कला/साहित्य

बहनासँग साहित्यकार

नियात्रा

हराउनु पनि थरिथरि हुने रहेछ । हराएर नभेटिनु दुखद, हराएर भेटिनु र भेटिएर पोखिनु निकै सुखद। म हराएर भेटिन र भेटिएर पोखिन चाहन्छु। थोपाथोपा हुँदै समग्रमा सागर जतिकै विशाल रूप लिन कलमबाट सुस्तरी पोखिन चाहन्छु। सानो मुटु, सगर जतिकै फैलिएको हृदय, जुन हृदयमा अनगिन्ती यात्रा अनगिन्ती अनुहार अटाउँछन्। कुनैकुनै यात्रा कुनैकुनै अनुहारहरू मुटुछेउमै आएर बास बस्छन्। कुनै हृदयको सगरमाझ सिताराजस्तै फैलिएर अटाउँछन् यात्रामा।

यो यात्रा ‘सुकुटे कविता साँझ’ को यात्रा हो। जब ‘सुकुटे कविता साँझ’ मा सामेल हुने योजना बनाएँ तबदेखि नै मेरो मन भोटेकोशीमा मभन्दा अगाडि पुगेर राफ्टिङमा रमाउन थाल्यो। साहित्यिक कार्यक्रम अत्यन्त प्रिय लाग्छ। निमन्त्रणा आएका कार्यक्रममा सकेसम्म सहभागी हुन्छु।

‘सुकुटे कविता साँझ’ कार्यक्रमसहित एक रात बसाइँ खाना र राफ्टिङको अवसर जुराएको थियो ‘प्रगतिशील लेखक संघ नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभाग’ ले। कविता पाठ गर्नु एउटा महत्त्वपूर्ण कार्यक्रम त छँदै थियो। त्यसमा जोडिएको थियो भोटेकोशीमा राफ्टिङ। राफ्टिङ गर्ने निकै पहिलेदेखिको रहर पूरा हुने अवसर पाएकी थिएँ। राफ्टिङ साहसिक खेल भएकाले परिवारका सदस्यले समेत विचार गर्नुस् भनिरहेका थिए। म भने खेल्ने उत्सुकतालाई कायम नै राखेर निस्किएँ।

वैशाख १९ र २० मा तोकिएको कार्यक्रमका संयोजक समिर सिंहसँग पनि राफ्टिङ आफूलाई रहर भएको र मन पर्ने कुरा बताएँ। उनले सजिलो अप्ठ्यारो के छ बुझौंला भने। राफ्टिङ त राफ्टिङ नै हो सजिलो र अप्ठ्यारो त के फरक होला र सोचिरहेथें तर त्यहाँ पुगेपछि थाहा भो अप्ठ्यारो त ठूल्ठूला छालहरूमा खेल्नु रहेछ। घामपानीको बेला देखिने सुन्दर कलाबाट सजिएको इन्द्रणी परबाट आँखाले देख्दा अति सुन्दर देखिन्छ तर त्यो इन्द्रेणी जन्मनु अर्थात् भनौं आफ्नै लयमा पृथ्वी ओर्लिरहेका किरणसँग पानीका थोपा जुध्नु र त्यो संघर्षबाट अर्को रूपमा इन्द्रेणी देखापर्नु जस्तै रहेछ राफ्टिङ।

अरू पानीका छालसँग हुत्तिंदै बगेको देख्दा रमाइलो लागे पनि पानीका छालसँग स्वयं जुध्नु साहसिक खेल नै रहेछ। १९ गते एघार बजे भक्तपुर जडीबुटीबाट बस छुट्ने सूचनाअनुसार हामी दुई सुमित्रा राई बहिनी र म उक्त ठाउँ पुग्यौं। केही समयपछि सागर सुवेदी र समिरजी पनि आइपुगे । हामी रोकिएको ठाउँभन्दा पर अरनिको बसपार्क भित्र नै बस रोकिएको रहेछ हामी पुग्यौं। सबै साथी जुटिसक्दा पनि एकजना मित्र कर्ण दयालजी आइपुगेका थिएनन् उनलाई पर्खंदा बाह्र बज्यो। साथीहरू बसभित्र तातो मौसमसँग सिंगौरी खेलिरहेका थिए र ढिलो गरेका कारण उनीसँग रिसाइरहेका पनि थिए।

