बिदा खेर नगएका दिनहरू अर्थात् फुर्सदका बेफुर्सदी दिनहरू ! यो आफैंमा एउटा परीक्षाजस्तो पनि, आफैंले सम्हाल्न नसक्नुका तनाव जस्तो पनि। बिदा भन्नु क्यालेन्डरको एउटा रातो अक्षर मात्र रहेछ– मनको कुनै उत्सव होइन। भित्तामा टाँसिएको पात्रोले बिदा घोषणा गर्छ, तर समयले गर्दैन। समय त निरन्तर बग्ने नदी हो– उसले कुनै दिनलाई विशेष छुट दिन्न, कुनै क्षणलाई विश्रामको विशेषाधिकार दिन्न। त्यसैले होला, मेरा बिदाका दिनहरू कहिल्यै खेर गएनन्, किनकि तिनले मलाई आराम होइन, अस्तित्वको कठोर अभ्यास दिए । ती सबै फुर्सदका बेफुर्सदी दिनहरू भए।
फुर्सदको प्रतीक्षा गर्दै बितेका दिनहरू स्वयं बेफुर्सदीका पराकाष्ठा बने। बिहानैदेखि साँझसम्म एउटा काम सके अर्को काम जन्मिन्छ । एउटा जिम्मेवारी टुंगियो भन्ने लाग्छ, अर्को जिम्मेवारीको बिउ त्यसैभित्र उम्रिसकेको हुन्छ। जीवन आफैं एक अनवरत कार्यशाला हो– जहाँ विश्राम क्षणिक छ, श्रम शाश्वत।
म कहिलेकाहीं सोच्छु– फुर्सद भनेको वास्तवमै के हो ? के त्यो कामको अभाव हो ? कि मनको अवकाश? यदि फुर्सद काम नभएको समय हो भने म कहिल्यै फुर्सदमा छैन। तर यदि फुर्सद मनले आफूलाई भेट्ने अवसर हो भने म त सधैं फुर्सदको खोजमा छु।
पढ्छु भनेर साँची राखेको किताब हातमा लिन्छु । पानाहरू खुल्छन्, अक्षरहरू आँखाअघि नाच्न थाल्छन्। तर त्यही बेला ढोकामा अर्को जिम्मेवारीको दस्ताबेज– कुनै फोन, कुनै सन्देश, कुनै आकस्मिक दायित्व । किताब फेरि टेबलमै थन्किन्छ, जस्तो अधुरो सपना। त्यसैगरी रङ र ब्रस तयार पारेर क्यानभासअगाडि उभिन्छु– आज एउटा चित्र जन्माउँछु भन्ने दृढ संकल्पका साथ। तर जीवनको अर्को रङ, कर्तव्यको गाढा छाया– त्यस सेतो क्यानभासमाथि फैलिन थाल्छ। अफसोस चित्र जन्मनुअघि नै अधुरो रहन्छ।
कहिलेकाहीं कोठाभरि छरपस्ट किताब, पत्रिकाहरू मिलाउँछु भनेर सोच्छु। लेखेका रचनाहरू परिमार्जन गर्छु भनेर योजना बनाउँछु । तर योजनाहरू आफैं समयको व्यस्ततामा अल्झिन्छन् । समय जति समात्न खोजे पनि उस्तै चिप्लो– हातबाट बालुवाजस्तो फुत्त झर्छ । ‘उम्केको माछा ठुलो’ भनेझैं हुन्छ।
यी सबैबिच एउटा गहिरो अनुभूति पलाउँछ– बिदा खेर गएका छैनन्। किनकि बिदाले मलाई मेरो असमर्थता देखाएको छ। उसले मलाई सम्झाएको छ– मानिस समयको स्वामी होइन, सहयात्री हो। हामी सोच्छौं, ‘आज आराम गर्छु’, ‘आज परिवारसँग रमाउँछु’ तर जीवन आफैंले हामीलाई कामको अर्को पाटोमा धकेल्छ। यसै धकेलाइमा, यसै दौडधुपमा, हाम्रो अस्तित्वको अर्थ लुकेको हुँदोरहेछ।
फुर्सदको खोजमा हिँड्दा मैले थाहा पाएँ– फुर्सद बाहिर होइन, भित्र खोज्नुपर्छ। एकछिन आँखा चिम्लेर श्वासको आवागमन सुन्न सक्नु, त्यो नै फुर्सद हो। अधुरा किताबलाई प्रेमले छुन सक्नु, त्यो नै फुर्सद हो। चित्र अधुरै रहोस्, तर रङको सौन्दर्य र सुगन्धले मन भिजोस्– त्यो नै फुर्सद हो।
