कला/साहित्य

गणतन्त्र दिवसमा ‘मितज्यू’ आउँदै

फिल्म ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्।

वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत छन्।

फिल्ममा कलाकारहरूले गर्ने भूमिका सहज होस् भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केही दिन अझै चल्ने छ।

फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरूलाई वर्कसप मार्फत आफ्नो भूमिकाबारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए। उनका अनुसार यो फिल्म आउँदाे माघको पहिलो साताबाट छायांकनमा निस्किने छ।

उनले भने,‘ सुटिङमा कलाकारले आफ्नो भूमिका बुझेपछि सहज हुन्छ। उनीहरूले फिल्मको कथा र आफ्नो क्यारेक्टर बुझेपछि अभिनय गर्न पनि सहज हुनुका साथै छायाङ्कन समय र खर्चसमेत कम हुन्छ। स्पोर्टमा नै पुगेर एक्सनकट गर्दा सोचेअनुसार फिल्म कलाकारले नदिन सक्छ। त्यसका लागि पनि हामीले वर्कसप थालेका हौं।’

जिएम मुभिजको अफिसमा यो वर्कसप चलिरहेको निर्माण पक्षले जानकारी दिएको छ।

यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्कबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ।

फिरोज खड्काले मुख्य सहायक निर्देशकको रूपमा काम गर्दै छन् भने अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई सहायक निर्देशकमा रूपमा रहने छन्।

यस फिल्मको प्रोडक्सन डिजाइनरको काम किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादन लोकश बज्रचार्यले गर्दैछन् भने फिल्मको गीतमा संगीत श्रीकृष्ण बम मल्ल, प्रकाश सपुतको रहने छ।

फिल्मको छायांकन शिशिर शिशङखेले गर्दैछन् भने द्वन्द्व निर्देशन प्रभाद विष्टको हुनेछ। साउण्डको काम भने नविन श्रेष्ठले समाल्ने छन्। फिल्मको वितरकमा आरआर फिल्मस् रहेको छ।

रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। निर्माण पक्षका अनुसार फिल्म आउँदाे जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउनेछ।

प्रकाशित: ६ पुस २०८२ १२:३० आइतबार