कला/साहित्य

आस्था आमाको

कथा

कुनै घरको सबैभन्दा ठुलो पीडा कहिलेकाहीं बाहिर सुनिँदैन। न त्यहाँ झगडाको आवाज हुन्छ, न चिच्याहट, न कुनै ठुलो घटना। घर उस्तै हुन्छ, कोठाहरू उस्तै हुन्छन्। भान्सामा बिहानको चिया पाकिरहेकै हुन्छ, बुबा उस्तै कुर्सीमा बसेर पत्रिका पल्टाइरहेका हुन्छन्, आमा घरका काममा व्यस्त हुन्छिन्। बाहिरबाट हेर्दा सबै कुरा सामान्य देखिन्छ तर त्यही घरको एउटा कोठाभित्र एउटा छोरो बिस्तारै आफैंबाट टाढिँदै गएको हुन्छ र घरका मानिसहरू उसको अनुहार हेरेर हरेक दिन एउटा नयाँ डर बोकेर सुतिरहेका हुन्छन्। ‘अब के होला?’ यो त्यही डरको कथा हो।

ऊ कुनै खराब परिवारमा जन्मिएको छोरो थिएन। उसको घरमा अभाव थिएन। आमाबुबाले दुःख गरेर कमाएको पैसा छोराछोरीको शिक्षामा खर्च गरेका थिए। राम्रो विद्यालय, राम्रो कलेज, राम्रो वातावरण। उसलाई जीवनमा अघि बढ्न चाहिने धेरै कुरा परिवारले दिएको थियो। उसले पनि परिवारको विश्वासलाई कहिल्यै निराश पार्न चाहेको थिएन। पढाइमा राम्रो थियो। अनुशासित थियो। भविष्यबारे सपना देख्थ्यो। ऊसँग पनि अरू युवाजस्तै आफ्नै आकांक्षा थिए। आफ्नो खुट्टामा उभिने, राम्रो काम गर्ने, परिवारलाई खुसी बनाउने र आफ्नो छुट्टै पहिचान बनाउने।

उसका साथीहरू पनि असाधारण थिए। एउटै कक्षामा पढेका ती साथीहरू समयसँगै आआफ्नो क्षेत्रमा फैलिँदै गए। कोही चिकित्सक बने, कोही इन्जिनियर, कोही वैज्ञानिक, कोही सफल व्यवसायी। कसैले विदेशमा आफ्नो करिअर बनाए, कसैले स्वदेशमै राम्रो व्यवसाय सुरु गरे। सामाजिक सञ्जालमा उनीहरूका उपलब्धिका तस्बिरहरू देखिन्थे - कसैको नयाँ कार्यालय, कसैको अस्पताल, कसैको अनुसन्धान, कसैको व्यवसाय विस्तार, कसैको पुरस्कार।

आमाबुबा ती तस्बिरहरू हेर्थे र आफ्नो छोरालाई सम्झन्थे। ‘हाम्रो छोरो पनि राम्रो गरिरहेको छ’ उनीहरूलाई विश्वास थियो। उसले पनि शिक्षा पूरा गर्‍यो। जागिर सुरु गर्‍यो। पहिलो तलब ल्याउँदा आमाको अनुहारमा देखिएको खुसी अझै उसको आँखामा थियो। बुबाले सायद धेरै कुरा भनेनन् तर छोराले बुझ्थ्यो - उनी गर्व गरिरहेका छन्।

त्यो समयसम्म कसैले कल्पना पनि गरेको थिएन कि केही वर्षपछि त्यही घरमा तलबको कुरा होइन, छोरालाई कसरी बचाउने भन्ने कुरा हुनेछ।

समस्या बाहिरबाट आएको थिएन। समस्या उसको मनभित्र धेरै पहिलेबाट एउटा मौन प्रश्न बनेर बसेको थियो। ऊ समलैंगिक थियो।

यसलाई बुझ्न हामीले सबैभन्दा पहिले एउटा कुरा स्पष्ट रूपमा स्वीकार गर्नुपर्छ - समलैंगिक हुनु कुनै रोग होइन, कमजोरी होइन, चरित्रको दोष होइन। यो उसको यौनिक पहिचानको एउटा स्वाभाविक पक्ष थियो तर उसको पीडा उसको पहिचानमा थिएन। पीडा थियो, त्यसलाई परिवार र समाजसँग कसरी बाँड्ने भन्ने डरमा।

