कला/साहित्य

पशुपतिबाट ‘ए मेरो हजुर ५’ को नियमित छायांकन

‘ए मरो हजुर ५’ चलचित्रको नियमित छायांकन पशुपतिबाट सुरु भएको छ। २५ दिनको सेड्युलसहित आजदेखि सिनेमाको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले बताइन्।

यसअघि गत साउन २९ गते सिनेमा निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो। जहाँ उनीहरूले सिनेमाको केही सिन छायांकन गरेका थिए। त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो तर बाजुराका केही स्थानमा सुट गरे पनि आज पशुपतिबाट सिनेमाको नियमित छायांकन थालिएको निर्देशक थापाले बताइन्। झरनाकै निर्देशनमा बन्ने सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिने छन्।

अभिनेता अनमोल र अभिनेत्री सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए। दर्शकले उनीहरूको जोडी खुब रुचाएका थिए।

अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाल लगायत कलाकारको पनि अभिनय रहनेछ।

‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी छन्। उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन।

सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमाको गीतमा कल्याण सिंह, आशिष अविरल, कोसिस क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।

सिनेमाको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा रहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन्। निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन्। कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन्।

त्यस्तै पोस्ट-प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप र हेयरमा रोनिशा अधिकारी छन्।

सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्। यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।

‘ए मेरो हजुर’ का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए। स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो श्रृंखलापछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन्। त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका झरना थापाले नै निर्देशन गर्दै आए पनि यसपटक उनको अभिनय समेत दर्शकले हेर्न पाउनेछन्।

प्रकाशित: २ आश्विन २०८३ १३:२७ शुक्रबार