हिमाल र हिउँरानी
म हिउँसँगै जन्मिएँ
म हिउँसँगै हुर्किएँ
म हिउँसँगै पग्लिएँ
म हिउँरानी बनेर तिम्रो मनभरि सजिएँ
विहानीको न्यानो रश्मिको रापले
अनि तिम्रो अङ्गालोको तापले
म बिस्तारै पग्लिएर निकै तल हिमतालमा छु
तिम्रो उचाइ र मेरो बसाइ
पहाडको टाकुरा र बेसीको फाँड जस्तै बनेको छ
तिमीसँगको मधुमास त मौसमी मात्रै रहेछ
म फेरि पग्लिएर झर्नुपर्ने
तिमी हिमाल भएर उभिनुपर्ने
मौसम प्रतिकूल हुँदा खुब चिन्ता लाग्दो होला मेरो
कतै धर्ती फाटेर तराईका फाँटहरूमा पुग्छौ कि भनेर
म त्यही नियतिको गर्भभित्र डरहरूको घरमा छु
पहाडको फेदी हुँदै झर्दा कन्दराका सुनगाभा
गुँरासका अनगिन्ती सुवास तिमीलाई पठाइदिन्छु
तिमी हिमाल हौ रुने तिमीसँग आँसु छैन
म त हिउँरानी तिमीहरूकै काखबाट पग्लिएर झरेकी हुँ
मलाई रुन पनि सुहाउँछ
किनकि पग्लिएकी मनमा आँसु पनि पग्लिएको हुन्छ।
प्रकाशित: १० श्रावण २०८३ १०:२४ आइतबार