कला/साहित्य

सम्बन्धविच्छेद भए पनि टुंगिएन जुलिया र सिल्भियोको कानुनी झमेला, पूर्वपतिलाई १४ दिन जेल सजायको आदेश

चर्चित अमेरिकी फेसन व्यवसायी तथा अभिनेत्री जुलिया हार्ट र इटालियन व्यवसायी सिल्भियो स्काग्लियाबीचको करिब चार वर्ष लामो सम्बन्धविच्छेद विवाद टुंगिएको केही दिनमै स्काग्लियामाथि अर्को कानुनी संकट थपिएको छ ।

न्युयोर्कका न्यायाधीश जेफ्री पर्लम्यानले अदालतका आदेश पटक–पटक उल्लंघन गरेको ठहर गर्दै स्काग्लियालाई तत्काल १४ दिन जेलमा राख्न पक्राउ आदेश जारी गरेका छन् । अदालतका कागजातअनुसार उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी कारबाही अघि बढाइएको हो ।

हार्ट र स्काग्लियाबीचको सम्बन्धविच्छेद तथा सम्पत्ति विवाद करिब ९ करोड डलरको रहेको थियो । उनीहरूले विवाहका क्रममा संयुक्त रूपमा सञ्चालन गरेको चर्चित मोडलिङ कम्पनी एलिट वर्ल्ड ग्रुपसम्बन्धी स्वामित्व र आर्थिक कारोबारलाई लिएर लामो समयदेखि कानुनी विवाद चल्दै आएको थियो ।

पछिल्लो अदालतको निर्णयअनुसार हार्टले दम्पतीको व्यावसायिक होल्डिङ कम्पनी फ्रिडम होल्डिङमा ५० प्रतिशत स्वामित्व तथा स्काग्लियाको हिस्सासम्बन्धी पावर अफ अटर्नी प्राप्त गरेकी छन् । अदालतले उनलाई लाखौँ डलर बराबरको अन्य आर्थिक दाबीसमेत प्रदान गरेको थियो । अप्रिल २०२६ मा न्युयोर्कको अपिल अदालतले सम्बन्धविच्छेदसम्बन्धी मुख्य निर्णयलाई कायम राखेको थियो ।

कम्पनी सार्नेदेखि महँगा सामान खरिदसम्मको आरोप

अदालतमा प्रस्तुत कागजातअनुसार सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएपछि दम्पतीको साझा सम्पत्ति स्थानान्तरण गर्न नपाइने कानुनी व्यवस्थाको उल्लंघन गर्दै स्काग्लियाले हार्टको अनुमति बिना संयुक्त कम्पनीको स्वामित्वसम्बन्धी संरचना परिवर्तन गरेको आरोप छ ।

उक्त कम्पनीले केन्डल जेनर, एड्रियाना लिमा लगायत चर्चित मोडलहरूको प्रतिनिधित्व गर्छ ।

न्यायाधीश पर्लम्यानले स्काग्लियाले साझा सम्पत्तिबाट रकम अन्यत्र सार्ने गतिविधि गरेको निष्कर्षसमेत निकालेका छन् । यसअघि अदालतले कम्पनीको रकम प्रयोग गरी बेन्ट्ली, पोर्श तथा भ्यान क्लीफ एन्ड अर्पेल्सका महँगा गहना खरिद गरिएको विषयलाई समेत विवादमा समेटेको थियो ।

अदालतले पटक–पटक उपस्थित हुन दिएको आदेश पालना नगरेको विषय पनि स्काग्लियाविरुद्धको कारबाहीको आधार बनेको छ । यसअघि सन् २०२४ मा हार्टलाई करिब ३ लाख डलर तिर्ने अदालतको आदेश पालना नगरेको अभियोगमा स्काग्लियालाई २० दिन जेल सजाय सुनाइएको र पक्राउ आदेश जारी गरिएको थियो ।

नयाँ जीवन र अदालतको आदेश

कानुनी विवाद चलिरहेकै समयमा स्काग्लिया युरोपमा याटमा घुमफिर गरिरहेको र आफ्नी हालकी पत्नी मिशेल–मारी हाइनमनसँग विलासी जीवन बिताइरहेको विवरण सार्वजनिक भएका छन् । उनी हाइनमनसँगको सम्बन्ध र महँगा गहनाका कारण पनि चर्चामा आएका छन् ।

तर अदालतको पछिल्लो आदेशपछि उनीमाथिको कानुनी दबाब फेरि बढेको छ । उपलब्ध विवरणअनुसार स्काग्लिया हाल इटालीमा रहेको बताइएको छ र अमेरिकी अधिकारीसमक्ष उपस्थित भएका छैनन् ।

स्काग्लिया र हार्टको सम्बन्ध सन् २०१९ मा विवाहमा परिणत भएको थियो । त्यसअघि स्काग्लियाले सन् २०११ मा हार्टलाई उनीहरूले सञ्चालन गरेको मोडलिङ व्यवसायको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका थिए । विवाह भएको केही वर्षमै उनीहरूको सम्बन्ध बिग्रिएपछि सन् २०२२ मा सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएको थियो ।

सम्बन्धविच्छेदसँगै सुरु भएको व्यवसाय र सम्पत्तिको विवाद अदालतसम्म पुगेपछि उनीहरूको निजी सम्बन्ध विश्व मनोरञ्जन र फेसन उद्योगकै चर्चित कानुनी विवादमध्ये एक बनेको छ । अहिले सम्बन्धविच्छेदको मुख्य विवाद टुंगिए पनि अदालतका आदेश उल्लंघनसम्बन्धी नयाँ कारबाहीले स्काग्लियाको कानुनी झमेला भने तत्काल सकिने संकेत देखिएको छैन । एजेन्सीको सहयोगमा

प्रकाशित: १० आश्विन २०८३ १७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App