कला/साहित्य

अंश खाने वंश मार्ने पापी हो कि होइन!

मुक्तक

१) मुक्तक

नयाँ सरकार अब कसरी अगाडि बढ्छ हेर्दै थिए

हित चित्त मिल्नेहरूजति दरो अङ्गालोमा बेर्दै थिए

आमूल परिवर्तनै ल्याई दिएपछि के हुनु थियो र

राम्रोराम्रो ठाउँ रोजी रोजी नातेदारहरू फेर्दै थिए।

२) मुक्तक 

कुनै सीप नहुने मान्छे काम कहिले लाउने हो

मुखमा माड छैन रोटी जाम कहिले लाउने हो

अर्का कहाँ पुगी सके उसलाई केही थाहा छैन

यस्ता लफङ्गाको घैंटामा घाम कहिले लाउने हो?

३) मुक्तक 

राम्रोराम्रो यता पार्ने पापी हो कि होइन

दोष जति उता सार्ने पापी हो कि होइन

कसैले झुट्टाभन्दा बोल्न जान्दैन कहिल्यै 

अंश खाने वंश मार्ने पापी हो कि होइन।

४) मुक्तक 

विपक्षी भए पनि मसक्क हाँस्न बेर लाउँदैनन्

पार्टीको सिद्धान्त र विचार मास्न बेर लाउँदैनन्

कसले कसको विश्वास गर्न सकिन्छ र अचेल

स्वार्थ मिल्यो भने चोसोमोसो गाँस्न बेर लाउँदैनन्।

५) मुक्तक 

गुपचुप छैन लुटेर खाने धन्दा हाकाहाकी छ

एउटाले नसकेर हुलै बाँधेर डाकी डाकी छ

यस्ता भ्रष्टाचारीहरूको शासन कति दिन चल्छ र

ग्रहणै लागे पनि त्यो चाँदीको घेरा अझै बाँकी छ।

६) मुक्तक

जोजो कुर्चीमा थिए उसैको मात्र मानठान थियो

कुर्चीमा पुग्न सकेमा मात्र मानठान हुने ज्ञान थियो

कुर्चीमा पुगेपछि जस्तै इच्छा पनि पूरा हुने भएको हुँदा

जहिल्यै काम गर्ने भन्दा पनि कुर्चीमा पुग्ने ध्यान थियो।

७) मुक्तक

खोइ कहाँ पुगेका छन् र धनको पछि दगुर्नेहरू

मिठो खान पाइयो भन्दैमा दुवै हातले हसुर्नेहरू

खाली हात आइयो खाली हातै जाने हो मसानघाटमा

जिउँदो जाग्दो साक्षी मलामी छन् लास घाटमा पुर्नेहरू।

८) मुक्तक 

प्राणीको जुनीमा मान्छेभन्दा अर्को एडभान्स छैन

हाम्रो मन रिझाउने हाम्रैभन्दा अर्को डान्स छैन

एकपटक मौका दिन्छ भाग्यले पनि सबैलाई

एकपटकभन्दा अर्को पटक कुनै चान्स छैन।

९) मुक्तक

तिम्रो दामी ठूलाबडा नाम के नाम भयो

कसैले दक्षिणा दिएको रित्तो खाम भयो

मेरो मुटु दुख्दाखेरी तिम्रो मुटु दुख्दैन भने

मलाई दिएको तिम्रो मुटु के काम भयो?

१०) मुक्तक 

बस्नुपर्छ अगेनोमा आगो फुकी तिमी आउँदाखेरि

जिन्दगीमा कतै एक्लै पर्ने हुँ कि तिमी आउँदाखेरि

तिमी आए पनि सात समुन्द्र पारीबाट आउने हो

बढ्छ जहिल्यै मनको ढुकढुकी तिमी आउँदाखेरि।

- तेजबहादुर गुरुङ (च्हाक्ली तमु)

प्रकाशित: १० श्रावण २०८३ १४:०० आइतबार