कला/साहित्य

महाकाव्यकार मन्जिला अनिलको 'बुवाहजुर' लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलकाे 'बुवाहजुर' महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित आधिकारिक महाकाव्यको लोकार्पण गरेकाे छ।

भागवत वाचक अजितप्रसाद गौतमकाे प्रमुख आतिथ्य र अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र केसीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे।

मन्चासिन र अन्य आमन्त्रित अतिथिहरूले सामूहिक कृतिको लोकार्पण गरिएको सो कार्यक्रमका प्रमुख अतिथि गौतम, अध्यक्ष केसी, विशिष्ट अतिथिहरू साहित्यकार एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिविवि नेपाली विभागका पूर्व प्रमुख प्राडा खगेन्द्रप्रसाद लुइटेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार प्रतीक ढकाल, प्राडा बिओटी सल्लाहकार तीर्थ अधिकारी, पूर्व सूचना आयुक्त कमला ओली लगायतले मन्तव्य राखेका थिए।

त्यस्तै उक्त कार्यक्रममा अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, केन्द्रीय समितिका निवर्तमान सदस्य तारा उप्रेती समेतको उपस्थिति थियो।

यसअघि प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेको सो कार्यक्रममा अतुल स्मृति गुरुकुलका बालबालिकाबाट मङ्गलाचरण प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कविद्वय कल्पना काफ्ले र भवानी खतिवडाले लाेकार्पित कृतिका केही श्लोक वाचेका थिए।

कार्यक्रममा लोकार्पित कृतिको समीक्षा साहित्यकार डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ट ज्ञवालीले गरेका थिए। कृतिका सर्जक मन्जिला अनिलले लेखकीय मन्तव्य राखेका थिइन्।

मन्तव्यमा महाकाव्यकार अनिलले महाकवि देवकोटा सम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रम चिर्न 'बुवाहजुर' लेखेको बताइन्।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरको तर्फबाट कृतिकार मन्जिला अनिललाई सम्मानपत्रसहित सम्मानित अर्पिएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै १ मिनेट मौनधारण गरिएको थियो।

महासचिव रन्जना निरौलाले स्वागत र उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको सहजीकरण डा. घनश्याम खतिवडाले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतम, कृति समीक्षकद्वय डा. देवी नेपाल र ज्ञाननिष्ठ ज्ञवाली, अतुल स्मृति गुरुकुल र कार्यक्रम सहजकर्ता डा. घनश्याम खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित: ३१ श्रावण २०८३ १२:४४ आइतबार