कला/साहित्य

‘अबको बाटो’ अन्तरक्रियामा कोसी साहित्य-कला परिषद्

‘कोसी साहित्य–कला परिषद’ ले नियमित रूपमा आफ्नाे गतिविधि अघि बढाएकाे छ। ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले स्रष्टा भेटघाट तथा अन्तरक्रिया गरेको छ। बेलबारी बहुमुखी क्याम्पस, मोरङमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले भेटघाट तथा ‘संस्थाको अबको बाटो’ विषयक अन्तरक्रिया गरेको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङ रहेका थिए । कार्य समिति, सल्लाहकार, विभिन्न विभागका सदस्य, केही शुभेच्छुक संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा प्राडा भीम खतिवडा, कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाज, मोरङका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली, प्रलेस नेपाल कोसी प्रदेशका निवर्तमान अध्यक्ष तिला लेकाली, धिमाल भाषाका कवि तथा नाटककार टीकालाल धिमाल, गजलकार रोमु अधिकारी, विराट साहित्य समाजका वासु अधिकारी लगायतका स्रष्टाहरूले संस्थाले गर्नुपर्ने आगामी कार्यक्रमबारे आआफ्ना धारणा राखेका थिए।

सल्लाहकार समिति तथा विभिन्न विभागका सदस्यहरूलाई बधाइ तथा शुभकामना प्रदान गर्दै उनीहरूले नेपाली साहित्यको विकासमा एउटा फरक दृष्टिकोणका साथ स्थापना भएकामा खुसी व्यक्त गर्दै यसले नेपाली साहित्यका पारखीलाई केही आशा जगाएका बताए।

‘कोसी साहित्य–कला परिषद् नेपाल’ अध्यक्ष केशु विरहीले संस्थाले हालसम्म गरेका गतिविधि तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए। संस्थाले गुणात्मक कार्यक्रम सञ्चालन गर्ने, यस वर्ष प्रकाशन, विमर्श तथा समुदाय लक्षिक केही कार्यक्रम मात्र गर्ने अध्यक्ष विरहीले बताए।

केशु विरहीको अध्यक्षता तथा संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ काे सञ्चालन रहेकाे कार्यक्रममा विष्णु भण्डारी आचार्य, चिरञ्जीवी काफ्ले, प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, मनोज कार्की, श्रेष्ठ परिक्रमा, खेमचन्द्र अधिकारी, सुन्दर भट्ट, जुनु बुढाथोकी, एकराज भट्टराई, मुना मिश्र, रामकुमार हुक्पा चोङबाङ, प्रकाश भट्टराई, दुर्गा खरेल लगायतका स्रष्टा/कलाकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० कार्तिक २०८२ १०:२३ आइतबार