स्रष्टा हर्कमान तामाङकाे प्रमुख आतिथ्यमा कोसी साहित्य–कला परिषद्को पहिलो साधारण सभा भएकाे छ।
उक्त सभाले केशु विरहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ।
समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’ सहसचिवका गीता कुलुङ राई, कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले चयन भएका छन्।
त्यस्तै समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, खेमचन्द्र अधिकारी, मनोस विश्वकर्मा, नवीन थापा क्षेत्री, अम्बिकाप्रसाद कोइराला ‘अकेला’ र एकराज भट्टराई रहेका छन्।
कार्यक्रममा अध्यक्ष केशु विरहीले आव २०८२\०८३ को संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बेलबारी बहुमुखी क्याम्पसमा भएकाे कार्यक्रममा हर्कमान तामाङ, अमृतप्रसाद आचार्य, धनजित पराजुली, तिला लेकाली जस्ता स्रष्टाले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
कार्य समितिको अध्यक्षमा चयन भएलगत्तै संस्थाका अध्यक्ष विरहीले पहिलो कार्यकालमा संस्थाको दिगो विकासका लागि स्पष्ट आधार तयार पार्ने बताए।
यसअघि तदर्थ समितिका अध्यक्षसमेत रहेका विरहीले संस्थाको पहिलो बैठक बसेर आगामी कार्यक्रमको तय गर्ने बताउँदै आफ्नो जोड भनेको सबै स्रष्टा/कलाकारलाई अटाउने एउटा साझा संस्था बनाउने रहेको बताए।
उक्त कार्यक्रममा झापा, मोरङ तथा सुनसरीका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा/कलाकारहरूको उपस्थिति थियो।
स्मरण रहोस्, यस संस्थाले साहित्यिक कार्यक्रमलाई मितव्ययी बनाउन खादा मालाको प्रयोग नगर्ने, मञ्चलाई अतिथि आसनका लागि नभएर कार्यक्रमका लागि मात्र प्रयोग गर्ने, संस्थालाई साझा चौतारीका रूपमा विकास गर्ने, नि:शुल्क बौद्धिक कार्य नलाउने, कुनै पनि राजनीतिक पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिलाई नेतृत्वमा नल्याउने आदिको थालनी गरेर साहित्यमा पुराना मान्यता तोड्दै नयाँ मान्यता स्थापित गरेको छ।
प्रकाशित: २७ श्रावण २०८३ १३:४५ बुधबार