बत्तिस जनालाई रोकिराख्ने मित्र कर्ण दयाललाई मनमनै धन्यवाद दिंदै थिएँ म भने। बसले आफ्नो रफ्तार लियो। रफ्तार लियो पनि के भन्नु? बस चालक भर्खरभर्खरै बस चालक भएका रहेछन्। बस गुडेको आवाजभन्दा गियर लगाउँदा बसले निकालेको आवाज त्रासमय थियो। उमेर र साहित्यमा दशकौं काटेका अग्रज साहित्यकारहरूले ‘हैन यो बस किन यसरी कराउँछ? के भएको हो भन्न थाले।

बस कन्डक्टर आफैँ तर्सिए जस्ता थिए। उनले ढाढसस्वरूप हजुरहरू चुपचाप बस्नुस् न, बस कराइहाल्छ नि भन्न थाले । बसको त्रासमय ध्वनिसँगै हाम्रो यात्रा बढिरह्यो। नेपालको पहाडी भूभागमा सडकहरू सोझाेतिर हाने जस्तो त कहाँ भेटिनु र? काठमाडाैंबाट सिन्धुपाल्चोकको सुकुटेसम्म पुग्ने बाटो पनि एकापट्टि पहाड, अर्कोपट्टि भीर र बिचमा सडक त्यहीँ सडकमा हाम्रो बस दौडिएको छ।

नागबेली बाटोसँग जोडिएका घरहरू पनि बाटोसँगै नागबेली बनेर उभिएका छन्। बसमा साहित्यकारहरू आआफ्नो सिटमा भएका साथीसँग गफ्फिदै थिएँ। म भने मेरो सिटको साथी बहिनी सुमित्रा राईलाई बेलाबखत उनको अवस्था कस्तो छ हेर्दै विचार गर्दै थिएँ । विचार गर्नुको कारण उनीसँगको मेरो पहिलो यात्रा थियो। उनले मलाई पहिले नै सचेत गराएकी थिइन्। ‘दिदी मलाई त लामो बाटो बसमा हिँडदा बस लाग्छ बमिट हुन्छ ’ मलाई त्यही पिर थियो। कतै बमिट गरेर यात्रामा रहेकालाई यात्रा खल्लो पो हुने हो कि?नागबेली बाटो नागबेली जस्तै बाटोसँगै जोडिएका घरहरू छुट्दै गएका थिए हामीबाट।

हामी केराबारी पुगेपछि चिया पिउन रोकियौं। सबैले आआफ्नो चाहनाअनुसार खाजा चिया अर्डर गरे। हामीले पनि खाजा अर्डर गरेर पर्खी बस्यौं । खाजा पर्खंदाको थोरै फुर्सदिलो समयमा कोही फोटो सेसनमा लागे कोही गफ गर्दै बसे। हामी सबै होटलको सबैभन्दा माथिल्लो तलामा बस्यौं। सुमित्रा बहिनी र म छेउपट्टिको टेबलमा वल्लो र पल्लोछेउ गरेर बस्यौं । माथिल्लो तला टिनले मात्रै छाएको चारैतिर खुला गरी बनाइएको रहेछ। बहिनी मोबाइल हेर्दै थिइन्। मेरो आँखा टक्क एउटा रुखमा गएर अडियो। म मेरा दुई हातका कुहिनोलाई टेबुलमा टेकाएर हत्केलाले चिउँडो अड्याएर त्यो रुख खुब नियालें। वसन्तको महिना भएर होला ठूल्ठूला हाँगामा थाल थापे जस्ता पातहरू छपक्कै थिए। हामी सुकुटेतर्फ बढ्ने बाटाको किनारमा उभिएको बडेमानको त्यो रुख अचम्म गरि हावाले दायाँबायाँ गरी घुमाइरहेको देखें। खास गरी म रुखविरुवाहरू चिन्दिन भन्दा पनि हुन्छ । मैले सुमित्रा बहिनीलाई सोधें,  ‘त्यो केको रुख हो बहिनी?’