उसले आफ्नो परिवारलाई माया गर्थ्याे। त्यसैले नै ऊ डराउँथ्यो– ‘मैले भनेँ भने आमालाई कस्तो लाग्ला? बुबाले स्वीकार गर्नुहोला? आफन्तहरूले के भन्लान्? समाजले के भन्ला? मलाई हेर्ने उनीहरूको दृष्टि बदलियो भने?’

यी प्रश्न उसको मनमा दिनदिनै घुमिरहन्थे। केही प्रश्न यस्ता हुन्छन्, जसको उत्तर खोज्दै जाँदा मानिस अरूको संसारभन्दा पहिले आफ्नै संसारभित्र हराउन थाल्छ। उसका लागि पनि ती प्रश्न बिस्तारै त्यस्तै अँध्यारा गल्ली बन्दै गएका थिए, जहाँबाट बाहिर निस्कने बाटो उसले देख्न सकेको थिएन।

एक दिन परिवारले विवाहको कुरा गर्न थाल्यो। आमाबुबाका लागि त्यो अस्वाभाविक कुरा थिएन। छोराले पढाइ सकेको थियो, जागिर गरिरहेको थियो। अब उसको घर बसोस्, जीवनसाथी होस्, परिवार बनाओस् भन्ने उनीहरूको इच्छा थियो। उनीहरू छोरालाई दुःख दिन चाहँदैनथे। उनीहरू आफ्नै पुस्ताको सामाजिक सोच, आफ्नै अनुभव र आफ्नै सपनाबाट छोराको भविष्य हेर्दै थिए।

छोराको भविष्य उनीहरूले देखेकोभन्दा फरक थियो। विवाहको कुरा उठ्दा ऊ मुस्कुराउन खोज्थ्यो र भन्थ्यो, ‘अहिले होइन, अलि पछि, अहिले करिअरमा ध्यान दिनुपर्छ, पछि सोचौंला।’

हरेक पटक उसले एउटा नयाँ बहाना बनाउँथ्यो। बहाना बनाउँदै जाँदा उसको मनभित्रको बोझ झन् भारी हुँदै गयो। उसले परिवारलाई सत्य भन्न सकेन। उसले झुट बोलेर विवाह गर्न पनि चाहेन।

ऊ दुई बाटाको बिचमा उभिएको थियो। एकातिर परिवारको सपना थियो, अर्कातिर उसको आफ्नै सत्य। यी दुईबिच ऊ आफैं बिस्तारै हराउँदै गयो।

सायद परिवारले उसलाई जिद्दी ठानेको थियो। सायद कसैले उसलाई विवाह गर्न डराएको, जिम्मेवारीबाट भागेको वा करिअरमै केन्द्रित भएको ठाने। उनीहरूलाई थाहा थिएन– छोरो प्रत्येक पटक विवाहको कुरा सुन्दा भित्रबाट कति टुटिरहेको थियो।

कहिलेकाहीं आमाले छोराको विवाहको कुरा गर्दै कुनै केटीको तस्बिर देखाउँथिन्, ‘यो परिवार राम्रो छ।’ छोरो चुप हुन्थ्यो। ‘हेर न, मन पर्‍यो भने कुरा अगाडि बढाउँला।’ ऊ फेरि मुस्कुराउँथ्यो।

त्यो मुस्कानभित्र कति पीडा थियो, आमाले पढ्न सकिनन् किनकि आमाले छोराको अनुहार देखेकी थिइन्, उसको मन होइन।

मानिसको अनुहार पढ्न सजिलो हुन्छ तर उसको मौनता पढ्न कठिन। अझ आफ्नै मानिसको मौनताभित्र लुकेको पीडा बुझ्न नसक्नु कहिलेकाहीं प्रेमको कमी होइन, प्रेमले पनि नदेखेको एउटा अँध्यारो पक्ष हुन सक्छ।

