कला/साहित्य

जापानको ‘असल मान्छे’

व्यक्तित्व

‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर,

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’

– कविशिरोमणि लेखनाथ पौड्याल

यो पंक्तिको भाव मात्सुजाकी मिजुकीको अनुहारमा प्रस्ट देखिन्थ्यो। स्याङ्जाका डाँडामा फैलिएका सुन्तलाका बगानहरू लटरम्म फलेर झुकेका थिए। त्यही सुन्तलाका हाँगाझैं निहुरिएर उनी आगन्तुकसँग कुरा गरिरहेका थिए। न कुनै औपचारिक दुरी, न पदको अहंकार।

उनीसँग उभिँदा यस्तो लाग्दैनथ्यो कि उनी नेपालस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि हुन्। बरु उनी त स्थानीय किसानका कुरा ध्यान दिएर सुन्ने सहयात्रीजस्तै देखिन्थे। फलले भरिएको सुन्तलाको हाँगो र निहुरिएको व्यक्तित्व, दुवैमा उस्तै विनम्रता थियो।

उनको अनुहारमा कुनै कृत्रिम गम्भीरता थिएन। आँखामा अपनत्व मिसिएको चमक थियो। यही सरलता र आत्मीयताले जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीलाई अरूभन्दा फरक बनाउँछ।

यात्रा, जहाँ पद हरायो र मान्छे देखियो

एक महिनाअघि पोखराक्षेत्रको फिल्ड भ्रमणमा पत्रकार, सरकारी निकायका अधिकारी र प्राविधिकहरू सहभागी थिए। पद, ओहदा र औपचारिकताको हिसाबले हेर्दा उनी टोलीकै सबैभन्दा वरिष्ठ व्यक्ति थिए। तर यात्राभरि न त उनी अगाडि–अगाडि ‘प्रमुख’ भएर हिँडे, न त पछाडि बसेर निर्देशन दिए।

उनी त सधैं सबैको माझमा थिए। कहिले स्थानीय बासिन्दासँग संवाद गर्दै, कहिले पत्रकारका जिज्ञासा सुन्दै, कहिले झ्यालबाहिरको दृश्य नियाल्दै मुस्कुराउँदै अनि कहिले जापानी भाषाका हल्का गीत सुनाएर यात्रालाई अझ रमाइलो बनाउँदै।

त्यो यात्राले मनमा धेरै प्रश्न जन्मायो। विकास सहकार्यको नेतृत्व कस्तो हुनुपर्छ?

यही क्रममा बिपी कोइरालाको भनाइ सम्झना आयो, ‘बाबु, ठुलो होइन, असल बन।’ मात्सुजाकी मिजुकी ठुलो पदमा रहेका असल व्यक्ति देखिए। सायद त्यसैले उनी नेतृत्वभन्दा पनि मानवता बोकेको उपस्थितिजस्तै लाग्थे।

जाइकाको इतिहास र नेपालसँगको सम्बन्ध

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका लागि नयाँ नाम होइन। सन् १९५४ मा जापानले सुरु गरेको आधिकारिक विकास सहायता सन् १९५९ बाट नेपाल आइपुगेको हो। त्यसयता करिब सात दशकदेखि जाइका नेपालको विकास यात्राको मौन तर गहिरो सहयात्री बनेको छ।

सडक, सुरुङ, पुल, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, नेपालको विकास नक्सामा जाइका नजोडिएको क्षेत्र भेटाउन कठिन छ तर जाइकाका परियोजनाहरूको विशेषता केवल भौतिक संरचनामा सीमित छैन। यसको मूल शक्ति भनेको मानिस र संस्थागत क्षमता निर्माण हो।

जाइकाका भोलेन्टियर र नेपाली समाज

नेपालका गाउँ–बस्तीमा कहिलेकाहीं देखिने ती जापानी अनुहारहरू– सरल लुगा, साइकल, नोटबुक बोकेका जाइकाका ओभरसिज कोअपरेसन भोलेन्टियर हुन्। उनीहरू शिक्षक बनेर विद्यालयमा पढाउँछन्, कृषि प्राविधिक बनेर खेतबारीमा पस्छन्, स्वास्थ्यकर्मी बनेर चौकीमा बस्छन्।

भाषा सिक्न उनीहरूलाई समय लाग्छ तर सम्बन्ध बनाउन समय लाग्दैन। उनीहरू नेपालीसँगै भात खान्छन्, चाडपर्व मनाउँछन्, दुःखसुख बाँड्छन्। यही घुलमिलको संस्कृतिले जापानी सहयोगलाई फरक बनाएको छ। यो दाता-प्राप्तकर्ताको सम्बन्ध होइन, सहयात्रीको सम्बन्ध हो।