काम कहिल्यै नसकिने रहेछ। जीवन स्वयं अधुरोपनको अर्को नाम रहेछ। सायद पूर्णता त मृत्युमा मात्र छ, जीवन त निरन्तर प्रयासको कथा हो । त्यसैले अब म बिदाको दिनलाई आरामको अपेक्षाले होइन, आत्मसंवादको अवसरको रूपमा हेर्न थालेको छु। कामको चाङबिच पनि यदि मैले एक क्षण आफ्नै मनलाई सुन्न सकेँ भने त्यो दिन खेर गएको छैन। बिदा खेर नगएका दिनहरू तिनै हुन्– जहाँ मैले आफूलाई थोरै भए पनि चिनेँ। फुर्सदका बेफुर्सदी दिनहरू ती नै हुन्– जहाँ गज्याङमज्याङ व्यस्तताभित्रै शान्तिको बिउ रोप्न सकेँ।
अन्ततः जीवन एउटा निरन्तर उकालो रहेछ– जहाँ विश्रामको चौतारी क्षणिक छ, तर यात्राको अर्थ गहिरो । बिदा, फुर्सद, व्यस्तता– यी सबै समयका रूपहरू मात्र हुन्। वास्तविक प्रश्न त यो हो– के मैले ती दिनमा आफूलाई कतै दोबाटोमा हराएँ कि आफैंलाई भेटेँ ? सायद यही खोज नै जीवनको सबैभन्दा ठुलो काम हो। यही काम कहिल्यै सकिँदैन।
बिदाको पहिलो दिन उत्साहमा बित्छ– ‘आज आराम, भोलिदेखि काम।’
दोस्रो दिन योजना बनाउँदै ‘अब यसरी गर्छु, त्यसरी गर्छु। आजचाहिँ मैले बाँकी रहेका सबै अधुरा कामहरू पूरा गरेर सक्छु।’
तेस्रो दिन केही सानातिना काममै अल्झिन्छ । हेर्दाहेर्दै सातौं दिन साँझतिर पुग्दा थाहा हुन्छ– बिदा त हातको पानीजस्तै फुत्त झरेर, पोखिएर सकिएछ। ‘बगेको खोला फर्किंदैन’ उक्ति चरितार्थ हुन्छ।
मलाई सधैं लाग्छ– बिदा आफैंमा उपलब्धि होइन, अवसर हो। अवसरलाई उपलब्धिमा बदल्ने जिम्मेवारीचाहिँ हाम्रो चेतनाको हो। तर चेतना सधैं अनुशासित कहाँ हुन्छ र ? कहिलेकाहीं बिदा छ भन्दै शरीर सुस्ताउँछ, मन अल्झिन्छ। एक्कासी अल्छीले अँगालो मार्न आउँछ। अनि कहिले हातमा मोबाइलले साइनो गाँस्न थाल्छ। कहिले टेलिभिजनले दृश्यमा भुल्याउन लाग्छ। अब त भएन, म यीबाट छुट्टिन्छु, केही न केही त गर्छु भन्यो कि त त्यही बेला फोन आइदिन्छ कि त कोही पाहुना टुप्लुक्क आइदिन्छ। एकछिन बोल्नै पर्यो। एकछिन समय दिनै पर् यो। यसो गर्दैगर्दा बिदाले ‘बिदा’ लिइसकेको हुन्छ। समयले ‘रात’ निम्त्याइसकेको हुन्छ।
यद्यपि कोही गफमा रमाउँछन्, कोही निद्रामा मस्त हुब्छन्, कोही भविष्यका रंगीन योजनाहरू बुन्दै वर्तमान गुमाउँछन्। म पनि अपवाद होइन। म आफूले लेखेका अधुरा पाण्डुलिपिहरू टेबलमा हेरेर भन्छु– ‘आज मिलाउँछु।’ फेरि अर्को नयाँ निबन्धको विषय मनमा खेलाएर सोच्छु– ‘अब सुरु गर्छु।’ तर सुरुको त्यो क्षण कतै हराउँछ। शुभारम्भ भइसक्दैन, समाप्त भइसकेको हुन्छ । त्यो सोचेको कुरा, त्यो बनाएको योजना, त्यो सिर्जनात्मक ऊर्जा अनायासै कतै दोबाटोमै अलपत्र परिरहेको हुन्छ।
त्यसपछि बिदाका दिनहरू सकिसक्छन् र म फेरि दैनिक दौडमा फर्किन्छु। तर यही अनुभूतिले एउटा गहिरो जीवनदर्शन सिकाएको हुन्छ– समय कहिल्यै रोकिँदैन, हाम्रो सजगताले उसलाई अर्थ दिन्छ।
लेखनको प्रसंगमा त झन् यो सत्य झनै स्पष्ट हुन्छ। फुर्सदले लेख्न सहयोग गर्छ। तर लेखनकर्म फुर्सद होइन, क्षणको ‘पकड’ हो। भावनाहरूले पूर्वसूचना दिँदैनन्। ती अचानक जन्मिन्छन्– कुनै स्मृतिको अटोग्राफबाट कुनै दृश्यको उज्यालोबाट, कुनै पीडाको चिसोपनबाट। मनमा एउटा वाक्य टल्किन्छ, एउटा उपमा झल्किन्छ । यदि त्यस क्षणलाई समात्न सकिएन भने त्यो बिजुली चम्किएझैं स्वाट्ट आउनुसँगै छिनमै गइसकेको हुन्छ।