यही मौनता बिस्तारै एक्लोपनमा बदलियो। ऊ साथीहरूबाट पनि टाढिन थाल्यो। पुराना साथीहरू आफ्नो जीवनमा अघि बढिरहेका थिए। उनीहरूका कुरा करिअर, परिवार, सफलता र भविष्यका योजनामा केन्द्रित थिए। ऊ भने आफ्नै जीवनको एउटा सत्य कसैसँग भन्न नसकेर भित्रभित्रै थाकिरहेको थियो।

त्यसैबिच उसको संगतमा केही नयाँ मानिसहरू आए। त्यहाँ लागुऔषध प्रयोग गर्नेहरू पनि थिए। पहिलोपटक उसले त्यसलाई गम्भीर रूपमा लिएको थिएन। सायद उसलाई लाग्यो– केही समयका लागि सबै कुरा बिर्सन पाए हुन्थ्यो। मानिस जब आफ्नै मनसँग धेरै लामो समयसम्म लड्छ, कहिलेकाहीं उसले राहत र समाधानबिचको फरक छुट्याउन सक्दैन। लागुऔषधले समस्या समाधान गरेन तर केही घण्टाका लागि समस्या नदेखिने भ्रम दियो। त्यही भ्रम उसको जीवनको सबैभन्दा महँगो भुल बन्यो।

पहिलोपटक प्रयोग, फेरि अर्कोपटक प्रयोग, त्यसपछि बिस्तारै नियमित। उसले सुरुमा परिवारलाई थाहा नहोस् भनेर लुकायो। मोबाइल लुकाउन थाल्यो। बाहिर जाने समय बढ्यो। घर फर्किने समय घट्यो। आँखामा पहिलेको चमक कम हुँदै गयो। बोल्ने शैली बदलियो। कहिले असाध्यै चुप, कहिले अनावश्यक रिस। एउटा मानिसको भित्री संसार बदलिँदा बाहिरको व्यवहारले त्यसको सानो संकेत मात्र दिन्छ। तर कहिलेकाहीं ती साना संकेतहरूलाई पढ्न परिवारलाई धेरै ढिलो भइसकेको हुन्छ।

आमाले सबैभन्दा पहिले छोराको आँखामा परिवर्तन देखिन्। आमाको आँखा पनि संसारका सबैभन्दा संवेदनशील आँखामध्ये हुन्। छोराले केही नभने पनि आमाले केही त बदलिएको महसुस गरिन्।

‘के भयो बाबु?’

‘केही भएको छैन।’

‘किन यति थाकेकोजस्तो देखिन्छस्?’

‘कामको तनाव हो।’

‘खाना खाइस् ?’

‘भोक छैन।’

हरेक प्रश्नको छोटो उत्तर। हरेक उत्तरपछि आमाको मनमा अर्को प्रश्न। प्रश्नहरू थपिँदै गए, उत्तरहरू घट्दै गए। कहिलेकाहीं घरमा मौनता यति बाक्लो हुन्छ, बोलिएका शब्दभन्दा नबोलिएका शब्दले धेरै ठुलो आवाज निकालिरहेका हुन्छन्।

एक दिन आमाले उसको कोठा सफा गर्दै गर्दा केही शंकास्पद कुरा भेटिन्। उनको हात काँप्यो। त्यो क्षण उनले आफ्नो छोरालाई पहिलोपटक नयाँ आँखाले हेरिन्।

‘मेरो छोरा...?’

उनले त्यो वाक्य पूरा गर्न सकिनन्।

आमाबुबाले सत्य थाहा पाएपछि घरमा ठुलो विस्फोट भएन। बरु एउटा असह्य मौनता छायो। बुबा लामो समयसम्म बोल्न सकेनन्। आमा रातभर रोइन्। छोरा अर्को कोठामा थियो। सायद उसले पनि आमाको रोएको आवाज सुनेको थियो। बाहिर आएन किनकि ऊ आफैंसँग पनि लज्जित, थकित र पराजित महसुस गरिरहेको थियो।

