कलाकार बसुन्धरा भुसालका लागि यस वर्षको दशैँ विगतका वर्षहरूजस्तो उत्साहपूर्ण छैन । भोटेकोशी बाढीले निम्त्याएको जनधनको क्षति, आफन्त गुमाएका परिवारको पीडा र घरबारविहीन हुनुपरेका प्रभावितहरूको अवस्थाले उनलाई चाडपर्व भड्किलो ढङ्गले मनाउन उचित लागिरहेको छैन ।
‘विगतका दशैँमा अलि बढी उत्साह हुन्थ्यो, यसपालि देशमा विपत्ति आएको छ । धेरैका परिवार आफ्न्तजन परिवार बित्नुभएको छ, घर सबै मासिएको छ,’ उनी भन्छिन्, ‘त्यसकारण मैंले तीज पनि भड्किलो गरिनँ । दशैँमा पनि कुनै रमाइलो वा भड्किलो उत्सव गर्ने मन लागेको छैन ।’
उनका लागि दशैँको महत्त्व अग्रजको हातबाट टीका लगाउनु, आशीर्वाद लिनु र आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुमा छ । तर अहिलेको परिस्थितिमा नाचगान, नयाँ लुगा र तडकभडकलाई प्राथमिकता दिनु उपयुक्त नहुने उनको धारणा छ ।
भुसाललाई बाल्यकालको दशैँ भने निकै रमाइलो लाग्थ्यो । त्यतिबेला नयाँ लुगा लगाउन, मीठो खान र दक्षिणा पाउन दशैँ कुर्नुपर्थ्यो । दक्षिणामा पाइने स–साना पैसा गन्ने र चार–चार पैसाका सिक्का मालामा उन्ने सम्झना पनि उनीसँग ताजै छ ।
‘पहिला मासु खान पनि दशैँ कुर्थे मान्छेहरू । अहिले त सधैँ नयाँ लुगा लगाउन र मासु खान पाइन्छ,’ उनी भन्छिन् ।
उनका अनुसार दशैँको अर्को सुन्दर पक्ष भनेको आपसी मनमुटाव बिर्सेर आफन्तकहाँ पुग्नु र टीका लगाउनु हो । जतिसुकै रिसराग भए पनि दशैँमा भेटघाट गर्ने नेपाली परम्पराको आफ्नै महिमा रहेको उनी बताउँछिन् ।
यस वर्षको दशैँमा भने उनी भोटेकोशी बाढी पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छिन् । दुःखमा रहेका परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने उनको कामना छ ।
प्रकाशित: ४ कार्तिक २०८३ १६:०८ बुधबार