“आमा! तपाई किन बिहानबेलुका सधैं भान्सामा मात्र अड्किरहनुहुन्छ?” छोराले मोबाइलमा आँखा गाड्दै औँला सार्दै थियो।
आमाले मुस्कुराउँदै भन्नुभयो, “तिमी, दादा र बाबालाई तातो रोटी, खाना चाहिन्छ नि बाबु, त्यसैले।”
“तर तपाईंलाई चाहिँ के चाहिन्छ आमा?” छोराले मलिन स्वरमा सोध्यो।
आमा केहीबेर चुप लाग्नुभयो। मान्छे अनुसारका परिकारले उहाँको अनुहारमा उज्यालो अँध्यारोको खेल खेलिरहेको थियो।
आमाले सुस्तरी भन्नुभयो, “मलाई! मलाई त तिमीहरू हाँसेको देख्न मन पर्छ।”
छोराले हाँस्दै भन्यो, “त्यो त सजिलो कुरा भयो नि आमा आफ्नो लागि पनि केही सोच्नु न !”
आमाको आँखामा वर्षौंदेखि बन्द ढोकाबाट अचानक उज्यालो छिरेको जस्तो अचम्मको चमक आयो।
उहाँले भन्नुभयो, “कस्तो सोच्नु? मेरा लागि त यही नै जिन्दगीको सबैभन्दा ठुलो खुसी हो।”
“मलाई त कहिलेकाहीँ मान्छे हाँसेको देख्दा पनि रिस उठ्छ। त्यस्तो होइन क्या आमा ठुलो सोच राख्नु न ” छोराले भन्यो।
“तँ जन्मिँदा झण्डै मैले सास फेर्ने बिर्सिएको। तँ रोएको सुन्दा मैले संसार पाएको महसुस गरेँ। आज तँ मलाई ‘ठुलो सोच’ सिकाउँदै छस्…?”
भान्सामा सन्नाटा छायो। आमाको मनको पीडाले झैँ चुल्हाको धुवाँले कोठा भरिँदै थियो।
छोराले पहिलोपटक आमालाई ध्यान दिएर हेर्यो। घाँसदाउरा बोक्दा बोक्दा झुकेको ढाड, चाउरी परेको अनुहार तर आँखामा भने चन्द्रमाझैँ उज्यालो।
“आमा, तपाई किन कहिल्यै थाक्नु हुन्न ?” उसले बिस्तारै सोध्यो।
आमाले हाँस्दै भन्नुभयो, “आमा कहिल्यै थाक्दिनँ बाबु, किनकि आमासँग आफ्नै थकानभन्दा सन्तानको खुसी ठुलो देख्ने मन हुन्छ।”
छोरा निःशब्द भयो। मोबाइलको स्क्रिन आफैँ निभ्यो तर उसभित्रको अँध्यारो बल्ल उज्यालो हुँदै थियो।
उसले अचानक भन्यो, “ ओहो! आमा हजुर कहिल्यै सानो सोच्नु हुन्न रहेछ किनकि हजुरले सधैँ आफूलाई सानो बनाएर हामी सन्तानलाई ठुलो बनाउने र हँसाउने ठुलो सोच राख्नु हुँदो रहेछ। बल्ल आज मैले थाहा पाएँ।
प्रकाशित: ५ वैशाख २०८३ ११:१८ शनिबार