कहिलेकाहीं मानिस आफ्नो गल्तीबाट मात्र होइन, आफ्नै अस्तित्वप्रतिको अपराधबोधबाट पनि थिचिन्छ। उसलाई लाग्न सक्छ, आफूले आफूलाई मात्र होइन, आफूलाई माया गर्ने सबैलाई धोका दिएको छु। त्यही अपराधबोधले मानिसलाई अरूको नजिक जानबाट झन् टाढा लैजान सक्छ। उसको अवस्था पनि त्यस्तै थियो।

परिवारले सम्झायो कहिले माया गरेर, कहिले रिसाएर, कहिले डर देखाएर, कहिले आँसु झारेर। उसले पनि छोड्ने वाचा गर्‍यो।

परिवारले विश्वास गर्‍यो। केही दिन घरमा आशा फर्कियो। आमाले फेरि उसको मनपर्ने खाना पकाइन्। बुबाले फेरि छोरासँग भविष्यका कुरा गर्न थाले तर केही समयपछि ऊ फेरि त्यही बाटोमा फर्कियो।

त्यसपछि परिवारको आशा पनि डरमा बदलियो।

लागुऔषधको लतलाई केवल ‘इच्छाशक्ति नभएको’ भनेर बुझ्नु सजिलो छ तर वास्तविकता त्यति सरल हुँदैन। निर्भरता बनेपछि मानिसले छोड्न चाहेर पनि कठिन संघर्ष गर्नुपर्छ। त्यसैले उपचार, परामर्श, पारिवारिक सहयोग र निरन्तर पुनःस्थापना आवश्यक हुन सक्छ।

परिवारले यो कुरा बुझ्न ढिलो गर्‍यो। सायद समाजले पनि बुझेन।

छिमेकीले कुरा गर्न थाले। आफन्तले प्रश्न गर्न थाले। ‘यति राम्रो परिवारको छोरो भएर पनि यस्तो? साथीहरू खराब परेछन्। आमाबुबाले ध्यान दिएनन् होला।’ कसैले उसको मनभित्र पुगेर हेरेनन्।

कसैले सोधेन, ‘तिमी वास्तवमा कस्तो महसुस गरिरहेका छौ? तिमीलाई के कुराले डर उत्पन्न गराइरहेको छ? तिमी कसैसँग कुरा गर्न चाहन्छौ?’

कहिलेकाहीं समाजले मानिसको घाउ हेरेर उसको दोष खोज्छ तर घाउ कहाँबाट आयो भनेर सोध्दैन। हामी परिणाममाथि निर्णय सुनाउन हतारिन्छौं तर त्यस परिणामसम्म आइपुग्दा मानिसले पार गरेको अदृश्य बाटो हेर्न बिर्सन्छौं। उसको जीवनमा पनि त्यही भयो।

उसको सबैभन्दा ठुलो समस्या केवल लागुऔषध थिएन। उसको जीवनमा धेरै कुरा एकैचोटि गाँसिएका थिए। पहिचानबारे मौनता, विवाहको सामाजिक दबाब, अस्वीकार हुने डर, एक्लोपन, भावनात्मक तनाव, गलत संगत र अन्ततः लागुऔषधतर्फको उसको आफ्नै निर्णय। यी सबै पक्षले उसको जीवनलाई जटिल बनाएका थिए।

यहाँ एउटा कुरा फेरि स्पष्ट हुनुपर्छ - उसको समलैंगिक पहिचानलाई लागुऔषधको कारण भन्न मिल्दैन। समलैंगिकता समस्या होइन। आफ्नो पहिचानका कारण असुरक्षित, अस्वीकारित वा एक्लो महसुस गर्नुपर्ने अवस्था समस्या हो। त्यसैले परिवारले छोरालाई उसको पहिचानका कारण दोष दिनुहुँदैन। बरु उसले आफ्नो जीवनबारे इमानदारीपूर्वक कुरा गर्न सक्ने सुरक्षित वातावरण बनाउनुपर्छ।

विवाह पनि यसको समाधान होइन। कसैको यौनिक पहिचान परिवर्तन गराउन विवाह गराउनु अन्याय हो। आफ्नो सत्य लुकाएर विवाह गर्दा अर्को व्यक्तिको जीवन पनि अन्यायमा पर्न सक्छ।

