विजय देवरकोन्डा र रश्मिका मन्दानाले हालै परिवार र नजिकका आफन्तहरूको उपस्थितिमा विवाह सम्पन्न गरेका छन्। अब यो जोडीले बुधबार मार्च ४ मा हैदरााबादमा भव्य रिसेप्सन आयोजना गर्ने भएका छन्।
उक्त वेडिङ रिसेप्सन निमन्त्रणामा मात्र आधारित कार्यक्रम हुने आधिकारिक घोषणा गरिएको छ। यस समारोहमा तेलुगु, हिन्दी, तमिल, मलयालम र कन्नड फिल्म उद्योगका सदस्यहरूका साथै राजनीतिक र प्रशासनिक क्षेत्रका विशेष व्यक्तित्वहरू सहभागी हुनेछन्।
पाहुनाहरूको उपस्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रशासनसँग समन्वय गरी अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको छ। पाहुनाको सूची सीमित गरिएको छ र मान्य आधिकारिक निमन्त्रणा कार्ड भएका व्यक्तिलाई मात्र कार्यक्रम स्थलमा प्रवेश दिइने बताइएको छ।
विजय र रश्मिकाले फ्यान तथा समर्थकहरूबाट प्राप्त अपार माया र समर्थनप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले सबैको सुरक्षा र खुसीलाई प्राथमिकता दिएको बताउँदै कार्यक्रमलाई सुरक्षित र स्मरणीय बनाउन सहयोग गर्न अनुरोध गरेका छन्।
यो जोडीले फेब्रुअरी २६ मा उदयपुरमा निजी समारोहबीच विवाह गरेका थिए। भारतीय मिडियाको अनुसार विवाह आईटीसी ममेंटोस रिसोर्टमा सम्पन्न भएको थियो।
विवाह दुई फरक परम्पराअनुसार गरिएको थियो । समारोह बिहान तेलुगु संस्कारअनुसार र बेलुका रश्मिकाको कोडवा परम्पराअनुसार गरिएको थियो। विवाहमा रश्मिकाले रातो साडी र सुनका गहनाहरू लगाएकी थिइन् भने विजयले आइभरी धोती र रातो अंगवस्त्रम लगाएका थिए।
प्रकाशित: १९ फाल्गुन २०८२ ११:४३ मंगलबार