कला/साहित्य

मोड

लघुकथा

‘गन्तव्यविहीन यात्रामा हिंडेर के पाउँछेस्?’ सुनिताले रीनालाई हप्काउने शैलीमा भनी।

उनीहरू सहरमा एउटै कार्यालयमा काम गरेको र एउटै डेरामा बसेको धेरै भयो। कलेज सँगै पढे। पहिला त उनीहरूको राम्रो सम्बन्ध थियो तर हिजोआज प्राय: ङ्यारङुर भइरहन्थ्यो। सिर्जनालाई भुलेर रीना कताकता बहकिएको सुनितालाई फिटिक्कै मन परेको थिएन। असह्य भएपछि आज उसले मुख खोली।

साथीको कुरा सुनेर सुनिता झनक्क रिसाउँदै भनी, ‘मेरो जीवन, मेरो मर्जी! तेरो टाउको किन दुखेको?’

सुनिताले पुराना कुरा सम्झाउँदै भनी, ‘ठूलो मान्छे बनेर नाम कमाउँछु भनेर अवसर खोज्दै गाउँ छाड्ने तैं होइनस्? तेरा आदर्श कता गए?’

सन्किंदै उसले भनी, ‘ती पुराना कुरा भाँडमे जाए। राकेश धनी छ। हिरो छ। उमेर छउन्जेल मस्ती गर्ने हो। ऊसँग बिहे गरेपछि मेरा सबै सपना पूरा हुनेछन्।’ 

‘अरूको धन र गुणले तँ कहिले सुखी हुन्नस्। लेख्न नछाड, त्यो तेरो निजी सम्पत्ति हो। त्यसले नै तँलाई अमर बनाउनेछ।’ भनेर सपनाले सम्झाउनुसम्म सम्झाई।

कुरा मान्नु त परै जाओस्, उसले सुन्नै चाहिन। मोबाइल हेरेर बसिरहेकी थिई।अचानक रीना चिच्याई, ‘रा...... के .... श ....!’

सुनिताले उसलाई सम्भाल्दै मोबाइल हेरी। जेन-जी आन्दोलनमा गएको राकेशलाई गोली लागेर ढलेको प्रष्टै देखिन्थ्यो।

प्रकाशित: ८ कार्तिक २०८२ १३:०८ शनिबार