आमाबुबाले छोराको विवाह भएको देखेर खुसी हुन सक्छन् तर विवाहभन्दा ठुलो कुरा छोराले सत्य र सम्मानसहित जीवन बाँच्न सक्नु हो। जीवनको अर्थ केवल समाजले बनाइदिएको एउटा निश्चित ढाँचामा आफूलाई फिट गर्नु होइन। जीवन त आफ्नो सत्यसँग इमानदार भएर बाँच्न सक्नुको नाम पनि हो।

कुनै दिन छोराले आमासँग बसेर आँसु झार्दै आफ्नो पहिचान सुनायो भने आमाले पहिलोपटक आफ्नो सपना होइन, छोराको डर सुन्न सक्नुपर्छ। सायद त्यो क्षण अत्यन्त कठिन हुनेछ तर स्वीकार गर्न नसक्ने डरभन्दा सत्य सुन्ने साहस ठुलो हुन्छ।

उसको परिवारले पनि बिस्तारै यही कुरा बुझ्न थाल्यो। उनीहरूका लागि सबैभन्दा ठुलो पीडा छोराको पहिचान थिएन, पीडा थियो।

लागुऔषधले उनीहरूको छोराको जीवनलाई नियन्त्रण गरिरहेको थियो। उनीहरू उसको लतसँग लड्न चाहन्थे। उसको अस्तित्वसँग होइन।

आमाले अझै पनि उसको कोठाको ढोका खुला राख्छिन्। कहिलेकाहीं राति ढोकातिर हेर्छिन्, घडी हेर्छिन्, मोबाइल हेर्छिन्, फोन गर्छिन्।

‘कहाँ छस् बाबु ?’

फोनको अर्को छेउबाट कहिले आवाज आउँछ, कहिले आउँदैन।

फोन नउठ्दा आमाको मनमा हजारौं डर जन्मिन्छन्। एउटा फोन नउठ्नु सामान्य घटना हुन सक्छ तर सन्तानको प्रतीक्षामा बसेकी आमाका लागि त्यही मौन फोनभित्र अनगिन्ती सम्भावित दुःखहरू जन्मिन सक्छन्।

बुबा बाहिरबाट कठोर देखिन्छन् तर छोरो घर ढिला आउँदा उनी पनि निदाउन सक्दैनन्। बिहान उठेर छोरो आफ्नो कोठामा छ कि छैन भनेर हेर्छन्। कहिलेकाहीं ऊ सुतिरहेको हुन्छ। त्यो दृश्य देख्दा बुबाले लामो सास फेर्छन्।

अर्को दिन फेरि उस्तै डर!

परिवारको पीडा यही हो– उनीहरू छोरालाई एकैपटक गुमाउन चाहँदैनन् तर हरेक दिन उसलाई अलिअलि गुमाइरहेका हुन्छन्।

मानिसलाई गुमाउनु सधैं मृत्यु हुनु होइन। कहिलेकाहीं ऊ आफ्नै घरमा हुन्छ, आफ्नै कोठामा हुन्छ, आफ्नै आमाबुबाको आँखाअगाडि हुन्छ तर उसको मन त्यहाँ हुँदैन। शरीर उपस्थित हुन्छ तर उसको पुरानो हाँसो, पुरानो विश्वास र पुरानो आत्मीयता बिस्तारै टाढिँदै जान्छ। परिवारले भोगिरहेको पीडा त्यही अदृश्य गुमाइको पीडा थियो।

उसका पुराना साथीहरू विभिन्न क्षेत्रमा छन्। कसैले विदेशबाट तस्बिर पठाउँछन्, कसैले नयाँ अस्पताल खोलेको खबर आउँछ, कसैले आफ्नो अनुसन्धानको उपलब्धि सार्वजनिक गर्छन्, कसैले व्यवसाय विस्तार गर्छन्।

तर ऊ ? ऊ अहिले आफ्नै जीवन फिर्ता पाउन संघर्ष गरिरहेको छ। यो तुलनाले उसको जीवनको मूल्य घटाउन मिल्दैन।

सबै मानिसको जीवनको गति एउटै हुँदैन। कसैको यात्रा सफलताको मञ्चमा पुगेर देखिन्छ, कसैको यात्रा बन्द कोठाभित्र आफूलाई फेरि खोज्ने संघर्षमा हुन्छ। ऊ अहिले दोस्रो यात्रामा छ।

