कला/साहित्य

अन्तर्ध्वनि

लघुकथा

‘तिमी शक्तिशाली कि म?’ अप्रत्यासित आवाज उसको कानमा ठोक्कियो।

उत्तर दिनुको सट्टा उसले प्रतिप्रश्न गर्‍ याे, ‘तिमी को हौ?’

सन्की पारामा उत्तर आयो, ‘अरे, मलाई चिनेनौ? म विज्ञान  र प्रविधि हुँ,संसार जित्ने म एक्लो बृहस्पति!’

उसले तर्क गर्‍याे, ‘चेतनशील र विवेकशील प्राणी मानवभन्दा तिमी कसरी ठूलो भयौ?’

हाँसोको अट्टहासभित्र आवाज घन्कियो, ‘मैले चाहे भने संसारका हर सुख, सुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै  तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।’

ऊ झसङ्ग भएर बिउँझियो। आँखा मिच्यो। घडी हेर्‍याे, रातको २ बजेको रहेछ।

‘हैट! सपना पो रहेछ’ भन्दै फेरि निदाउने प्रयत्न गर्दै थियो।

उसको मष्तिष्कभरि एकनासले कुरा खेलिरह्यो, ‘आखिर ऊ पनि त मानिसकै  चेतनाको उपज न हो।’

प्रकाशित: २१ भाद्र २०८३ ०९:३५ आइतबार