कला/साहित्य

ट्रोलको सिकार हुँदै आएका अर्जुन कपुरलाई जान्हवीको सर्मथन

बलिउड अभिनेतामाथि सामाजिक सञ्जालमा हुँदै आएको ट्रोललाई लिएर जान्हवी कपुरले आफ्ना दाजु अर्जुन कपुरको समर्थनमा आवाज उठाएकी छिन्।  

उनले अर्जुनमाथि भइरहेको अनलाइन दुर्व्यवहार र ट्रोलिङप्रति गहिरो असन्तोष व्यक्त गरेकी छिन्। उनका अनुसार सामाजिक सञ्जालमा कसैलाई लक्षित गरी गालीगलौज गर्नु वा अपमानजनक टिप्पणी गर्नु पूर्ण रूपमा गलत हो। यस्ता लगातार व्यक्तिगत आक्रमणहरूले व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न उनको भनाइ छ।

जान्हवीले केही व्यक्ति तथा सामाजिक सञ्जाल पृष्ठहरूले अर्जुनको नाम केवल ध्यान तान्ने शीर्षक र जानाजानी आक्रोश उत्पन्न गराउने सामग्रीका रूपमा प्रयोग गरिरहेको आरोप लगाइन्। तथ्यको पुष्टि नगरी भड्किलो समाचार बनाइने र धेरै दर्शक तथा प्रतिक्रिया पाउन खोजिने प्रवृत्तिले समाजमा नकारात्मकता फैलाइरहेको उनको भनाइ छ। यसले सत्यभन्दा सनसनीलाई बढी महत्व दिने संस्कार बढाएको उनले उल्लेख गरिन्।

उनले प्रत्येक कलाकार पनि संवेदनशील मानव नै भएको भन्दै उनीहरूलाई सम्मान र सहानुभूतिको आवश्यकता पर्ने बताइन्। उनका अनुसार रचनात्मक आलोचनाले सुधारमा सहयोग गर्न सक्छ, तर व्यक्तिगत अपमान र घृणा कुनै पनि रूपमा स्वीकार्य हुँदैन।

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारप्रति चिन्ता व्यक्त गर्दै जान्हवीले सबैलाई जिम्मेवार र सचेत भएर अभिव्यक्ति दिन आग्रह गरिन्। अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैलाई मानसिक पीडा दिनु उचित नभएको उनले स्पष्ट पारिन्। अपूर्ण जानकारीका आधारमा धारणा बनाउँदा गलतफहमी र नकारात्मक सोच बढ्ने भएकाले सचेत रहनुपर्ने उनको जोड छ।

अर्जुन कपूरले लामो समयदेखि आफ्नो काम र व्यक्तिगत जीवनका विषयमा आलोचना र ट्रोलिङको सामना गर्दै आएका छन्। यस्तो अवस्थामा जान्हवीको यो अभिव्यक्ति दाजुको समर्थन मात्र नभई सामाजिक सञ्जालमा फैलिँदै गएको घृणात्मक प्रवृत्तिविरुद्धको सशक्त सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १२:१८ बुधबार