कला/साहित्य

संवादमा श्रीकृष्ण र कर्ण

अध्यात्म

महाभारतमा कर्णले श्रीकृष्णसँग सोधे, ‘मेरी आमाले मलाई जन्माउनेबित्तिकै त्याग गरिन्। मेरी आमाको कोखबाट मैले अवैध बच्चाका रूपमा जन्म लिएको हुँ र ? मेरो के अपराध थियो ? अहिले मलाई जे जति अवसर प्राप्त भएको छ, त्यो दुर्योधनको दयाबाट पाएको हुँ। म दुर्योधनप्रति बफादार हुनुमा के अपराध भयो?’

श्रीकृष्णले अलि मुस्कुराउँदै भने, ‘कर्ण, मेरो जन्म पनि जेलमा भएको थियो । म जन्मनुअघि नै मेरो मृत्युले मेरो प्रतीक्षा गरिरहेको थियो । जुन रात मेरो जन्म भएको थियो, त्यही रात मलाई यशोदा मैयाको घरमा पुर्‍याइएको थियो । मेरो बचपन रथको धमक, घोडा हिनहिनाहट र तिर कमानको छायामा बित्यो। मैले गाई चराएँ र गाईको गोबर पनि संकलन गरेँ । जब म चल्न पनि सक्दिनथेँ, त्यतिबेला मलाई प्राणघातक हमला भएको थियो । मसँग सेना छैन, शिक्षा छैन, गुरुकुल छैन, महल छैन । मामाले मलाई आफ्नो ठुलो शत्रु सम्झेको थियो । तिमीहरू सबै आफ्नो वीरताका लागि गुरु र समाजबाट प्रशंसा प्राप्त गरिरहन्थ्यौ, म भने शिक्षा र अवसरको अभावमा थिएँ।

१६ वर्षको उमेरमा मात्रै मलाई ऋषि सन्दीपनिको आश्रममा जाने अवसर मिल्यो । तिमीलाई मन पर्ने जीवनसाथीसँग विवाहको अवसर प्राप्त भयो तर मलाई त त्यो अवसर पनि मिलेन । मलाई भने धेरै विवाह राजनीतिक कारणले गर्नुपर्‍यो।

जरासन्धको प्रकोपका कारण मेरो कुटुम्बलाई यमुनाबाट सुदूर प्रान्तमा समुद्रको किनारमा बस्नुपर्‍यो । दुनियाँले मलाई कायर भन्यो । यदि दुर्योधन युद्धमा विजयी भएको भए विजयको श्रेय तिमीलाई मिल्थ्यो तर धर्म युद्धमा विजय अर्जुनको हुनेछ।

हे कर्ण, कसैको पनि चुनौतीबिनाको जीवन हुँदैन । सबैको जीवनमा कुनै न कुनै कमजोरी वा असफलता हुन्छ । केही कमी दुर्योधनमा थियो भने केही कमी युधिष्ठिरमा पनि थियो । सत्य के हो, चित के हो, यो हाम्रो आफ्नै आत्माको आवाजद्वारा निर्धारित हुन्छ । यस कुरामा केही फरक पर्दैन कि कति पटक हामीलाई अन्याय हुन्छ, अपमानित हुन्छौं या हकको हनन गरिन्छ । फरक केवल हामी ती सबै समस्याको सामना कसरी गर्छौं भन्नेमा रहन्छ।

जीवनमा हामीमार्फत कुनै गलत घटना घट्न सक्छ । त्यसले हामीलाई गलत कार्य गर्ने मार्ग निर्माण गर्नुहुँदैन । त्यस घटनाबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । कुनै एक परिस्थितिका लागि हामी अर्को परिस्थितिको जिम्मेवारी लिँदैनौं । जीवनको संघर्षले नै हाम्रो भाग्यको निर्धारण गर्छ।

ईश्वरले हामीलाई दिमाग दिएको छ, त्यसको सही वा गलत प्रयोग गर्ने जिम्मेवारी हाम्रो हो। ईश्वरले हामीलाई हात र खुट्टा दिएको छ, कुन बाटोमा हिँड्ने भन्ने निर्णय गर्नु पनि हाम्रो जिम्मेवारी हो । संघर्ष दुवै पक्षमा रहन्छ । हामी कृष्णजस्तै संघर्षको सामना गर्ने कि कर्णजस्तै, यो निर्णय हामी आफैंले गर्ने हो।’

प्रकाशित: ९ जेष्ठ २०८३ १३:२० शनिबार