उनले सिमलको रुख हो दिदी भनिन्। त्यो सिमलको बडेमानको रुखका हाँगा मानौं केटाकेटीले भुरुङ्ग नचाएझैं घुमिरहेको खुब हेरें। एक्लो उभिएको बडेमानको रुख हावाले दायाँबायाँ हल्लाउँदा नाचेको जस्तो देख्दा मलाई खुब मज्जा लाग्यो। सुमित्रा बहिनीलाई भनें त्यो रुख त कस्तो मज्जाले नाचेको हो। उनले भनिन्, सिमलको रुख हावाले हल्लाउँदा नाचेझैं देखिन्छ दिदी। हामी पाँचखाल, तामाघाट, दोलालघाट हुँदै इन्द्रावतीको धमिलो नदी तरेर अगाडि बढ्यौं । सिन्धुपाल्चोक चौतारा जाने र सुकुटे जाने बाटो छुट्टियो । हामी सुकुटेको यात्रामा भएकाले त्यतै लाग्यौं।सुकुटेको भोटेकोशी रिसोर्ट हाम्रो गन्तव्य भएकाले दिउँसो तीन बजे सो स्थानमा पुगियो। आयोजकले हामी साहित्यकारबाट पच्चिस सयका दरले प्याकेजको निम्ति उठाइएको रकमबाट हामीलाई दुई पटकको खाना दुई पटकको खाजा र बसाइ उपलब्ध हुने जानकारी दिएका थिए। जाने र आउने यातायात खर्चको निम्ति सात सय पचासका दरले संकलन गरिएको रकमबाट हामी सुकुटे पुगेका थियौं।

समग्रमा बत्तिस सय पचासभित्रको सुविधा हामीले प्रशस्त लियौं। राफ्टिङ, खाना, खाजा, बसाइ र चिया पिउने समयमा कफी, दुध चिया जसलाई जस्तो मन पर्छ र जति पिउन मन पर्छ प्रशस्त थियो। सबैले खाजा लिएपछि आयोजकले बास बस्ने कोठाहरूमा सबैको चाहअनुरूप जोडीहरूलाई सिंगल कोठा, क्याम्पिङ टेन्टमा बस्न चाहनेलाई टेन्ट, सिंगल गएकालाई ग्रुपमा गरेर व्यवस्था गरे।

हामी चारजना म लगायत प्रतिभा पुन, यादेवी ढकाल र सुमित्रा राई एउटा कोठा जसमा आठ जना अटिने खाट भएको कोठामा हामी चारजना बस्यौं। आआफ्नो व्याग राखेर रिसोर्टको निकै सुन्दर स्वीमिङ पुलमा केहीबेर फोटो सेसन तिर व्यस्त बन्यौं। आयोजक समिरजी सिन्धु सिरुबारे लगायत अरू दुई गरी चार जनालाई सुत्ने कोठा कमी भएछ । उभिएर गफ्फिदै थियौं सिन्धुजीले आफूहरूलाई कोठा बन्दोवस्त नभएको सुनाउनुभयो । कार्यक्रम शुरू भएको थिएन। उहाँहरू कोठा म्यानेजतिर लाग्नुभयो। हामी आआफ्नै धुनमा तस्विर खिच्नेतिर लाग्यौं।

हामी ‘सुकुटे कविता साँझ’ कार्यक्रमअन्तर्गत पुगेका थियौं साँझ ६ बजे कार्यक्रम संचालन भयो। शुरूवातमै सिन्धुपाल्चोक जिल्ला समितिका वर्तमान अध्यक्ष सरस्वती अधिकारी र निवर्तमान अध्यक्ष निर्मल बस्नेतजीले दोहोरीमा साहित्यकार पाहुनाहरूलाई गीतबाट स्वागत गरे।‘

एकछिनमा सुन्ने हो कविता छिनको छिनैमा भेट भो कवि के भनि बोलाउँ म पहिलो दिनैमा ’यसरी निकै मिठो गीतबाट दुई अध्यक्षले स्वागत गरे। प्रगतिशील गीत, कविता, चुट्किला जो जसरी आफ्नो कलामा निपूर्ण छ त्यही सुनाउने माहोल तातिंदै थियो।  यसरी प्रगतिशील साहित्यलाई समन्वय गर्न सुकुटेमा कार्यक्रमको शुरुवात भयो। कार्यक्रमका प्रमुख अतिथि प्रलेस नेपालका पूर्व अध्यक्ष मातृका पोखरेल थिए

सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवली, शुसिला प्राधानाङ्ग, डा. विन्दु शर्मा, गोपाल बराल, प्राज्ञ बाबा बस्नेत, डा. कौशिला रिशालका साथ रचना प्रस्तुत गर्नेमा स्वयं यो लेखक लगायत समिर सिंह, डा. अमृता शर्मा, डा. कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, डा. बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोरारी, डा. प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ वसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जिसी, रमेश दाहाल, राधा कार्की, यादेवी ढकाल, वासुदेव पौड्याल, अच्युत घिमिरे, बालकवि सुविन पन्त लगायत थिए।

