वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ तेस्रो सातामा प्रवेश गरेको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले जेठ ७ गते राति ११:५९ बजेसम्म पाँच करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीले पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिएका छन्।
निर्माता समेत रहेका खत्रीका अनुसार फिल्मले आमा–छोरीको कथामार्फत शिक्षाको महत्व प्रस्तुत गरेको छ, जसलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गरेका छन्। विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकलाई फिल्म हेर्न पठाउनेदेखि स्वदेशमै रहेका छोरीहरूले आमालाई लिएर हलसम्म पुग्ने क्रम बढेको उनले बताए। उनका अनुसार दर्शक सन्तुष्ट भएर फर्किनु नै फिल्मको सबैभन्दा ठूलो सफलता हो।
देशका विभिन्न सहरमा दर्शक भेटघाटमा सहभागी भएकी अभिनेत्री स्वस्तिमा खड्का ले पूर्वदेखि पश्चिमसम्म फिल्मले समान माया पाएको बताइन्। उनले दर्शकले फिल्मलाई जुन सोच र भावनासहित ग्रहण गरेका छन्, त्यसले निर्माण टिमलाई थप उत्साहित बनाएको उल्लेख गरिन्।
फिल्मको विषयवस्तु, निर्देशन र कलाकारहरूको जीवन्त अभिनयको दर्शकले खुलेर प्रशंसा गरेका छन्। फिल्म हेरेर निस्किने अधिकांश दर्शकले आमाको संघर्षसँग आफू जोडिएको अनुभूति व्यक्त गरेका छन्। सकारात्मक ‘वर्ड अफ माउथ’का कारण आगामी साताहरूमा पनि फिल्मको व्यापार थप सुदृढ हुने अपेक्षा गरिएको छ।
विद्यालयले विद्यार्थीलाई देखाउन थाले फिल्म
पछिल्लो समय ‘लालीबजार’ विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हलमै लगेर देखाउन थालेका छन्। काठमाडौँसँगै मोफसलका केही सिनेमा हलमा विद्यालयकै पहलमा विद्यार्थीलाई फिल्म प्रदर्शन गरिएको हो।
आमा र छोरीको कथामा आधारित फिल्मले शिक्षाको महत्व, सामाजिक शोषणविरुद्धको चेतना तथा कुप्रथाविरुद्ध आवाज उठाउन प्रेरित गर्ने सन्देश दिएको भन्दै विद्यालयहरूले फिल्म प्रदर्शनलाई प्राथमिकता दिएका हुन्।
बिहीबार मात्रै नेपालगञ्जस्थित सिने रोयल मा करिब ६ सय विद्यार्थीले फिल्म हेरेका थिए। त्यस अवसरमा कलाकार विशाल देवकोटा, प्रशंसा सुवेदी र समाइरा थापा दर्शक भेटघाटका लागि हल पुगेका थिए। स्थानीय प्रदर्शकका अनुसार शुक्रबार पनि विभिन्न विद्यालयका विद्यार्थीले फिल्म हेर्ने कार्यक्रम तय भएको छ।
‘लेडी हिरो’का रूपमा स्थापित हुँदै स्वस्तिमा
फिल्म ‘लालीबजार’ मा स्वस्तिमा खड्का केन्द्रिय भूमिकामा छिन्। उनले निर्वाह गरेको ‘मधुवाला’ पात्रको अभिनय अहिले व्यापक चर्चामा छ। गीतमा प्रस्तुत नृत्यदेखि अभिनयसम्म दर्शक र समीक्षकले उनको प्रशंसा गरेका छन्।
चलचित्र क्षेत्रमा अभिनेत्रीको भूमिका प्रायः नायकको वरिपरि सीमित हुने प्रवृत्तिबीच ‘लालीबजार’ ले स्वस्तिमालाई ‘लेडी हिरो’का रूपमा प्रस्तुत गरेको छ। फिल्मको कथा उनको पात्रको जीवन संघर्ष र उतारचढावमा केन्द्रित छ।
प्रदर्शनको दुई सातामै ५ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्ने अभिनेत्री–केन्द्रित नेपाली फिल्मका रूपमा पनि ‘लालीबजार’ चर्चामा आएको छ।
षट्कोण आर्ट्सप्रति दर्शकको विश्वास कायम
षट्कोण आर्ट्सले यसअघि ‘टल्कजंग भर्सेस टुल्के’, जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यसपटक कम्पनीले नयाँ टिम र सामाजिक विषयवस्तुसहित नयाँ कथा प्रस्तुत गर्ने प्रयास गरेको थियो, जसमा दर्शकले विश्वास देखाएका छन्।
फिल्म हेर्न परिवारसहित हल पुग्ने दर्शकको संख्या उल्लेख्य रहेको निर्माण टिमको भनाइ छ। दर्शकले समय र पैसाको सदुपयोग भएको प्रतिक्रिया दिँदै सन्तुष्टि व्यक्त गरिरहेका छन्। सामाजिक तथा पारिवारिक कथालाई सरल प्रस्तुतिमा देखाउने षट्कोण आर्ट्सको शैलीका कारण सबै पुस्ताले एउटै फिल्म सँगै हेर्न सक्ने वातावरण बनेको देखिन्छ।
युट्युबमा ट्रेन्डिङमा ट्रेलर
फिल्म ‘लालीबजार’ को ट्रेलर युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा ट्रेन्डिङमा रहेको छ। सार्वजनिक भएको एक महिनापछि पनि ट्रेलरले २२ लाखभन्दा बढी भ्युज पाएको छ। यसले फिल्मप्रतिको दर्शक चासो अझै बढिरहेको संकेत गरेको छ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्। निर्देशक यम थापा को कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापति, सम्पादक मित्रदेव गुरुङ तथा संगीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १६:५२ शुक्रबार