सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘विद्यालयमा कुलपति’ तथा कविता वाचन कार्यक्रम गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले सबै आआफ्नै मातृभाषा लागिपर्नु पर्ने बताए।प्रत्येक जातजातिका आआफ्नै मातृभाषा छन्। सबैले आआफ्नै मातृभाषामा कविता लगायतको लेखन कार्य गर्न सक्नुपर्छ। महाकुलुङमा कुलुङ भाषाको बाहुल्य रहेको छ। कुलुङभाषी विद्यार्थी र साहित्य सर्जकले यसै भाषामा साहित्य सिर्जना गर्न प्रेरित गरेका थिए।
महाकुलुङ गाउँपालिका आफैँमा स्थानीय सरकार भएकाले कुलुङ लगायतका भाषाको संरक्षण र सम्बर्द्धन गर्न ‘महाकुलुङ प्रज्ञाप्रतिष्ठान’ गठन गर्न सुझाएका थिए। उनले मातृभाषा बाँचे मात्र देश सांस्कृतिक रूपमा समृद्ध हुने बताए।
सगरमाथा माविका विद्यार्थीबिच संवाद गर्दै कुलुङ भाषा लगायतका विद्यार्थीले आआफ्नो मातृभाषामा कविता लेख्न उत्प्रेरित गरेका थिए।
सबैले नेता, कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर र प्रहरी आदिलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताए।
विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी ले उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र प्राज्ञिक संरचनाबारे प्रकाश पार्दै नेपाली र अङ्ग्रेजीसाथै आआफ्ना मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाएका थिए। जसले मातृभाषामा कलम चलाउँछ, उसको कविता लगायतको सिर्जना अब्बल हुने बताउँदै आफूले पढ्ने पुस्तकको लेखक को हो? विद्यार्थीले चिन्नुपर्ने बताएका थिए।
विशिष्ट अतिथि महाकुलुङ गाउँपालिका बुङ, सोलुखुम्बुका अध्यक्ष सूर्यबहादुर कुलुङले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति लगायत प्राज्ञिक व्यक्तित्वहरू गाउँगाउँ र स्कुलस्कुलमा आउनु भनेको भाषा, साहित्य, संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा मिल्नु हो। यसबारे अध्ययन गरेर महाकुलुङ प्रज्ञाप्रतिष्ठान स्थापना गर्दै यस क्षेत्रको मातृभाषा र साहित्यको विकासमा लागिपर्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान राईले स्वागत मन्तव्य राखेका थिए।विद्यार्थीबाट ‘हाम्रो कुलुङ: मेरो कुलुङ’ बोलको पालिका गानका साथै नृत्य र गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, अङ्ग्रेजी र कुलुङ भाषामा कविता वाचिएको थियो। जसमा कवि तिलक बाहिङ राईले ‘लालीगुँरास’ र कवि मनुहाङ किरातीले ‘नेपालीको चिनारी’ शीर्षकको कविता वाचेका थिए।
प्राज्ञ चेतनाथ धमलाका अनुसार उक्त विद्यालयकी कक्षा ७ की छात्रा अमृता कुलुङले कुलपतिको स्वागतार्थ नेपाली भाषामा ‘ज्ञानको ज्योति’ शीर्षकको कविता वाचेकी थिइन्।
दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अङ्ग्रेजी भाषामा आआफ्नो कविता प्रस्तुत गरेका थिए।
यसैगरी जेनी कुलुङले (नेपाली र कुलुङभाषा) र प्रिन्सा कुलुङले कुलुङभाषामा कविता वाचेका थिए।
प्रकाशित: २४ मंसिर २०८२ ०७:०९ बुधबार