बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्छन्। परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताएका छन्।
वर्षौदेखि उहाँहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने। बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उनीहरू सारङ्गी बजाएर लोकगीत गाउँछन्। उनीहरूको स्वर र धुनले यात्रीलाई भावुक बनाउँछ, कतिपयलाई आफ्नो गाउँघर, परिवार र विगतका सम्झनामा डुबाउँछ।
यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो। “कहिलेकाहीँ धेरै राम्रो कमाइ हुन्छ, यहीँबाटै हाम्रो घर चलेको छ”, लोकबहादुरले भने। उनका अनुसार दैनिक कमाइ स्थिर नभए पनि नियमित मेहनतले घरखर्च टार्न गाह्रो छैन।
उनीहरूका चार जना छोराछोरी छन्। उनीहरूले यही पेसाबाट कमाएको आम्दानीले छोराछोरीलाई हुर्काएका छन्। “आफ्नै मेहनतले परिवार पाल्न सकेका छौँ, यही नै ठूलो कुरा हो”, डल्ली गन्धर्व भन्छिन्। उनीहरू गीत गाउँदै देशका विभिन्न ठाउँ पुगेका छन्। पूर्वदेखि पश्चिमसम्मका सडकमा यात्रा गर्दै, नयाँ ठाउँ हेर्दै र मानिससँग भेटघाट गर्दै उनीहरूको जीवन बितेको छ।
आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गीजस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ। नयाँ पुस्ता वैकल्पिक पेसातर्फ आकर्षित हुँदा यस्ता मौलिक कला लोप हुने खतरा बढ्दो रहेको लोकबहादुर बताउँछन्। “यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो। जबसम्म सक्छौँ, हामी यही गर्दै जानेछौँ”, उनले भने। गन्धर्व दम्पतीको कथा केवल जीविकोपार्जनको कथा मात्र होइन, यो सङ्घर्ष, आत्मसम्मान र सांस्कृतिक संरक्षणको कथा पनि हो।
प्रकाशित: १५ चैत्र २०८२ ०८:२१ आइतबार