अभिनेत्री स्वस्तिमा खड्काले पीडितले मौनता तोडेर हिम्मत जुटाउन गर्ने मानसिक संघर्षलाई बुझ्नुपर्ने बताएकी छन्।
उनले भनेकी छिन्, ‘हामी कति सजिलै प्रश्न गर्छौँ, ‘एक वर्षसम्म किन नबोलेको? यतिका समय किन चुप बसेको?’ तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठुलो मानसिक संघर्ष गर्नुपर्यो होला।’
हिंसाविरुद्ध आवाज उठाउनु कमजोरी नभई साहस भएको उल्लेख गर्दै उनले अन्यायविरुद्ध बोल्नेहरूलाई प्रश्नले थिच्नुको साटो आड र भरोसा दिने बानी बसाल्न आग्रह गरेकी छन्। ‘हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ। भोलि यस्तै विपत्ति हाम्रै परिवारभित्र आइपर्दा हामीलाई कस्तो महसुस होला?’, उनले प्रश्न गरेकी छन्।
स्वस्तिमाले पीडितलाई थप पीडा दिनुको सट्टा न्यायका लागि दह्रो साथ दिनुपर्नेमा जोड दिएकी छन्। उनले न्यायको कुरा कानुनले हेर्ने भए पनि मानवता भने समाजले देखाउनुपर्ने तर्क गरिन्।
चर्चित कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेपछि स्वस्तिमाले यस्तो टिप्पणी गरेकी हुन्।
लम्सालमाथि अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएको थिइन्। सोही आरोपका आधारमा उनलाई शनिबार बिहान काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।
हेर्नुस् अभिनेत्री खड्काको फेसबुक स्टाटस
हामी कति सजिलै प्रश्न गर्छौँ, “एक वर्षसम्म किन नबोलेको ? यतिका समय किन चुप बसेको?” तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठुलो मानसिक संघर्ष गर्नुपर्यो होला।
हिंसा विरुद्ध आवाज उठाउनु कमजोरी होइन, बरु डर र सामाजिक त्रासलाई जितेर निकालिएको साहसको गर्जन हो। त्यसैले, आज जसले आफूमाथि भएको अन्याय विरुद्ध बोलिरहेका छन्, उनीहरूलाई प्रश्नले थिच्नुको साटो आड र भरोसा दिने बानी बसालौँ। हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ। भोलि यस्तै विपत्ति हाम्रै परिवारभित्र आइपर्दा हामीलाई कस्तो महसुस होला?
यो कुरा मनन गरौँ पीडितलाई थप पीडा दिने होइन, न्यायको लागि दह्रो साथ दिने प्रण गरौँ।
र रह्यो कुरा न्यायको त्यो त कानुनले हेर्छ, तर मानवता हामीले देखाउनुपर्छ।
प्रकाशित: २१ चैत्र २०८२ १२:२१ शनिबार