असोज १६ गतेबाट प्रर्दशनमा आउन लागेको ‘चंगुल’ चलचित्रसँग घाइते जेन-जी नेपाल संस्थाले सहकार्य गर्ने भएको छ।
चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस्ले चलचित्रको रिलिजपछि आएको मुनाफाको केही भाग घाइते जेन-जीहरूलाई सहयाेगार्थ दिने भनी केही दिनअघि प्रस्ताव पठाएको थियो र त्यही प्रस्तावमाथि घाइते जेन-जी नेपालले उक्त सहकार्य स्विकारेको संस्थाका अध्यक्ष बादल राईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
जेन-जी आन्दोलन किन भयो र त्यस अघि र पछिको अवस्था चलचित्रमा चित्रण गरिएको छ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ। चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ। त्यस्तै देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको छ।
प्रकाशित: २१ भाद्र २०८३ १३:५३ आइतबार