कला/साहित्य

हातमा हात मिलाऔँ, नेपाललाई फेरि एक पटक उठाऔँ : प्रियंका कार्की

कलाकार प्रियंका कार्कीले विपद्‍मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई अपिल गरेकी छन्।

उनले अहिले आफ्नो ठाउँमा बसेर सक्दो सहयोग गर्ने समय भएको बताउँदै नेपाललाई सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेकी हुन्।

कार्कीले १० रुपैयाँदेखि लाखौँ रुपैयाँसम्मको सहयोगले पनि कसै न कसैको जीवनमा राहत र अनुहारमा मुस्कान ल्याइरहेको बताइन्। 

'आफ्नो ठाउँमा बसेर जे जति गर्न सकिन्छ, गर्ने समय अहिले नै हो- किनभने नेपाललाई हाम्रो खाँचो छ। चाहे त्यो १० रुपैयाँको सहयोग होस् वा लाखौँको, तपाईंको हरेक साथ, सहयोग र योगदानले कसै न कसैको जीवनमा राहत र अनुहारमा मुस्कान ल्याइरहेको छ,' आइतबार सामाजिक सञ्जालमा उनले भनिन्।

कार्कीले आफूहरू पनि आपत्–विपतमा परेका परिवारसम्म आफ्नै हातले राहत पुर्‍याउन दिनरात प्रयासरत रहेको जानकारी दिएकी छन्। राहत अभियानमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद तथा आभार व्यक्त गरेकी छन्।

'हामी पनि दिनरात प्रयासरत छौँ, आपत्-विपत्मा परेका परिवारहरूसम्म आफ्नै हातले राहत पुर्‍याउन। यस अभियानमा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हृदयदेखि नमन र धन्यवाद। आउनुहोस्, यो प्रयास जारी राखौँ। हातमा हात मिलाऔँ, नेपाललाई फेरि एकपटक उठाऔँ,' उनले सहयोग अभियानलाई निरन्तरता दिन आग्रह गर्दै भनिन्।

प्रकाशित: २१ भाद्र २०८३ ०९:४५ आइतबार