वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठककाे प्रमुख आतिथ्यमा भूगोल साहित्य समाजको छैटौं साधारणसभा भएको छ।
कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा दुई सत्रमा भएको थियो। पहिलो सत्रका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक रहेका थिए।
पहिलो सत्रको कार्यक्रममा विसं २०८२ सालको वरिष्ठ साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल) लाई झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार २५०२५।– रूपैयाँ नगद राशि तथा सम्मानपत्र सहित प्रदान गरिएको हो।
२०७९ सालमा स्थापित प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार पहिलोपटक देवीचन्द्र श्रेष्ठलाई, २०८० मा रामबहादुर पहाडीलाई र गत वर्ष हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो। सो पुरस्कार समाजका आजीवन सदस्य ओम आचार्यले स्थापना गरेका हुन्।
पुरस्कृत स्रष्टा लम्साल राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारी हुन्। विभिन्न साहित्यिक संघसंस्थासँग सम्बद्ध उनले साहित्यका क्षेत्रमा देखाएको सक्रियताका साथै भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजले उनलाई पुरस्कृत गरेको हो। लम्सालका विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन्। उनले क्षेत्रीय र राष्ट्रिय स्तरका थुप्रै सम्मान र पुरस्कार पाएका छन्।
पुरस्कृत व्यक्तित्व लम्सालले पुरस्कार र सम्मानको लागि नभई आफूले एक सचेत नागरिकको रूपमा लेखन मार्फत आफूलाई सधैं सक्रिय राख्दै आएको बताए। उनले जागिर जीविकाका लागि खानुपरेको र निवृत्त भएपश्चात साहित्यसिर्जना नै आफ्नो कर्म बनेको धारणा व्यक्त गरे।
लम्सालले भूगोल साहित्य समाज जस्ता संस्था र तिनले दिने सम्मानले साहित्य सिर्जनामा ऊर्जा प्रदान गर्ने बताउँदै समाजको उत्तरोत्तर प्रगतिको कामना गरे। लम्साल भूगोल साहित्य समाजका आजीवन सदस्य हुन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिरण्यकुमारी पाठकले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गरे भने आउँदाे दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।
उपाध्यक्ष दिनेशविक्रम थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा पुरस्कृत व्यक्तित्व लम्सालको व्यक्तित्व र योगदानबारे समाजका अध्यक्ष एवम् सभाका सभापति विनोद नेपालले प्रकाश पारेका थिए।
पुरस्कार स्थापना तथा पुरस्कृत व्यक्तित्व चयन प्रक्रियाबारे पुरस्कारका संस्थापक ओम आचार्यले प्रकाश पारेका थिए।
संस्थाका सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गरेका थिए। दोस्रो सत्रमा सम्पन्न साधारण सभाले समाजको आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको छ।
स्मरणीय छ, भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैँकबाट निवृत्त स्रष्टाहरूद्वारा स्थापित साहित्यिक संस्थाहो र यसको स्थापना र दर्ता २०७६ सालमा भएको हो।
प्रकाशित: ३ मंसिर २०८२ १०:४१ बुधबार