चर्चित गायिका बबिता मानन्धरको स्वर रहेको नयाँ गीत ‘कलियुगकी राधा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच उक्त गीतको भिडियो विमोचन गरिएको हो।
सार्वजनिक भिडियोमा चर्चित मोडेल तथा कोरियोग्राफर आश्मा विश्वकर्मा र अभिषेक श्रेष्ठको अभिनय तथा दमदार नृत्य देख्न सकिन्छ। गीतको विमोचन वरिष्ठ गायिकाहरू देविका बन्दना, सुक्मित गुरुङ, कुन्ती मोक्तान र मनिला सोताङले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा बोल्दै संगीतकार शंकर थापा ‘स्माइल’ ले यस गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको अनुभव सुनाए।
नेपाली चलचित्र तथा सुगम संगीतमा सयौं हिट गीत गाइसकेकी गायिका मानन्धरले यस गीतलाई उत्कृष्ट बनाउन ठूलो मिहिनेत गरेको बताइन्। उनले भनिन्, ‘गीतलाई न्याय गर्नका लागि तीन पटकसम्म रेकर्डिङ गरेका थियौं, अन्त्यमा उत्कृष्ट भर्सन छनोट गरेर स्रोता-दर्शक माझ ल्याएका हौं।’
सुरेश मानन्धरले निर्माण गरेको उक्त भिडियो गायिका बबिता मानन्धरकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
प्रकाशित: २३ माघ २०८२ १५:१९ शुक्रबार



