कला/साहित्य

आपसी द्वन्द्वमा दयाहाङ र सौगात

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन्। यी दुई अभिनेता आफैँमा सिनेमामा मात्रै होइन, सिनेमा बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन्।

त्यसैले यी दुई अभिनेता नेपाली सिनेमाका सदाबहार अभिनेता हुन्। सौगात र दयाहाङ सर्वाधिक धेरै सिनेमा खेल्ने कलाकारमध्ये हुन्। दर्शकको मायाकै कारण यी कलाकार मेकरको रोजाइमा पर्छन्। जसका कारण धेरै सिनेमामा मुख्य भूमिकामा देखिरहन्छन्।

यी दुई कलाकार फेरि एकपटक सँगै देखिँदैछन्। चलचित्र ‘मितज्यू’मा सौगात र दयाहाङले सँगै काम गरेका छन्। प्राय: सिनेमामा हिरो र हिरोइले सँगै काम गरे भने अनस्क्रिन जोडी भनिन्छ तर सौगात र दयाहाङको जोडीलाई पनि चलचित्रमा सफल जोडी मान्न सकिन्छ। किनकि यी दुईले सँगै काम गरेका केही चलचित्र बक्सअफिसमा पनि सफल छन्।

‘लुट’बाट सुरु भएको यो जोडीले हालसम्म थुप्रै सिनेमामा सँगै काम गरेका छन्। त्यसमध्ये ‘कबड्डी’ पनि सफल जोडी हो। ‘लुट’ र ‘कबड्डी’ जस्तै अब ‘मितज्यू’ सफल हुनेमा यसको निर्माण टिम ढुक्क छ।

चलचित्र ‘मितज्यू’मा सौगात र दयाहाङबीच नोकझोक देखिएको छ। ‘मितज्यू’को पोस्टर र टिजरमा यी दुई कलाकार आमनेसामने हुन्छन्।

सँगै पनि रहने तर मिल्न पनि नसक्ने चरित्रमा उनीहरू यो सिनेमा देखिएका छन्। यी दुई कलाकारबीच ‘लुट’ र ‘कबड्डी’मा पनि द्वन्द्व देखिएको थियो। दर्शकले सौगात र दयाहाङलाई आपसी नोकझोकमा रुचाएको इतिहास छ। ‘मितज्यू’मा पनि उनीहरू आपसी द्वन्द्वमा फसेको जस्तो टिजरमा देखिएको छ। उनीहरुको यो भूमिकालाई दर्शकले रुचाउनेमा निर्माण टिम ढुक्क देखिएको छ।

“हाम्रो सिनेमामा जसरी द्वन्द्व सिर्जना गरिएको छ, यसमा दयाहाङ र सौगातको जुन खालको चरित्र छ, यसमा दर्शकले पक्कै पनि इन्टरटेन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” निर्माता जनक घर्ती मगर भन्छन्, “सौगात र दयाहाङले सँगै काम गरेका सिनेमा मध्ये यो दर्शकले सम्झना गर्नलायक चलचित्र बन्नेछ।”

अनिल बुढा मगरको निर्देशन रहेको ‘मितज्यू’लाई जनक घर्ती मगरले निर्माण गरेका छन्। यो चलचित्रमा सौगात र दयाहाङसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। तेरियाको यो डेब्यु सिनेमा हो।

लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

प्रकाशित: २४ वैशाख २०८३ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App