कलश इभेन्ट्सले आयोजना गरेको वाद्य सम्राट न्हुच्छेबहादुर डंगोल जुनियर बिट मास्टर मादल कम्पिटिसन - सिजन २’ अन्तर्गत नेपालको पहिलो राष्ट्रियस्तरीय जुनियर मादल प्रतियोगितामा जुनियर बिट मास्टर सिजन २ को उपाधि काठमाडौं बर्नहार्ट सेकेन्डरी स्कूलका प्रिन्स महर्जनले जितेका छन्।
प्रतियोगितामा काठमाडौं म्युजिक मण्डलाका प्रसन्न महर्जन फस्ट रनर अप र शान्ति निकुञ्ज सेकेन्डरी स्कूलका सलिन महर्जन सेकेण्ड रनरअप भए। प्रतियोगितामा काठमाडौं मोडल स्कूलका सम्यक नापित थर्ड रनरअप बन्दा समर्पण महर्जनले पब्लिक च्वाइस अवार्ड पाए। विजेतालाई वाद्य सम्राट न्हुच्छेबहादुर डंगोलले पुरस्कार प्रदान गरेका थिए।
नेपालको मौलिक बाजा मादलको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा मादल वादनप्रति रुचि र आकर्षण बढाउने उद्देश्यले आयोजित प्रतियोगिताको २५ जना फाइनलिस्ट थिए।
इभेन्टका अध्यक्ष सञ्जय महर्जनले नेपालको मौलिक बाजा मादललाई नयाँ पुस्तामाझ अझ लोकप्रिय बनाउने, बालबालिकामा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने तथा नेपाली कला, संस्कृति र सांगीतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिताको निर्णायकहरुमा बाबुराजा महर्जन, सुक्रीमाया मोक्तान र ईश्वरीप्रसाद भुसाल रहेका थिए। कार्यक्रमका इभेन्ट चेयरम्यान सञ्जय महर्जन, कलश इभेन्ट्सकी म्यानेजिङ डाइरेक्टर वर्षा महर्जन तथा इभेन्ट डाइरेक्टर नरेश प्रजापति रहेका थिए।
प्रकाशित: १ भाद्र २०८३ ११:१० सोमबार