कला/साहित्य

हिमाल र हिउँरानी

कविता

हिमाल र हिउँरानी  

म हिउँसँगै जन्मिएँ

म हिउँसँगै  हुर्किएँ

म हिउँसँगै पग्लिएँ

म हिउँरानी बनेर तिम्रो मनभरि सजिएँ

विहानीको न्यानो रश्मिको रापले

अनि तिम्रो अङ्गालोको तापले

म बिस्तारै पग्लिएर निकै तल हिमतालमा छु

तिम्रो उचाइ र मेरो बसाइ

पहाडको टाकुरा र बेसीको फाँड जस्तै बनेको छ

तिमीसँगको मधुमास त मौसमी मात्रै रहेछ

म फेरि पग्लिएर झर्नुपर्ने

तिमी हिमाल भएर उभिनुपर्ने

मौसम प्रतिकूल हुँदा खुब चिन्ता लाग्दो होला मेरो

कतै धर्ती फाटेर तराईका फाँटहरूमा पुग्छौ कि भनेर

म त्यही नियतिको गर्भभित्र डरहरूको घरमा छु

पहाडको फेदी हुँदै झर्दा कन्दराका सुनगाभा

गुँरासका अनगिन्ती सुवास तिमीलाई पठाइदिन्छु

तिमी हिमाल हौ रुने तिमीसँग आँसु छैन

म त हिउँरानी तिमीहरूकै काखबाट पग्लिएर झरेकी हुँ

मलाई रुन पनि सुहाउँछ

किनकि पग्लिएकी मनमा आँसु पनि पग्लिएको हुन्छ।

प्रकाशित: १० श्रावण २०८३ १०:२४ आइतबार