उनीहरूको सहयात्राको पछिल्लो उदाहरण नागढुंगा सुरुङमार्ग र सिन्धुलीको बाटोलाई लिन सकिन्छ। काठमाडौं–नौबिसे सडकखण्डको नागढुंगा सुरुङमार्ग केवल यातायात परियोजना होइन, यो गुणस्तरको प्रतीक हो। पहाड काट्दा भूगर्भ, पानी, सुरक्षा सबै चुनौती थिए। ढिलो भयो भन्ने आलोचना पनि भयो तर जापानी शैली स्पष्ट छ, ढिलो सही तर सुरक्षित र दिगो।

त्यस्तै सिन्धुली राजमार्गको कथा छ। एक समय ‘मृत्यु मार्ग’ भनेर चिनिएको सिन्धुली सडक आज पूर्व-मध्य नेपालको जीवनरेखा बनेको छ। जापानी सहयोगमा बनेको यो सडकले काठमाडौं र तराईबिचको दुरी मात्र घटाएन, मानसिक दुरी पनि घटायो। व्यापार, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा यसको प्रभाव पर्‍यो।

यो परियोजनामा जापानी इन्जिनियरहरू वर्षौंसम्म नेपाली पहाडसँग जुधे, सिके र सिकाए। यही सिकाइको निरन्तरता मात्सुजाकी मिजुकीको नेतृत्वमा पनि देखिन्छ। बाढीले बगाएको यो बाटोलाई उनीहरूले फेरि बनाउने तयारीमा छन्।

त्यो बाहेक उपत्यकामा सवारी आगमन सजिलो बनाउन विभिन्न कामहरू जारी गरेका छन्। नयाँ नयाँ योजनाहरूको  तयारीमा छन्।

स्याङ्जाको सुन्तला र बेगनासको माछा

कुरा फेरि पोखरा भिजिटमै जोडौं। जाइकाको काम ठुला संरचनामै सीमित छैन। स्याङ्जाको सुन्तला खेतीमा गरिएको प्राविधिक सहयोगले किसानको जीवनस्तर बदलेको छ। रोग व्यवस्थापन, बजार पहुँच र उत्पादन वृद्धि। यी सबैमा जापानी अनुभव मिसिएको छ।

पोखराको बेगनास तालनजिकको माछापालन परियोजना पनि त्यस्तै उदाहरण हो। ताल, पर्यटन र जीविकोपार्जनलाई सन्तुलनमा राख्ने सोच। यो पनि जापानी विकास दर्शनकै अंश हो।

भोलेन्टियरबाट प्रतिनिधिसम्म

मिजुकीको यति तारिफ गरिसकेपछि उनको बारेमा थप कुरा जान्ने जिज्ञासा नहुने कुरै भएन। मात्सुजाकी मिजुकीको जाइका यात्रा सन् १९९८ मा फिलिपिन्सबाट सुरु भयो, एक भोलेन्टियरका रूपमा। त्यसपछि लाओस, इजिप्ट, यमन हुँदै टोकियो मुख्यालयसम्म। अफ्रिकाको शिक्षा क्षेत्र सम्हालेर अब उनी नेपाल आइपुगेका छन्।

भौतिकशास्त्रका विद्यार्थी भए पनि उनी मानिसको ‘भौतिक अवस्था’भन्दा मानवीय अवस्थामा बढी रुचि राख्छन्। सायद यही कारण हो, उनको गम्भीरता डर लाग्दो छैन, उनको मुस्कान बनावटी छैन।

सेचुवानको असल मान्छे र जापानको छाया

जर्मन नाटककार बर्तोल्त ब्रेख्तको ‘सेचुवानको असल मान्छे’ले सोधेको प्रश्न यहाँ फेरि उठ्छ, के यो संसारमा असल भएर बाँच्न सकिन्छ? नेपालमा जापानी सहयोग हेर्दा लाग्छ - सकिन्छ। नाफा होइन, प्रभाव खोज्न, आदेश होइन, सहकार्य गर्ने अनि छिटो होइन, दिगो सोच्न। सायद यही ‘असल मान्छे’को दर्शन हो।

मात्सुजाकी मिजुकी त्यस दर्शनका जीवित प्रतिविम्बजस्ता देखिन्छन्। उनी व्यक्तिगत रूपमा होइन, संस्थागत रूपमा त्यो असलपन बोकेर आएका छन्।

जापानी आधिकारिक विकास सहायताले ७० वर्ष पूरा गरेको छ। यो यात्रामा नेपाल एउटा महत्त्वपूर्ण साझेदार हो। मात्सुजाकी मिजुकीको नेतृत्वमा जाइका नेपालले ‘विश्वलाई विश्वाससाथ नेतृत्व गर्ने’ आफ्नो दृष्टिकोणलाई नेपाली माटोसँग अझ गहिरो गरी जोड्दै छ।

उनको मुस्कान, सरलता र गम्भीरता। यी सबैले एउटा कुरा भन्छ - विकास केवल संरचना होइन, सम्बन्ध हो र त्यो सम्बन्ध टिकाउन असल मान्छेहरू चाहिन्छ।

नेपालमा जापानको ‘असल मान्छे’को त्यो छाया अझ लामो समय रहोस्, यही कामना!

प्रकाशित: १७ माघ २०८२ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App