कला/साहित्य

जीवन हिमालझैं मुस्कुराउँछन्!

कविता

१) जीवन

जीवन हिमालझैं

मुस्कुराउँछन्

भीर किन नहोस् 

गुराँस झुलाउँछन्

जीवन न हो

जताततै फुल्छन्

कलकल न हो

जताततै बग्छन्

जहाँ सिउरिएका

सपनाहरू

स्निग्ध निर्झरभैं झर्छन्।

झुल्छन् घाम मनभरि

न्यानो बिस्कुन छर्दै

मनका गरागरा भर्छन्

यही त हो जीवन

चुम्ने ओठहरू

तृप्त सोपानका

अनेकौं रस

किनकि जीवन

प्रकृति हुन।

सुन्दर अलौकिकका

अर्थ हुन्।

२) जीवन

सन्निकट हैन

जीवन सम्भावनाका

क्षितिज लाग्छ।

भावना हैन

जीवन सपनाका

प्रचुर लाग्छ।

जहाँ फूलसँग

काँडा पनि चुलेको हुन्छ।

गोधूलिसँगैपछि

रात पनि डुलेको हुन्छ।

त्यसैले त जीवन

संघर्षका पर्यावाची

बनिरहेको हुन्छ।

घाम र पसीनाले

आकाश खोजिरहेको हुन्छ।

आखिर यहि त हो जीवन

ढुङ्गामा रेटिँदै चम्केको

खुकुरीको मजा त बेग्लै हुन्छ

हरेक दुखपछिको सुखको

मजा  एक अलग्गै हुन्छ।

प्रकाशित: १७ कार्तिक २०८२ १०:०५ सोमबार