"बिहानीको सुनौलो घाममा पनि तिम्रो अनुहारमा औँसीको रात देख्छु नि साथी।"
मेरो कुराको बेवास्ता गर्दै ऊ टोलाएर बसिरह्यो। मेरो मनमा चिसो पस्यो नै।
"हैन, के भयो तिमीलाई? आँखाभरि आँसु देख्छु त।"
उसले जवाफै नदिई टपटप आँसु बर्साइरह्यो।
"हैन, किन मुखमा बुजो लगाएर बसिराखेको भन्या? मनको व्यथा मनमै राखे पाक्छ, आफैँलाई दुख्छ भन्ने कुरा थाहा छैन कि क्या हो? यो डेरामा तिमी र म मात्र त हौं नि। तिमीले कहिल्यै व्यक्तिगत जीवनबारे भनिनौ, मैले पनि कोट्याइन। समस्या के हो मलाई नभने कसलाई भन्छौ, तिमी?"
सानो स्वरमा उसले भन्यो, "अँ आज आमाको मुख हेर्ने दिन, उहाँको माया र सम्झनाले ...।"
"बल्ल बुझें, जाऊ न त एकै दिनको कुरा त हो नि। आज बिहानै जाऊ, भोलि बिहानै फर्क। काममा जान भ्याइहाल्छ क्यारे। खर्च नभए म दिउँला।
मेरा त आमाबाबा पनि हुनु हुन्न। म जाने कुरै भएन। जाऊ, जानुपर्छ। आमालाई गहनाले छपक्क छोप्नुपर्छ र?चौरासी व्यञ्जनै खुवाउनुपर्छ र? मात्र आमाको मुख हेर।आशीर्वाद थाप। आज एकदिन बस अनि फर्क।"
घोसे मुन्टो लाएर कुनै जवाफै नदिंदा मेरो रिसको पारो झन् चढ्यो।
अलि कड्किएर भनें, "होइन, तिमी कस्तो मान्छे हौ ?आमाको सम्झना आयो भन्छौ, आजको दिनमा नगए कहिले जान्छौ? आमाको काख अरूको लाख हुन्छ भनिन्छ। आमाबाबुको आशीर्वादभन्दा ठुलो संसारमा अरू कसको हुन्छ भन त ? जाऊ आशीर्वाद थाप्न मात्रै भए पनि अहिल्यै नै जाऊ ,जानैपर्छ तिमी, जाऊ।"
मेरो कुरा सुनेर ऊ जुरूक्क उठेर रूँदै ठुलो स्वरमा भन्यो, "मेरी आमा नै हुनुहुन्न त म किन जाने? किन? किन?"
प्रकाशित: ४ वैशाख २०८३ ०७:०६ शुक्रबार