पर्यटन व्यवसायी महेन्द्र थापा पनि उपस्थित भएका थिए उनले आफ्ना भनाइ राख्दै भने, ‘२०३६ सालमा एसएलसी दिएर राफ्टिङ व्यवसायी शुरू गरेको थिएँ आँसुले यो भूमि सिँचेर यो काम गरियो यहाँका मेयरसाब सुबोधजी धन्यवादका पात्र हुनुहुन्छ। सुकुटेलाई पर्यटन क्षेत्र घोषणा गर्नुभयो। यहाँ लेखक साहित्यकारहरूले पनि सुकुटे कोरिडोर उत्थानको निम्ति केही आफ्ना विचार राखिदिनुहुनेछ।’

उनले आफ्नो अभिव्यक्ति राखेर छुट्टिए। यसरी रातिको नौ बजे कार्यक्रमले बिट मार्‍याे।रातिको खानापछि सुत्न आआफ्नो कोठातर्फ लाग्यौं। सुत्ने तरखर हुँदै थियो मलाई सिन्धुजीले भनेको कुरा मनमा लागि रहेथ्यो। हामी भने आठ जना अट्ने ओछ्यानमा चार जना मात्रै छौं उता आयोजक साथीहरूलाई ओछ्यान पुगेको छैन मन पिरोलिन थाल्यो।

सोचे हामी चार जना भएको कोठामा अरू चार महिलालाई यता ल्याइयो भने त ओछ्यान नपुगेका साथीहरूलाई ओछ्यान पुग्छ। हामी चालीस जनाको निम्ति रिसोर्टले छुट्टयाएको ओछ्यानमा हामी आआफ्नै सुविधाले ओछ्यान ओगटेका थियौं। मनमा साथीहरूले सुत्ने ठाउँ पाए कि पाएनन् होला भनेर निद्रा नै लागेन र ठाउँ नपाएका समिरजीलाई म्यासेज गरेर सोधें, ‘तपाईहरूलाई सुत्ने ठाउँ मिल्यो?’

केहीबेरपछि समिरजीले रिप्लाई दिए, ‘ मिल्यो। गुड नाइट।’

अब भने मन ढुक्क भो निदाएँ। बीस गते बिहान खाजा खानुअघि पुनः कविता र गीतहरू वाचन भए । खाजा खाएपछि हामी राफ्टिङकाे निम्ति सुकुटे बिच रिसोर्टतर्फ लाग्यौं। वरिपरि पहाडले घेरिएको सुकुटेमा भोटेकोशी नदीको सुन्दर संगीत श्रवण गर्दै पर्यटक पाहुनाका खातिर दत्तचित्तका साथ लागिरहेका रिसोर्टहरू छन्। हामी भोटेकोशी रिसोर्टबाट पैदल यात्रा गर्दै सुकुटे रिसोर्टतर्फ लाग्यौं। हामीलाई अघिल्लो दिन नै निम्ता गरेर महेन्द्र थापा छुट्टिएका थिए। हामी राफ्टिङको निम्ति महेन्द्र थापाको सुकुटे विच रिसोर्ट पुग्यौं ।

राफ्टिङ गर्न पुगेका चालिस  साहित्यकार केहीबेर नदी किनारमै रमायौं । राफ्टिङको डुङ्गा अर्थात् हावा भरेको रबरको तिनवटा डुङ्गा आएपछि त्यसमा हामी बाँडियौं। हाम्रो डुङ्गामा तेह्र जना भयौं। राफ्टिङ्गको गाईडले पानीलाई प्याडल (वहना) ले कति बेला कसरी फ्याँक्ने भन्ने कुरा डुङ्गामा बस्नु अगाडि नै जानकारी गराएका थिए। आपतकालीन अवस्थामा डुङ्गाभित्र प्याडलको पछिल्लो भाग टेकेर आफूलाई कसरी सुरक्षित बनाउने कुरा सबै सिकाएका थिए।

हामीलाई गाइड गर्ने भाइ जम्मा बीस वर्षका रहेछन् उनी मुस्किलले पचास किलो जति तौलका थिए होलान्। जब हामी डुङ्गामा बस्यौं उनको निर्देशनमा पानी अगाडि वा पछाडि फ्याँक्नुपर्ने हुन्थ्यो उनले पानी कता फेक्ने भनेर भन्थे तर त्यो रमाइलोमा उनको मसिनो आवाज त्यही पानीको छालसँगै विलिन हुन्थ्यो । म उनको नजिक थिएँ र मैले उनको निर्देशनलाई साथीहरूसम्म पुर्याउने कोसिस गर्थें त्यसो भए पनि त्यो होहल्ला रमाईलोमा सबैले उनले पानी अघिल्तिर फ्याँक्न अह्राउँदा विर्सिएर पछिल्तिर फ्याँक्ने पछिल्तिर फ्याँक्न अह्रउँदा अघिल्तिर फ्याँक्ने भएछ।

