कला/साहित्य

म तुफान चाहन्छु

कविता

बेताेडले तुफान आओस्

मेरो बेहोसी उडाएर लगोस्

एउटा बाढी आओस्

मेरा टुक्रिएका सबैलाई

लडाएर लगोस्

जोडेका मन, जीवन र सहाराहरू

सबैसबै टुक्रिएका छन्

अविश्वासिला लाग्ने

यी मन, प्रेम र वचन

सबै गलाएर लगोस्

म छुट्टै साम्राज्य खडा गर्नेछु

म छुट्टै मुटु तयार गर्नेछु

गलेका, मरेका र अधुरा कथाहरू

सबै जलाएर लगोस्

एउटा तुफान आओस्

मेरो बेहोसी उडाएर लगोस्

एउटा बाढी आओस्

मेरा टुक्रिएका सबै

लडाएर लगोस्

म जीवन हिमालझैं ठान्छु

म यो दिल सगरझैं मान्छु

तर,

चोट दिने काँडा, श्वास नै रोक्ने

बाधा सबै ढलाएर लगोस्

अब फेरि एकपटक

जीवन जिउन मन छ

खुब स्वादले

रंगभित्रकाे सीसा

हतकडी नै लगाएर लगोस्

मलाई शिखरमै

पाइला हिँडाउन मन छ खुब बेजोडले

गलाउने शिखरको उचाइँ

बगाएर लगोस्

मलाइ उन्मुक्त हाँसो हाँस्नु छ

स्वर्गीय जीवन बाँच्नु छ

रोक्ने, दुखाउने र सुकाउने

सबै डराएर लगोस्

एउटा तुफान आओस्

मेरो बेहोसी उडाएर लगोस्

एउटा बाढी आओस्

मेरा टुक्रिएका सबै लडाएर लगोस्।

प्रकाशित: ११ आश्विन २०८३ ११:३५ आइतबार