१) मुक्तक
निराश छन् हार खाइसके नेता देखेर
पाउनुसम्म दुःख पाइसके नेता देखेर
नेता बन्न खोज्यौ भने तिमी पनि सकिनेछौ
नेपाली जनता अघाइसके नेता देखेर।
२) मुक्तक
संसारमा कसैको मर्म नबुझ्नेहरू
के गर्छन् आखिर कर्म नबुझ्नेहरू
कुन सत्यले यस्तो बाटो रोज्न भन्छ?
द्वन्द्व मच्चाउँदै छन् धर्म नबुझ्नेहरू।
३) मुक्तक
कोही तोडफोड गरेका छन् के हुँदै छ देशमा?
कोही लम्पसार परेका छन् के हुँदै छ देशमा?
सुरक्षा किन कमजोर भयो? बढेको छ त्रास
निर्दोष जनता मरेका छन् के हुँदै छ देशमा?
४) मुक्तक
नजिक सर्ने तरिका फरक हुन सक्छ
बाँच्ने मर्ने तरिका फरक हुन सक्छ
धन देखेर मन बदल्ने संसारमा
माया गर्ने तरिका फरक हुन सक्छ।
५) मुक्तक
कुनै बन्धन छैन, पासो छैन
हुनै पर्ने यी ओठमा हाँसो छैन
म त आफ्नाहरूबाट हेपिएको मान्छे
अरूसँग केही गुनासो छैन।
६) मुक्तक
सम्झिने तरिका फरक हुन सक्छ
बिर्सिने तरिका फरक हुन सक्छ
होसियार! यी छेपाराहरूसँग
दुःख दिने तरिका फरक हुन सक्छ।
७) मुक्तक
अप्ठ्यारोमा पार्याैं भने देशले हार्नेछ
भोका जनता मार्याैं भने देशले हार्नेछ
पुराना नेता हारे देशलाई पनि हराए
तिमी पनि हार्याैं भने देशले हार्नेछ।
८) मुक्तक
सुन्न सक्तिन अहिले बात के गर्नु
छन् साथमा थुप्रै हात के गर्नु
बाँच्न सक्ने बेलामा कोही भएन
मरिसकेपछिको जमात के गर्नु।
९) मुक्तक
राम, सीता र सरुलाई ठिक छ भन्नुपर्छ
आफ्ना हुन या अरुलाई ठिक छ भन्नुपर्छ
पीडामा छु भन्यो भने रिप्लाई आउँदैन
खबर सोध्नेहरूलाई ठिक छ भन्नुपर्छ।
१०) मुक्तक
सकेनौं दाइ भन्न खुलम खुल्ला
सकेनौं भाइ भन्न खुलम खुल्ला
मेरो खुसीमा के खुसी भएको नाटक गर्छौ
सकेनौं बधाई भन्न खुलम खुल्ला।
प्रकाशित: २४ श्रावण २०८३ ०८:२७ आइतबार