पानी त्यसरी फ्याँकिदा डुङ्गाले त शुरूमै आफ्नो लिग छोडिहाल्यो। विचरा त्यो फुच्चे गाइडले कसरी सम्हाल्नु र हाम्रो डुङ्गा भोटेकोशीको बिचमा जानुको सट्टा किनारमा ढुङ्गाले छेकिएर बनेको रहमा पो गयो। ती ढुङ्गालाई पार गराउन उनले पानी चलाउने निर्देशन दिए तर अंह कसैले राम्रोसंग सुने पो । अन्ततः उनी पानीमा ओर्लिए।

किनार भए पनि पानी घुँडामाथि नै थियो। उनले सबैलाई ओर्लन अह्राए डराईडराई सबै त्यही पानीमा ओर्लियौं। उनले डुङ्गालाई तानेर ढुङ्गा पार गराए। सबै फेरि त्यही पानीमै डुङ्गा चढ्यौं बल्ल डुङ्गा बग्न थाल्यो । हाम्रो जेन्जी पुस्ताका भाइहरू लगायत सबैले वहना खियाउन थालिहाले । म गाइड नजिक थिएँ उनले आफुलाई सम्हाल्न भ्याएकै रहेनछन् डुङ्गा बग्न के थालेको थियो उनी त झ्वाम्मै पानीमा खसिहाले । चुम्लुङ्ग पानीमा डुबेर टाउको उठाउँदै मुखले पानी फुर्रर फ्याँक्दै डुङ्गाको डोरी समाउन आइपुगेको देखें। उनी डुङ्गामा उक्लिए म त अवाक उनलाई हेरेको हेरयै भएँ। पछि पो उनी खसेको सबैले थाहा पाए । उनी त्यो भोटेकोशीको चिसो पानीमा निथ्रुक्क रुझे । ती फुच्चे गाइडलाई रुझेको देख्दा सबैलाई माया लाग्यो।

डुङ्गा बग्न थालेपछि ति फुच्चे गाइडले भने, ‘आठजना बस्ने डुङ्गामा तेह्रजना हुनुहुन्छ त्यो पनि यति मोटा मोटा’ उनी थकित देखिन्थे हामी गलल्ल हाँस्यौं। डुङ्गाले आफ्नो रफ्तार लिंदै थियो उनले फेरि भने, ‘म यहाँ डुङ्गा चलाउन भर्खर आएको हुँ।’

उनले यति भन्न के भ्याएका थिए सबै मुखामुख गर्यौं। बाबा बस्नेतले जिब्रो टोकेर मलाई हेर्नुभो म पनि उनको कुरा सुनेर अत्तालिएँ। नअतालिनु पनि कसरी र ? भर्खरै डुङ्गा रहमा पुगेर रहबाट निस्किएका थियौं। उनले भोटेकोशीमा पो भर्खरै राफ्टिङ गराउन आएका रहेछन्।

पहिला त्रिशुलीमा राफ्टिङ गराएका रहेछन्। बल्ल मन ढुक्क भो । डुङ्गाले रफ्तार लिइरहेको थियो । भोटेकोशीको किनारलाई एकातिर पहाडको भुईंले अँगालेको थियो भने एकातिर रमाइला रिसोर्टका आँगन आइपुगेका थिए । ती दुईको बीचमा भोटेकोशी आफू बगिरहेको थियो । त्यसरी निर्वाध रूपमा बगेको भोटेकोशीमा डुङ्गामा शैर गरिरहेका हामीलाई डुङ्गा भन्दा माथिमाथि पानीको छालहरू आएर रुझाउँदा मन पुलकित बन्यो । गाइडलाई हाम्रो मोवाइलबाट भिडियो फोटोहरू लिन लगायौं अब भने उनि (गाईड) आफै हौसिंदै भन्दै थिए – ‘पानीमा झर्न मन लागे झर्नुहोस् र डोरी समाउनुहोस्।’ 

