स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीकाे अध्यक्षता र महाकाव्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यमा कृति लोकार्पण भएको हो।
प्रमुख अतिथि महाकाव्यकार दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, विशिष्ट कलाकार लय संग्रौला, विश्व कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, स्रष्टा होमनाथ खनाल लगायतले ‘हराएको साथी’ लोकार्पण गरेका हुन्।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण मिलाप मासिकका सम्पादक कृष्ण भुसालले गरेका थिए।
मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेकी थिइन्।
भाेटेकाेशी बाढीकाे कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति मौनधारण गरी श्रद्धाञ्जलि अर्पिँदै कार्यक्रम शुरू भएकाे थियाे।
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै स्रष्टा सन्तोष श्रेष्ठले ‘हराएको साथी’ लाई रहस्यमय तथा प्रेरणादायी कृतिका रूपमा व्याख्या गरे। उनले कृतिले पाठकलाई कथाको प्रवाहसँगै जीवनका विभिन्न पाटो र अनुभूतिसँग जोड्ने प्रयास गरेको पनि बताए।
कृतिकार होमनाथ खनालले आफ्नो जीवनयात्राका क्रममा देखेका, भोगेका र अनुभूति गरेका विविध विषय कथाकाे रूपमा प्रस्तुत गरेको बताए। जीवनमा भेटिएका पात्र, सम्बन्ध, घटना र अनुभवहरूले नै सिर्जनाको आधार तयार पारेको उल्लेख गर्दै उनले आफ्ना अनुभूतिलाई साहित्यिक रूप दिएर पाठकमाझ ल्याएको बताए।
प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहालले ‘हराएको साथी’ कुनै एउटा पात्र हराएको कथा मात्र नभएको बताए। उनले कृतिले पाठकलाई आफ्नै जीवनमा हराएका सम्बन्ध, स्मृति, सपना र सम्भावनाहरूको खोजीमा निस्कने यात्रातर्फ डोर्याउने बताए।
कार्यक्रमका सभाध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ‘हराएको साथी’ को प्रकाशनले स्रष्टा होमनाथ खनालको सिर्जनात्मक यात्रालाई थप उचाइ दिने विश्वास व्यक्त गरे। उनले खनालको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिँदै आगामी दिनमा थप कृतिको अपेक्षा रहेको बताए।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष गोपीकृष्ण न्यौपाने, गंगालाल अस्पतालका पूर्वप्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बू, गायिका तथा कलाकार शीला खनाल, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा लगायतले कृतिकार खनाललाई शुभकामना दिएका थिए।
वक्ताहरूले साहित्य सिर्जनामा व्यक्तिगत भोगाइ, अनुभूति र सामाजिक परिवेशको महत्त्व रहने उल्लेख गर्दै ‘हराएको साथी’ले पाठकलाई आफ्ना स्मृति र सम्बन्धतर्फ फर्केर हेर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।
‘हराएको साथी’ स्रष्टा होमनाथ खनालको तेस्रो साहित्यिक कृति हो। यसअघि उनका ‘यात्रा जिन्दगीको’ र ‘शब्दसंगम’ प्रकाशित छन्।
मिलाप पब्लिकेशनले प्रकाशन गरेको ‘हराएको साथी’ का सम्पादक अमृतविरल हुन् भने डिजाइन तथा छपाइको जिम्मेवारी मोवाइल किताव प्रालिले लिएको छ। कृतिको मूल्य ३९९ रुपैयाँ छ।
कार्यक्रममा वरिष्ठ साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ गायिका तथा कलाकार कविता आले, अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, अकिसिडेन्टल पब्लिक स्कुलका संस्थापक दीपक विष्ट, साहित्यकार डीआर राई, शिवराम रायमाझी, सिर्जना खनाल, प्रकाश महत, नवीन्द्रराज ढुंगेल, तारा अधिकारी लगायत साहित्य, कला, संगीत तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।
मिलाप मासिक र साहित्यिक पत्रकार संघको आयोजनामा भएकाे कार्यक्रममा स्रष्टा खनाललाई बधाईपत्रसहित सम्मान समेत अर्पिएको थियो। काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएकाे हाे।
प्रकाशित: २२ भाद्र २०८३ १३:०५ सोमबार