कला/साहित्य

तीन करोड लागतको ‘झिंगेदाउ २’ साढे एक करोडमा सीमित

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा बनेको पारिवारिक तथा सामाजिक ड्रामामा आधारित चलचित्र ‘झिंगेदाउ २’ र विनयराज पौडेलको निर्देशनमा तयार ‘अक्षरा’ सिनेमाघरबाट उत्रिएका छन्।

२०७९ मा प्रदर्शनमा आएको यसको पहिलो भाग ‘झिंगेदाउ’ को यो चलचित्र बक्स अफिसमा व्यापारिक हिसाबले सफल रह्यो तर हालै असोज २ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रको सिक्वेलले भने आफ्नो लगानी समेत उठाउन सकेन।

निर्माण पक्षका अनुसार चलचित्रको लागत करिब तीन करोड रुपैयाँ हो। तर यसले आफ्नो प्रदर्शनको अवधिभर एक करोड ४३ लाख रुपैयाँमा सीमित हुनु परेको छ। यो कलेक्सन चलचित्र विकास बोर्डले सार्वजनिक गरेको हो।

उक्त कलेक्सन लागतको आधा भाग पनि होइन। तर चलचित्र बक्स अफिसमा पछाडिनुको कैयौँ कारण मध्ये निर्माण पक्षले ‘झिंगेदाउ २’ को प्रिमियर शोमा उत्पन्न विवादलाई मानेको छ। जहाँ चलचित्रको प्रिमियरमा कैयौँ सञ्चारकर्मी तथा युट्युबरलाई त्यसको प्रचार प्रसारका लागि निमन्त्रणा गरियो, त्यहाँ अशोक दर्जी र टंक बुढाथोकीको विवादलाई बढी ‘हाइलाइट’ गरियो। त्यस कारण निर्माण पक्षले प्रचारमा लागि लाखौँ रुपैयाँ खर्च गरेर पनि चलचित्र छायाँमा परेको ज्ञानेन्द्र देउजाको गुनासो छ।

यसमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र आर्यन सिग्देललगायतको अभिनय छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको छ भने लेखन गोविन्द फुयाँल र शिशिर चालिसेले गरेका हुन् ।

अर्कोतर्फ विनयराज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘अक्षरा’ को बक्स अफिस कलेक्सन त झण्डै दयनीय देखिन्छ। यो सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। असोज २३ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र १० लाखमै सीमित भएर सिनेमाघरमा उत्रिनु परेको छ।

चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूका साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय रहेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App