समिरजी र सागर सुवेदी पानीमा ओर्लिए । पानीको छालसँग रमाउँदै हुत्तिंदै थियौं । बाबा बस्नेतले ’चराहरू’ शीर्षकको कविता वाचन शुरु गरिन् । माहोल कवितामय बन्यो । केहीछिनपछि पानीमा ओर्लिएकालाई ती फुच्चे गाईडले सेफ्टी ज्याकेटमा समातेर माथि ताने । सुकुटे विचबाट शुरु भएको राफ्टिङ लगभग ६ किलोमिटर सुनकोशी पुगेर टुङ्गियो।

त्यहाँबाट फर्कन हामीलाई लिन सानो ट्रली जीप आएर बसेको रहेछ। त्यसैको पछिल्लो भागमा साहित्यकारहरू टन्नै कोचिएर उभियौं भोटेकोशीको छालमा भिजेका हामीलाई लिएर ट्रलीले सडकमा गति लियो। रमाइलो पनि कति कति । उभिएका हामी त्यही ट्रली जीपमै फेरि रमाइलो गर्दै भोटेकोशी रिसोर्ट फर्कियौं । खाना खाएर फर्कने बेला रिसोर्टका कर्मचारी दिप सापकोटासँग थोरै भलाकुसारी गरें। उनको अनुसार सुकुटेमा आउने पर्यटक पाहुनाहरूलाई इच्छा अनुसार बास र खानाको निम्ति टेन्टको पच्चिस सय, क्याम्पिङ टेन्टको दुई हजार र कोठाको पैंतिस सय शुल्क प्याकेजमा निर्धारण गरेको कुरा उल्लेख गरे। सुकुटे घुम्न आउन चाहने पर्यटक पाहुनाहरूले प्याकेजमा यी सुविधा प्राप्त गर्नुहुनेछ। यदि राफ्टिङ गर्न चाहनुहुन्छ भने पन्ध्र सयप्रति व्यक्ति शुल्क लाग्ने कुरा पनि उनले बताए। सत्र रोपनीमा बनेको भोटेकोशी बीच रिसोर्टमा तिन सय हाराहारी पर्यटक राख्ने क्षमता रहेको पनि बताए। सुकुटेको प्रख्यात के कुरा हो भन्ने मेरो प्रश्नमा उनले भने, ‘यहाँ लोकल कुखुरा र माछासँगको भोजन नै प्रख्यात छ। यहाँको संस्कृतिको कुरा गर्दा तामाङ समुदायको वेशभूषा, पाहुना सत्कार र तामाङ शैलीको परम्परागत खानाहरू नै हो।’

यस भेगका सबैभन्दा बढी माझी समुदायका बस्ती रहेको र उनीहरू माछा मार्ने र खेतीपाती गरी जीविकोपार्जन गर्ने समेत उनले बताए। यहाँ मादल बजाएर लोकनृत्य गर्ने गाउँघरको विशेष आकर्षण रहेको पनि जानकारी दिए। दिप सापकोटाले छोटो भेटमा थुप्रै कुरा जानकारी दिए।

अन्तमा मैले उनलाई भनें, ‘म पर्यटक बनेर आएको छु।  म यहाँको केही चीज चिनोको रूपमा लिएर फर्कन चाहन्छु। मैले लिएर जान सक्ने यहाँको के चीज छ?’

मेरो प्रश्नमा उनले हाँस्दै भने, ‘तपाईले चिनोको रूपमा लिएर जान सक्ने भनेको तपाईको अनुभव हो। भोटेकोशीमा राफ्टिङ्ग गर्नु भयो यो क्षेत्र घुमेर अवलोकन गर्नुभयो यहाँको भोजन गर्नुभयो यही नै हो । त्यस्तो लिएर फर्कन मिल्ने चिनो अरू केही छैन।’

उनको कुरा आत्मसात गर्दै थुप्रै अनुभव बटुलेर सुकुटेलाई बाईबाई गर्‍याैं । दिनको तीन बजे घाम पनि आफ्नो वासस्थानतर्फ ओर्लने सुरसार कस्दै थियो। पहाडहरू माथि टेकेर ओर्लदै गरेको घामलाई आफ्नो काँध दिंदै पहाड पनि एकातर्फ आफ्नो शरीरलाई छायाको बर्को ओढाउँदै थियो। हाम्रो बसले पनि हामीलाई सुरक्षित अनुभूत गराउँदै हाम्रो वासस्थानतर्फ हुँईकियौं। 

प्रकाशित: ३ जेष्ठ २०८३ ०७:४४ आइतबार