कला/साहित्य

सबै विचार समेट्दै अघि बढ्याे ‘कोसी साहित्य-कला परिषद्’

‘कोसी साहित्य-कला परिषद् नेपाल’ सबै खाले विचार समेट्दै अघि बढेकाे छ। परिषदले वरिष्ठ साहित्यकार हर्कमान तामाङ संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ।

संस्था दर्तापछि  बेलबारीमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो। सल्लाहकार समितिमा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्राडा भीम खतिवडा (सुनसरी), डा. छवि वैरागी घिमिरे (मोरङ), केशव आचार्य (झापा) र मिश्र बैजयन्ती (मोरङ) रहेका छन्।

संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ का अनुसार आवश्यकता र औचित्यका आधारमा सल्लाहकार थप्दै जाने पनि निर्णय गरिएको छ।

संस्थाले पहिलो बैठकबाटै संस्थापकहरूको निर्क्योल तथा वार्षिक कार्यक्रम तय समेत गरेको छ। बैठकले भाषा/साहित्य तथा कला/संस्कृति विभागअन्तर्गत (भाषा, साहित्य तथा कला संस्कृति) विभिन्न ३ विभागको गठन गर्नुका सार्थ ती विभागहरूको संयोजकसमेत तोकेको छ।

भाषा विभागमा वासु अधिकारी (मोरङ), साहित्य विभागमा रोमु अधिकारी (सुनसरी) र कला संस्कृति विभागमा राज यात्री लम्साल (मोरङ) संयोजक तोकिएका छन्।

हरेका विभागमा भाषा, साहित्य तथा कलाका क्षेत्रमा काम गरिरहेका ११/११ व्यक्तित्वलाई मनोनयन गरिएको, आवश्यकता र औचित्यका आधारमा विभागमा सदस्य थप्दै जाने पनि निर्णय भएको संस्थाका अध्यक्ष केशु विरही बताए।

भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा केही फरक तर राम्रो काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले यो वर्ष प्रकाशन, लोकार्पण, विमर्श लगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष विरहीले बताए।

विरहीले भने, ‘पछिल्लो समय कार्यक्रमका लागि कार्यक्रम गरिने गरिएको पाइन्छ, धेरै संस्थाले एकै प्रकारका कार्यक्रम गर्दै आएका छन् तर हामी धेरै कार्यक्रम गर्दैनौं, अरू संस्थाले गरिरहेका प्रकृतिका कार्यक्रम पनि गर्दैनौं। भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि अन्य संस्थासँग सहकार्य गरेर केही प्रभावकारी कार्यक्रम मात्र गर्नेछौं। हाम्रो विशेष जोड औपचारिकभन्दा सङ्ख्यामा थोरै तर केही प्रभावकारी कार्यक्रम मात्र गर्ने रहेको छ।’

२०८२ साउन ३ गते मोरङका विभिन्न पालिकामा भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको उपस्थितिले यस संस्थाको स्थापना गर्दै केशु विरही अध्यक्ष रहेको ११ सदस्यीय तदर्थ समितिको गठन गरेको थियो। उक्त समितिले विधान निर्माण गरी २०८२ साल कात्तिक १८ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा संस्था दर्ता गरेको छ।

स्थापना र यस संस्थाले गरिरहेको गतिविधिलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। संस्थाप्रति धेरैको चासो पनि रहेको पाइन्छ। केही सीमित व्यक्ति त्यसमा पनि एक खाले विचार मात्र अटाउन सक्ने संस्थाको बाहुल्य रहेको परिप्रेक्षमा सबै खाले विचार समेट्दै संस्थालाई एउटा साहित्यिक चौतारीका रूपमा विकास गरेर अघि बढ्ने योजना धेरैले रुचाएका छन्। धेरैले सहयोग पनि गरिरहेका छन्। ‘हामी कुनै व्यक्तिलाई राजनीतिक आस्थाका आधारमा नभएर उसको योग्यता, क्षमता र योगदानका आधारमा हेर्छौ, साहित्यिक संस्थालाई साहित्यिक संस्थाका रूपमा विकास गर्छौ, हामी सबैलाई अटाउने एउटा चौतारीको विकास गर्दै छौं, अरूले देलान् र संस्था चलाऔंला  भन्दा पनि हामी आफैंबाट साहित्यका लागि केही लगानी गरेर सुरु गर्छौ’ भन्ने संस्थापकहरूको भनाइलाई धेरैले मन पराएका छन्।

भाषा, साहित्य, कलाका क्षेत्रमा काम गर्ने आधिकारिक तथा भरपर्दो संस्थाको खाँचो थियो। यस संस्थाले त्यो आवश्यकता पूरा गर्नेमा आफू विश्वस्त रहेको संस्थाका सल्लाहकार वरिष्ठ साहित्यकार हर्कमान तामाङले बताए।

सल्लाहकारद्वय प्राडा भीम खतिवडा र डा. छवि वैरागी संस्थाको उद्देश्य तथा समितिका सदस्यहरूकाे अठोट र क्रियाशीलताले आफूहरू प्रभावित बताए। त्यस्तै मिश्र बैजयन्ती र केशव आचार्यले पनि साहित्यको अभियानमा आफूहरूको पूर्ण साथ र सहयोग रहने बताए।  

प्रकाशित: २४ कार्तिक २०८२ ११:५३ सोमबार