उसलाई दोष होइन, उपचार चाहिएको छ, उसलाई अपमान होइन, जिम्मेवार साथ चाहिएको छ। उसलाई उसको पहिचान लुकाउन बाध्य बनाउने होइन, सुरक्षित रूपमा बोल्न सक्ने वातावरण चाहिएको छ। उसलाई ‘बिहे गर, सबै ठिक हुन्छ’ भन्ने सजिलो उत्तर होइन, ‘तिमी वास्तवमा के चाहन्छौ?’ भन्ने कठिन प्रश्न चाहिएको छ।

र परिवारलाई पनि एउटा कुरा बुझ्न आवश्यक छ– माया गर्नु भनेको हरेक गल्तीलाई स्वीकार गर्नु मात्र होइन, कहिलेकाहीं माया भनेको सीमा निर्धारण गर्नु, उपचारका लागि बाध्य पार्ने अवस्था सिर्जना गर्नु, विशेषज्ञको सहयोग लिनु र आवश्यक पर्दा कडा निर्णय लिनु पनि हो तर कडाइमा पनि अपमान हुनु हुँदैन, अनुशासनमा पनि घृणा हुनु हुँदैन, उपचारमा पनि मानवता हराउनु हुँदैन।

समाजले पनि आफ्नो भूमिका बुझ्नुपर्छ। कुनै युवकको जीवनमा यस्तो समस्या देखियो भने उसको कथा फैलाउने होइन, उसको हात समात्ने मानिस बन्नुपर्छ। परिवारको पीडालाई मनोरञ्जन नबनाऔं। यौनिक पहिचानलाई गालीको विषय नबनाऔं। लागुऔषधको समस्यालाई केवल चरित्रको कमजोरी भनेर नहेरौं।

हामीले युवालाई केवल सफल हुन सिकाएका छौं तर असफल हुँदा कसरी उठ्ने भनेर कति सिकाएका छौं? हामीले उनीहरूलाई राम्रो जागिर खोज्न सिकाएका छौं तर मनभित्रको पीडा कसरी व्यक्त गर्ने भनेर कति सिकाएका छौं? हामीले उनीहरूलाई विवाह गर्नुपर्छ भनेका छौं तर विवाहअघि उनीहरूको इच्छा, पहिचान र भावनाबारे कतिपटक सोधेका छौं?

सायद यिनै प्रश्नहरूबाट परिवर्तन सुरु हुन्छ किनकि कुनै पनि परिवारले आफ्नो छोरालाई लागुऔषधको अँध्यारोमा हराएको हेर्न चाहँदैन। कुनै आमाले आफ्नो सन्तानको फोन नउठ्दा रातभर आँसु झार्न चाहँदिनन्। कुनै बुबाले आफ्नै छोराको भविष्य सम्झेर डराउँदै बस्न चाहँदैनन् र कुनै युवाले आफ्नो जीवनको एउटा सत्य बोकेर संसारबाट भाग्न चाहँदैन।

हामीले त्यस्तो समाज बनाउनुपर्छ, जहाँ सन्तानले आफ्ना आमाबुबासँग डराएर होइन, विश्वास गरेर कुरा गर्न सकून्, जहाँ यौनिक पहिचानलाई रोग वा लाजको विषय नबनाइयोस्, जहाँ विवाहलाई सामाजिक दबाब होइन, दुई व्यक्तिको स्वतन्त्र निर्णयका रूपमा हेरियोस्, जहाँ लागुऔषधको समस्यामा परेकालाई अपराधी मात्र होइन, उपचार र पुनःस्थापनाको आवश्यकता भएको मानिसका रूपमा पनि हेरियोस् र जहाँ परिवारलाई संकट पर्दा समाजले ढुंगा होइन, हात देओस्।

आज पनि आमाको प्रतीक्षा सकिएको छैन। छोरा कहिले सुध्रिन्छ भनेर उनी अझै दिन गन्छिन्। कहिलेकाहीं उसको पुरानो फोटो हेर्छिन्। स्कुलको पोसाकमा मुस्कुराइरहेको छोरो, कलेजको प्रमाणपत्र बोकेको छोरो, पहिलो जागिरको दिन उत्साहित भएको छोरो।

