कला/साहित्य

‘कल्पलता’ ले मनायाे वार्षिक उत्सव

‘कल्पलता’ साहित्य परिवार तथा ‘कल्पलता’ द्वैमासिकले आफ्नाे तेस्राे वार्षिक उत्सव मनाएकाे छ।

साहित्यकार डा. मेघराज ढकालको प्रमुख आतिथ्यमा कल्पलता साहित्यिक द्वैमासिकको तेस्रो वार्षिकोत्सव तथा साप्ताहिक काव्य वाचन १९४औं शृङ्‍खला भएको छ। कार्यक्रमको उद्‍घाटन प्रमुख अतिथि डा. ढकालले व्यानर पढेर गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. ढकालले सबै पुस्ताका साहित्यकारहरूको उपस्थितिले कार्यक्रमलाई उत्कृष्ट बनाएको चर्चा गरे। उनले 'अहिले मुलुक निराशावादी छ तर साहित्यकारहरू आशावादी छन्' भन्दै साहित्यिक कार्यक्रम, कल्पलता द्वैमासिक र समाज अविरल बग्दछ इन्द्रावतीझैं बगिरहेको विचार व्यक्त गरे।

डा. ढकालले शुभकामना दिँदै कार्यक्रममा वाचन गरिएका रचनाहरूले राष्ट्र सेवा, जातीय संस्कृति र एकताको सन्देश दिएकाे बताए। यस कार्यक्रमले साहित्यको भविष्य छ भन्ने देखाएको र चार/पाँच सय वर्षपछिसम्म पनि कार्यक्रमको सम्झना रहिरहने बताए।

कार्यक्रमका विशिष्ट अतिथि कल्पलता द्वैमासिकका कानुनी सल्लाहकार अधिवक्ता डा. प्रेमराज सिलवालले कार्यक्रम सभ्य र भव्य रूपमा भएको टिप्पणी गरेका थिए। उनले कार्यक्रममा वाचन गरिएका रचनाहरूको समीक्षा गर्दै अधिकांश रचना राष्ट्रिय भावनाले ओतप्रोत रहेको धारणा राखे।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि फ्लोरोसेन्ट माध्यामिक विद्यालयका अध्यक्ष मेघराज गौतमले कार्यक्रममा जेन-जी पुस्ताको समेत सक्रिय सहभागिताले आफूलाई खुसी लागेको चर्चा गरे। समाजलाई सुधारको बाटोमा लैजान साहित्यको अग्रस्थान रहने र त्यो अपेक्षा कल्पलताले पूरा गर्ने विचार उनले व्यक्त गरे।

जालपा पुस्तकालयमा भएकाे कार्यक्रममा साहित्यकारहरू डा. मेघराज ढकाल, मेघराज गौतम, नरबहादुर बिसी, बेनीबहादुर थापा, टंकबहादुर खत्री, घनबहादुर थापा, जेपी नेपाल, रेणु अधिकारी 'मौनता', उमेश पाण्डे, गोविन्द केसी, गोविन्दराज पौडेल, रामप्रसाद पौडेल, राजेशमान केसी, सुशील आचार्य, सुदर्शन अधिकारी, अर्जुनबाबु तिवारी, दिपक बानियाँ, योञ्जन डि. चन्द्र, माया बस्नेत थापा, महेश्वर खनाल, लेखन अविरल, रमिता थापा, श्रेया पाण्डे, सिमरन गौतम, रशना श्रेष्ठ, सोफिया रसाइली लगायतले रचना वाचेका थिए।

कल्पलता द्वैमासिकका प्रकाशक रेणु अधिकारी 'मौनता' ले कार्यक्रमको औचित्य र कल्पलता द्वैमासिक प्रकाशनबारे प्रकाश पारेकी थिइन्।

कल्पलता द्वैमासिकका प्रधानसम्पादक घनबहादुर थापाकाे सञ्चालन र सम्पादक सुदर्शन अधिकारीकाे स्वागत मन्तव्य रहेकाे उक्त कार्यक्रममा कल्पलता द्वैमासिकका संरक्षक नरबहादुर बिसीले कल्पलताको विगतको स्मरण र भावी योजनाबारे प्रकाश पारेका थिए। साहित्यकार रामप्रसाद पौडेल जस्ता धेरै आजीवन सदस्य रहेकाे कल्पलता द्वैमासिकको १८अङ्‍क प्रकाशित छ।

प्रकाशित: ३० कार्तिक २०८२ ०९:२६ आइतबार