश्यक भए पनि पानीको अभाव, खेतीको जोखिम र ग्रामीण क्षेत्रमा अवसरको कमी जस्ता मूल समस्यामा काम गर्नुपर्ने आवश्यकता थियो।
नाम फाउन्डेसन र पानी संरक्षणको अभियान
नाम फाउन्डेसनले महाराष्ट्रका खडेरी प्रभावित क्षेत्रमा पानी संरक्षण र ग्रामीण विकासका काम अघि बढाएको छ। यसअन्तर्गत पुराना नहर र पानीका संरचना पुनःस्थापना गर्ने, नदी तथा खोलाको पुनर्जीवन गर्ने, पानी जम्ने स्थानको मर्मत गर्ने र भूजलको उपलब्धता बढाउने काममा ध्यान दिइएको छ। खेतीका लागि पानी उपलब्ध नहुँदा किसानले आर्थिक संकट सामना गर्नुपर्ने भएकाले पानी संरक्षणलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ।
नाना पानी संरक्षणबारे सार्वजनिक रूपमा बोल्थे र यसलाई सरकारी परियोजनामा मात्र सीमित राख्न नहुने बताउँथे। गाउँका मानिस, किसान र स्थानीय समुदायले पनि पानी बचाउने काममा सक्रिय भूमिका खेल्नुपर्ने उनको धारणा थियो। उनको विचारमा किसानको समस्या समाधान गर्न तत्काल राहतका साथै खेतीको आधारभूत अवस्था सुधार्नु आवश्यक थियो। यही सोच नाम फाउन्डेसनको काममा पनि देखिएको छ।
तनुश्री दत्ताको आरोप र ‘मीटू’ विवाद
सन् २०१८ मा अभिनेत्री तनुश्री दत्ताले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लीज’को छायांकनका क्रममा नानाले अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले फिल्मको एक नृत्य दृश्यको छायांकनका क्रममा नानाले आफूलाई असहज बनाउने व्यवहार गरेको दाबी गरेकी थिइन्। उक्त आरोप सार्वजनिक हुँदा भारतमा ‘मीटू’ अभियानले फिल्म क्षेत्रसहित विभिन्न क्षेत्रमा यौन दुव्र्यवहार र शक्ति दुरुपयोगबारे बहस चर्काइरहेको थियो।
तनुश्रीको आरोपपछि फिल्म क्षेत्रका कलाकारको व्यवहार, छायांकनस्थलमा महिला कलाकारको सुरक्षा र उजुरी गर्ने व्यक्तिको भनाइलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा चर्चा भएको थियो। उनको आरोपले पुरानो घटनालाई फेरि सार्वजनिक बहसमा ल्याएको थियो। यसले फिल्म क्षेत्रमा काम गर्ने महिलाले सामना गर्नुपर्ने चुनौतीबारे पनि प्रश्न उठाएको थियो।
७५ वर्षको उमेरमा निधन भएका नाना पाटेकरले भारतीय फिल्ममा विशिष्ट छाप छोडेका छन्। उनको अभिनय शैली र संवाद प्रस्तुत गर्ने क्षमता आगामी पुस्ताका कलाकारका लागि अध्ययनको विषय बन्न सक्छ।
सामाजिक काममा उनले देखाएको सक्रियता पनि उनको परिचयको अभिन्न हिस्सा रहनेछ। उनको जीवन उपलब्धि र विवाद दुवैबाट बनेको भए पनि भारतीय फिल्ममा उनको योगदान र किसानका लागि सुरु गरेका अभियानले उनलाई लामो समयसम्म सम्झाइरहनेछन्।
प्रकाशित: २४ आश्विन २०८३ १२:१६ शनिबार