आमालाई लाग्छ - ‘त्यो छोरो कहाँ हरायो?’ तर सायद ऊ हराएको छैन। ऊ कतै त्यहीं छ, लतको तहभित्र, डरको तहभित्र, अपराधबोधको तहभित्र र आफूलाई फेरि खोज्ने एउटा सानो आशाभित्र।

त्यसैले उसको कथा अन्त्य भएको छैन। उसले गलत निर्णय गरेको छ। उसको जीवनले ठुलो क्षति बेहोरेको छ। परिवारले ठुलो पीडा भोगेको छ तर एउटा गलत निर्णयले मानिसको सम्पूर्ण भविष्य लेखिँदैन। उपचार सम्भव छ, पुनःस्थापना सम्भव छ, परिवारसँग पुनःसम्बन्ध सम्भव छ, जीवन फेरि सुरु गर्न पनि सम्भव छ।

हामीले केवल एउटा कुरा गर्नुपर्छ - उसलाई फर्किने बाटो बन्द नगरौं किनकि ऊ बिग्रिएको छोरो थिएन। ऊ एउटा यस्तो युवक थियो, जसले जीवनको कठिन मोडमा केही गलत निर्णय गर्‍यो, आफ्नो मनका केही कुरा एक्लै बोकेर हिँड्यो र अन्ततः लागुऔषधको जालमा फस्यो।

उसको पहिचान दोष होइन। उसको लत समस्या हो। उसको समस्या उपचारयोग्य छ। उसको भविष्य अझै बाँकी छ र उसको परिवारको आँसु केवल दुःखको प्रतीक होइन, त्यो अझै बाँकी रहेको आशाको प्रमाण पनि हो।

सायद कुनै बिहान उसको कोठाको ढोका खुल्नेछ। ऊ बाहिर आउनेछ। आमाले उसको अनुहार हेर्नेछिन्। यसपटक आमाको आँखामा केवल डर हुनेछैन। सायद आँसु हुनेछ तर ती आँसुमा आशा पनि हुनेछ। बुबाले केही भन्न सक्ने छैनन्। केवल छोराको काँधमा हात राख्नेछन् र परिवारले उसलाई एउटा कुरा भन्नेछ– ‘हामी तिम्रो लतसँग लड्छौं, तिमीसँग होइन।’

त्यो वाक्य एउटा परिवारको मात्र होइन, हाम्रो समाजको पनि संकल्प बन्नुपर्छ।

मानिसलाई उसको सबैभन्दा कमजोर क्षणले मात्र नचिनौं। उसको विगतलाई स्वीकार गरौं तर भविष्यको ढोका बन्द नगरौं। पहिचानलाई सम्मान गरौं, गलत निर्णयलाई सच्याउने अवसर दिऔं। लतलाई उपचारको विषय बनाऔं, परिवारलाई संवादको ठाउँ बनाऔं र युवालाई यस्तो समाज दिऔं जहाँ उनीहरू आफ्नो सत्य लुकाएर बाँच्न बाध्य नहून्।

कहिलेकाहीं एउटा जीवनलाई बचाउन ठुलो भाषण चाहिँदैन, एउटा खुला ढोका चाहिन्छ, एउटा सुन्ने कान चाहिन्छ, एउटा नफर्काउने हात चाहिन्छ र कसैले यति मात्र भन्नुपर्छ, ‘तिमी अझै हाम्रो मान्छे हौ, फर्केर आऊ।’

सायद त्यही एउटा वाक्यले कुनै आमाको वर्षौंदेखि रोकिएको आँसु थाम्न सक्छ, त्यही एउटा हातले कुनै छोरालाई अँध्यारोबाट उज्यालोतर्फ फर्काउन सक्छ र त्यहींबाट एउटा बिग्रिएको भनिएको जीवनले फेरि आफ्नो कथा लेख्न सुरु गर्न सक्छ।

– ज्ञवाली सामाजिक तथा आर्थिक लेखक हुन्।

प्रकाशित: २४ आश्विन २०८३ ०७:५८ शनिबार