अतः यस्तो बेला सोच्नासाथ लेख्न सक्नुपर्छ। अनुभूतिलाई ढिलाइ नगरी शब्द दिन सक्नुपर्छ। किनकि भावना नदीजस्तै हो– बगेपछि त्यही पानी फर्केर आउँदैन। हिजोको पीडा आज उस्तै हुँदैन, आजको उल्लास भोलि उस्तै रहँदैन। क्षण क्षणमा मनमा नयाँ भावहरू जन्मिन्छन्। कहिले नवीन विचारको कोपिला लाग्छ, कहिले पुराना सम्झनाहरूको बाडुली। बाल्यकालको कुनै धमिलो दृश्य अचानक उज्यालिन्छ, पुरानो मित्रताको कुनै मिठो मिठास मनमा हलचल मच्चाउँछ । ती सबै अनुभूतिहरू समयको गतिसँगै रूप बदल्दै जान्छन् । यदि तिनलाई त्यही क्षण टिप्न सकिएन भने तिनको मौलिक ताप हराउँछ । ‘मौकामा हिरा फोर्नु’ भन्नुको मतलब पनि सायद यही हो।
मलाई अब लाग्न थालेको छ– बिदाको सदुपयोग भनेको ठुला काम सम्पन्न गर्नु मात्र होइन। बरु, त्यो अमूल्य क्षणलाई चिन्नु नै सबैभन्दा ठुलो उपलब्धि हो।
कुनै बिहानको शान्तिमा अचानक मनमा उब्जिएको उपमा, कुनै साँझको सुनौलो प्रकाशमा जन्मिएको स्मृति, कुनै एकान्त रातमा उठेको अस्तित्वको प्रश्न ! अनेकौं विचारका ज्वारभाटाहरू अग्निज्वालाझैं दन्किँदै मलाई उत्साहित पारिरहन्छन्। तर म सानातिना काममा अल्झिरहेको हुन्छु । गमलाको बिरुवाले पानी खोजिरहेको हुन्छ। कौसीको भुइँले बडारकुँडारको प्रतीक्षा गरिरहेको हुन्छ । टेबलमा छरपस्ट किताबकलम र ल्यापटपहरू मलाई कहिले मिलाउला भनेर पर्खिरहेको देख्छु। भान्सामा भाँडाकुँडा असरल्ल छरिरहेको पाउँछु।
यी सबै देख्दा यी झिनामसिना कामबाट मैले फुत्किनै पाउदिनँ । म यिनकै स्याहार सम्भारमा अलमलिन थाल्छु। त्यतिन्जेल मैले बुनेको शब्द मैले चुनेका अक्षर, मैले बनाएको लेख्ने योजना, मैले गर्ने कामको टिपोट सबै छताछुल्ल भएर पोखिसकेको हुन्छ। चकनाचुर भएर सिसाझैं टुक्रिसकेको हुन्छ।
परन्तु यी सबैलाई तुरुन्तै शब्दमा बाँध्न सक्नु नै सर्जकको साधना रहेछ। त्यसपछि मात्र तिनलाई आफ्नो मौलिकताको लेपनले सुशोभित गर्न सकिने रहेछ। काँचो भावनालाई समयमै टिप्न सकियो भने त्यसलाई कलात्मक संरचनामा ढाल्न सजिलो हुन्छ। नत्र त्यो छिप्पिसकेको हुन्छ, जसलाई त्यसपछि केही गर्नै सकिँदैन । त्यो अधुरो स्पन्दन बनेर हराउँछ। छिनमै बिर्सेर सकिन्छ। बिर्सिएपछि के लेख्ने? कुन शब्द, के कुरा र कस्तो अनुभूति? ती सबै समाप्त भएर जाँदारहेछन्।
अब म बिदालाई नयाँ दृष्टिले हेर्न थालेको छु । बिदा लामो होस् वा छोटो, मुख्य कुरा बाहिरी अवकाश होइन, भित्री सजगता हो। यदि मन सतर्क छ भने भडिभाडको दिन पनि सिर्जनात्मक हुन सक्छ । यदि मन अल्छी छ भने सात दिनको बिदा पनि खाली हात फर्किन्छ।
अन्ततः जीवन स्वयं एक क्षणिक बिदाजस्तै रहेछ– अनन्तताको बिचमा प्राप्त छोटो अवकाश । यस अवकाशलाई हामी कसरी अर्थ दिन्छौं, त्यो नै हाम्रो उपलब्धि हो। त्यसैले अब मेरो प्रयास एउटै छ– भावना आयो भने तुरुन्तै टिपूँ, विचार जन्मियो भने तुरुन्तै शब्द दिऊँ, समय आयो भने त्यसलाई पर्खेर होइन, समातेर जिऊँ।
सायद यही सजगताले बिदालाई खेर जानबाट जोगाउँछ। यही चेतनाले फुर्सदका बेफुर्सदी दिनहरूलाई पनि जीवनको गहिरो साधनामा रूपान्तरण गर्छ।
प्रकाशित: १४ चैत्र २०८२ ०९:०२ शनिबार


