साहित्यिक पत्रकार सङ्घले वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’ आत्मकथाकृति र ‘सुख त सपनै भो’ म्युजिक भिडियो लोकार्पण गरेकाे छ।
प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस र मन्चासीन विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए। लोकार्पणपछि म्युजिक भिडियोको प्रदर्शन पनि गरिएकाे छ।
कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा उनको आफ्नै उचाइ भएको बताए। उनले भने, "साहित्यकारहरूले लेखनबाट, सङ्गीतकर्मीहरूले सङ्गीत र गायनबाट र कलाकर्मीहरूले कुचीका माध्यमबाट आफ्नो देशलाई विश्वमै चिनाइरहेका हुन्छन्।"
वरिष्ठ समालोचक प्रमोद प्रधानले मथुरा श्रेष्ठ प्रधानले दीप श्रेष्ठ र गोपाल योन्जन जस्ता सङ्गीतजगतका विशिष्ट साधकहरूको अभिभावकत्व पाउनु आफैंमा उल्लेखनीय भएको बताए। उनले आत्मवृत्तान्तमा पाइने इमानदारीको प्रशंसा पनि गरेका थिए।
अर्का वक्ता कवि एवं पत्रकार शकुन्तला जोशीले सरल र सहज भाषामा लेखिएको यो कृतिले लेखकको सङ्घर्षलाई राम्ररी प्रस्तुत गरेको बताए।
कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यमा साहित्यिक पत्रकार सङ्घले ५४ वर्षदेखि काम गर्दै आइरहेको चर्चा गरे।
कृतिकार मथुरा श्रेष्ठले आफ्नो साङ्गीतिक लगाव, सङ्घर्ष र सहयोगीहरूबारे बताउँदै यात्रामा सघाउनेहरू सबैप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिंह र चलचित्र निर्देशक प्रकाश सायमीले शुभकामना मन्तव्य राखेका थिए।
कवि सविता श्रेष्ठ "बेहोसी"ले सहजीकरण गरेकाे कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., कवि एवं आख्यानकार उषा शेरचन, पूर्व राजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको पनि उपस्थिति रहेकाे थियो।
कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका जीवनसँगी प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।
सार्वजनिक म्युजिक भिडियो "सुख त सपनै भो"का गीतकार प्रकाश सायमी र सङ्गीतकार प्रवीन बराइली हुन्।
प्रकाशित: २ कार्तिक २०८२ १३:०१ आइतबार



