कला/साहित्य

कवि विश्व सिग्देलको ‘पेल स्याडोज एट डस्क’ लोकार्पण

वर्तमान कविता समूहले कवि विश्व सिग्देलको ‘पेल स्याडोज एट डस्क’ कवितासंग्रहकाे लोकार्पण गरेकाे छ। प्रमुख अतिथि डा. हेमराज काफ्ले, कवि विश्व सिग्देल लगायतले सामुहिक रूपमा कृतिकाे लाेकार्पण गरेका थिए।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि डा. हेमराज काफ्ले र डा. बलराम अधिकारीसहित कवि सिग्देललाई सञ्जय सुमनले खादा अर्पण गर्दै सम्मानपूर्वक आसन ग्रहण गराए।

डा. हेमराज काफ्लेले सिग्देलको संवेदनशील र भावुक लेखनशैलीको चर्चा गर्दै संग्रहले मानवीय भावना र अनुभवका सूक्ष्म तहलाई समेटेको टिप्पणी गरे। उनले यसै सङ्ग्रहका कविताका सुन्दर बान्की पनि प्रस्तुत गर्दै विश्व सिग्देलका कविताले  काव्य तत्वलाई सुन्दर ढङ्गबाट समेटेको बताए।

डा. बलराम अधिकारीले कृतिको विषयगत गहिराइ, समकालीन कवितामा यसको महत्त्व र अनुवादको दृष्टिकोणबाट यसलाई कसरी अझ अन्तर्राष्ट्रिय बनाउन सकिन्छ भन्ने पक्षमा बाेलेका थिए। उनले नेपाली साहित्यको अनुवाद लेखक र अनुवादकको सहकार्यमा अघि बढाउनुपर्नेमा पनि जोड दिएका थिए।

कवि चन्द्रबहादुर लामाले  सञ्चालन गरेकाे कार्यक्रममा अंग्रेजी र जर्मन भाषामा गरिएको कविता वाचन थियो। कवि रजनी मिला, हरिश अधिकारी, भीष्म उप्रेती र अभय श्रेष्ठले कवि सिग्देलका अंग्रेजीकविताको वाचन गरेका थिए। त्यस्तै निशान बेलबासे, साकृत सिग्देल, सेविका लिम्बु र प्रतीक्षा दाहालले सिग्देलका जर्मन भाषामा अनुवाद गरिएका कविता वाचन गरेका थिए।

कवि सिग्देलले शुभेच्छुक प्रियजनप्रति आभार व्यक्त गर्दै आफ्नो काव्यिक यात्राबारे बोलेका थिए। भारतको उत्तराखण्डको मसुरीमा पढाउँदा सन् २००८/९ ताका अंग्रेजीमा अनुवाद भएका कवितामध्ये छानिएका २५ कविताकाे अंग्रेजी अनुवादक स्टर्मी हजारिका र त्यसको जर्मन अनुवादक स्भेन्यालाई कविले विशेष धन्यवाद दिएका थिए। उनले पेल स्याडोज एट डस्क लाई आत्ममन्थन र बाहिरी संसारको अवलोकनको यात्रा भएको बताए।

लोकार्पण कार्यक्रममा कविहरू - चन्द्रबहादुर लामा र रमी प्रियाले पनि ‘पेल स्याडोज एट डस्क’ बारे आआफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

कवयित्री रमी प्रियाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको समापन धीरकुमार श्रेष्ठले धन्यवाद ज्ञापनका साथ गरेका थिए। उनले यस्ता जमघटले काव्य संस्कृतिलाई अझ सशक्त बनाउन योगदान गर्ने भन्दै साहित्यिक भेला निरन्तर आवश्यक रहेकोमा जोड दिए। 

प्रकाशित: २ भाद्र २०८२ ०७:३३ सोमबार