हामी असन्तुष्टिमै बाँचिरहेका छौँ। यो भएन, त्यो पुगेन, यो छैन, त्यो भएन—हाम्रो गुनासोको सूची कहिल्यै सकिँदैन। तर, एकपटक त्यसभन्दा पर गएर सोचौँ त, जो व्यक्ति, परिवार वा समुदाय आफैँ ‘मान्छे’ भएर बाँच्न पाउने अधिकारका लागि संघर्ष गरिरहेको छ, उसको अवस्था कस्तो होला?
समाजले महिला र पुरुषका लागि बनाइदिएको साँघुरो परिभाषामा नअटाउने मानिसलाई हामीले के गर्यौँ? उसलाई आफ्नै ठाउँमा परायो बनायौँ। आफ्नै पहिचानका लागि लड्न बाध्य बनायौँ। समाजले नदिएको ठाउँ आफैँ बनाउनुपर्ने भयो। नागरिक भएर पनि अनागरिकजस्तो जीवन भोग्नुपर्ने भयो। अनि हामी सहजै भनिदिन्छौँ—‘ए, तिनीहरू।’
तर ‘तिनीहरू’ पनि हामीजस्तै मान्छे हुन्। उनीहरूका पनि सपना छन्, सम्बन्ध छन्, परिवार छन्, पीडा छन् र सम्मानपूर्वक बाँच्ने चाहना छ। फरक यति हो, हामीले उनीहरूको संघर्षलाई बुझ्नुभन्दा पहिले नै उनीहरूलाई आफ्नो घेराबाट बाहिर धकेलिसकेका छौँ।
हो, यी दुई विषय पारलैङ्गिक र हात्तीलाई एकअर्काको पूरक बनाएर अविनाश विक्रम शाहले मिठो गरी कथा बुनेका छन्, जसले डेढ घण्टासम्म दर्शकलाई होल्ड गरेर राख्छ।
अविनाशको फिल्मले यही असहज प्रश्नलाई पर्दामा उभ्याउँछ। अझ रोचक कुरा के छ भने उनले पारलैङ्गिक समुदायको कथा र तराईमा वर्षेनी ‘हात्तीको त्रास’ भनेर चित्रित गरिने घटनालाई एउटै कथ्यमा गाँसेका छन्।
हामी हात्ती गाउँ पस्यो, बाली नष्ट गर्यो, मान्छेलाई दुःख दियो भनेर समाचार बनाउँछौँ। हात्तीले आफ्नो वासस्थान बिर्सेको होइन। हामीले नै उसको बाटो, जंगल र चरण क्षेत्र साँघुरो बनाउँदै लगेका हौँ। आफ्नो स्वार्थका लागि उसको संसार सीमित गरेपछि त्यसको प्रतिफललाई ‘बिध्वंश’को नाम दिनु कति सजिलो छ!
यहीँ फिल्मको सबैभन्दा बलियो रूपक भेटिन्छ, हात्ती र पारलैङ्गिक समुदाय दुवैलाई समाजले आफ्नो सुविधाअनुसार सीमित गर्छ, विस्थापित गर्छ र अन्ततः उनीहरूकै अस्तित्वलाई समस्या ठान्छ।
फिल्मको सुरुवातमा दर्शक अलमलिन सक्छ। कथा कहाँ जाँदैछ? किन यस्ता दृश्यहरू आइरहेका छन्? कतै फिल्म भड्किएको त होइन? भन्ने प्रश्न उठ्न सक्छ। तर निर्देशकले दर्शकलाई सहज उत्तर दिन हतार गरेका छैनन्। बरु विस्तारै तह खोल्दै अन्ततः त्यही ठाउँमा पुर्याउँछन्, जहाँ तपाईंका सुरुवाती सबै अनुमान असफल हुन्छन्।
विशेषगरी क्लाइमेक्समा पुग्दा सन्दुकभित्र लुकेको नागरिकताको रहस्यले दर्शकलाई स्तब्ध बनाउँछ। त्यसबेला फिल्मको सुरुवाती अलमल पनि अर्थपूर्ण लाग्न थाल्छ। ‘के नै रहेछ र?’ भनेर हेर्न बसेको दर्शक अन्त्यमा मौन हुन्छ। आवाज हराउँछ, बाँकी रहन्छ त केवल ताली।
फिल्म बुझ्न दर्शकसँग पारलैङ्गिक समुदायको सामाजिक संरचना, उनीहरूको समुदायमा प्रवेश गर्ने प्रक्रिया, परिवार निर्माण र त्यसको सञ्चालनबारे केही बुझाइ हुनु सहयोगी हुन्छ। यी कुरा अपरिचित छन् भने कथा अझ जटिल लाग्न सक्छ। कतिपय ठाउँमा भाषाले पनि दर्शकलाई रोक्छ।
समस्या फिल्ममा मात्र छैन, हाम्रो दृष्टिमा पनि छ। हामी अरूको दुःख बुझ्न चाहँदैनौँ। ‘ए, तिनीहरू’ भनेर वर्गीकरण गरिसकेपछि उनीहरूको कथा सुन्ने धैर्य पनि राख्दैनौँ। यही मानसिकतामाथि फिल्मले प्रश्न गर्छ। क्लाइमेक्सपछि सम्भवतः दर्शकले आफूभित्रको त्यही विभेदी नजरलाई एकपटक फर्केर हेर्न बाध्य हुन्छ।
प्राविधिक रूपमा फिल्म बलियो छ। छायांकन, ब्याकग्राउन्ड स्कोर र सम्पादनले कथाको वातावरण निर्माणमा प्रभावकारी भूमिका खेलेका छन्। अभिनयतर्फ पुष्पा लामा, अशान्त शर्मा र माओत्से गुरुङ विशेष रूपमा अब्बल देखिन्छन्। विशेषगरी पुष्पा लामाको अभिनयले ध्यान तान्छ। यो उनको डेब्यु अभिनय हो भनेर पत्याउनै कठिन हुन्छ। उनले अभिनय यात्रालाई निरन्तरता दिने हो भने चरित्र अभिनयमा आफूलाई बलियो सम्भावनाका रूपमा स्थापित गर्न सक्छिन्।
यद्यपि एलिस घिमिरे, आकांक्षा कार्कीलगायत केही कलाकारबाट अझ प्रभावकारी अभिनयको अपेक्षा गर्न सकिन्थ्यो। उनीहरूको अभिनय फिल्मको समग्र प्रभावसँग तुलना गर्दा केही सामान्य लाग्छ।
अन्ततः यो केवल पारलैङ्गिक समुदायको कथा होइन। यो ‘हामी’ले कसरी ‘तिनीहरू’ बनाउँछौँ भन्ने कथा हो। समाजले स्वीकार गर्न नसकेको पहिचानलाई समस्या ठान्ने हाम्रो दृष्टिकोणमाथिको प्रश्न हो। र हात्तीको नाममा प्रकृतिमाथि गरेको अतिक्रमणलाई ‘वितण्डा’ भनेर पन्छाउने हाम्रो सुविधाजनक सोचमाथिको पनि प्रश्न हो।
फिल्म सकिएपछि एउटा कुरा भने मनमा बसिरहन्छ, समस्या सायद ‘तिनीहरू’मा होइन, ‘तिनीहरू’ भन्ने हाम्रो नजरमै छ।
त्यसैले यो फिल्म हेरेर पछुताउनुपर्ने कारण छैन। बरु, केही पुराना धारणामाथि पछुताउने ठाउँ भने अवश्य छ।
प्रकाशित: १८ भाद्र २०८३ १९:२२ बिहीबार