अस्ट्रेलियन मोडल तथा स्विमवेयर डिजाइनर सहारा रेको ३४ वर्षको उमेरमा निधन भएको छ। परिवारले अस्पतालमा आफन्तहरूको उपस्थितिमा उनको मृत्यु भएको पुष्टि गरेको हो। तर, निधनको कारण भने सार्वजनिक गरिएको छैन।
सन् २०१६ मा गायक जस्टिन बीबरसँगको सम्बन्धका कारण चर्चामा आएकी सहाराका इन्स्टाग्राममा करिब नौ लाख फलोअर्स थिए। उनी मोडलिङसँगै आफ्नै स्विमवेयर ब्रान्ड पनि सञ्चालन गर्थिन्। उनी चर्चित सर्फर टोनी रेकी छोरीसमेत थिइन्।
सहाराले गुइलेन-बारे सिन्ड्रोम नामक स्वास्थ्य समस्यासँग संघर्ष गरेकी थिइन्। एक दुर्घटनापछि उनको हिँडडुल गर्ने क्षमतामा असर परेको थियो र उनले ह्विलचेयर तथा वाकरको सहारा लिनुपरेको थियो। यस स्वास्थ्य समस्याले उनको दैनिक जीवनमा समेत कठिनाइ थपेको बताइएको छ।
सन् २०२१ मा उनले लागुऔषध तथा मदिराको प्रयोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि उपचार खोजेको पनि बताइएको थियो। उनको निधनपछि साथीभाइ तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सहाराको अन्तिम सामाजिक सञ्जाल पोस्टमा उनकी छोरी स्नो रेका तस्बिरहरू थिए। उनको निधनले परिवार, साथीभाइ तथा उनलाई पछ्याउने प्रशंसकहरू शोकमा परेका छन्।
प्रकाशित: ३ कार्तिक २०८३ ०९:५७ मंगलबार