कला/साहित्य

प्रतिछविहरू

कथा

भारतीय सिनेजगत्का महानायक भनेर चिनिने अमिताभ बच्चनले एउटा व्यापारिक विज्ञापनमा आफ्नो वास्तविक जीवनका बुबाआमाको तस्बिर हेर्दै भन्छन्– ‘आमाबुबा कतै जाँदैनन् । हामी ठान्छौँ कि उनीहरू गइसके, जबकि उनीहरू कहिले हाम्रै ओठबाट मुस्कुराउँछन्, कहिले हाम्रो हिँड्ने शैलीमा झल्किदिन्छन्, कहिले तपाईंकै छोराछोरीका नाक देख्दा झस्काइदिन्छन्, कहिले नातीनातिनाको आँखाभित्र लुकिरहेझैं लाग्छ । कहिले हाम्रै मुखबाट अनायास निस्किने ती शब्दहरूले आफैंलाई अचम्भित तुल्याइदिन्छन् । ओहो ! यी त उहाँहरूको मुखबाट निस्कने शब्द पो हुने गर्थे त । कहिले हामीले महसुस गर्ने ती अप्ठ्यारापनमा, बाल्यकालमा बोलाइने ती अनेक नाममा, कतै फोटाहरूमा, कतै तारिखमा गहिरिएर हेर्‍यौं भने हामीभित्रै यतैकतै हुन्छन् आमाबुबा।’

पहिले माथिको यो विज्ञापनले के दर्साउन खोजेको हो भन्ने बुझिनँ तर जबदेखि बुबा बित्नुभयो, यी कुराहरू नै अर्थपूर्ण लाग्न थाले । दमका कुनै बिरामी देख्यो कि बुबा हुन् कि भन्ने लाग्दोरहेछ । कसैले ‘छोरी’ भनेर बोलाउँदा मन रसाएर आउने । अनि अब उप्रान्त ‘बुबा’ नामबाट कहिल्यै फोन आउँदैन भन्ने कुरामा बेखबर बनी फोनबाट उहाँको ‘बुबा’ शब्द हटाउनै मन नमान्ने । कहिले उहाँसित जोडिएका सामग्री सँगाल्ने, मोबाइलको वालपेपरमा फोटो राख्न मन लाग्ने । बाँचुन्जेल उहाँको जन्मदिन, जन्मबार, महिना कुन हो भन्नेतिर कहिल्यै वास्ता नगर्ने मेरो यो स्वभावजस्तै, शतप्रतिशत नभए पनि सामान्यतया हामी सबै यस्तै–यस्तै बानीव्यहोरा बोकेका छोराछोरीमै पर्छौं।

कहिले हामी आमाबुबालाई सोध्छौं र– ‘तपाईं के बन्न चाहनुहुन्थ्यो ? तपाईंका रहर, चाहना के–के थिए ? किन सबै छोड्दै, बिर्संदै जानुभयो ?’

अँह ! नगण्यले मात्र सोध्छन् होला । सामान्यतया यी कुराहरूमा कसैको ध्यानै रहँदैन । नब्बे वर्ष पुग्दै गरेका एक जना हजुरबुबा उमेरका व्यक्ति भन्दै हुनुहुन्थ्यो– ‘नानी, मलाई साहित्य औधी मन पथ्र्यो । कविता, गीत, कथा नानीहरूकै उमेरमा कोरेँ पनि, केही छापिए पनि । तर समय बित्दै गयो । पारिवारिक जीवन, जागिरे जिम्मेवारीबिच छोराछोरीका रहरहरूमा आफ्ना ती रहरहरू पुरिँदै गए । जीवनको भागदौडमा आफ्ना व्यक्तिगत रुचि र चाहनाहरूका लागि समय दिनै भुलेछु।’ यो ती हजुरबुबाका अनुभूति मात्र कहाँ हुन् र ! यी त हाम्रै आमाबुबाहरूका प्रतिछवि हुन सक्छन् ।

एकजना वृद्ध आमा बिदाको दिन पारेर आफूलाई भेट्न पुगेकी छोरीलाई भन्छिन्– ‘तिमी आजै जान्छ्यौ ? केही दिन बस न।’

 यस्तैमा अँध्यारो मुख लगाएकी आमालाई अँगाल्दै छोरी भन्छे– ‘पिर नगर, म फुर्सद मिलाएर आइहाल्छु फेरि । हाम्रो फोनबाट भिडियो कलमा कुराकानी भइहाल्छ नि’ भन्दै फकाउँछे र पुनः उही दिनचर्यामै व्यस्त हुन्छे । उता माइतीमा वृद्धावस्थाकी आमा भने उसको फोन आउला, कुरा गरौंला भनेर कुरिबसेकी हुन्छिन् भन्ने कुरा व्यस्तताबिच छोरीको ध्यानमै रहँदैन । यस्तैमा आफैं छोरीलाई फोन गर्छिन् तर जवाफमा ‘अहिले मिटिङमा छु, एकैछिनपछि फोन गर्छु है आमा’ भन्दै दिनभरि फोन गर्न भुसुक्कै बिर्सिन्छे । उता आमा भने ‘छोरीले एकैछिनपछि फोन गर्छु भनेकी छे, अहिलेसम्म गरिन । ऊ ठिक पो छे कि छैन ?’ भन्दै पिर मान्दै घरिघरि फोन आउने प्रतीक्षामा राति अबेरसम्म भए पनि फोन गर्छे कि भन्ने ठानी फोन साथैमा राखेर सुत्छिन् । संयोगवश त्यही दिनको मध्यरातमा अचानक छोरीलाई कसैको फोन आउँछ । उनी अतालिँदै आमा लगिएको अस्पतालमा पुग्छिन् तर अबेर भइसकेको हुन्छ । अर्थात् उनकी आमाले सदाका लागि बिदा लिइसकेकी हुन्छिन्।

सामाजिक सन्देश बोकेको यो छोटो कथा हेरेको प्रभावस्वरूप मैले दिनमा जसरी भए पनि बुबाआमासँग कुराकानी गर्न बानी नै पार्न थालेँ । अझ भ्याएसम्म बुबाको कोठामै बसेर उहाँका विगतका कुरा सुन्ने, आफ्ना पनि कुरा सुनाउने गर्थें । यदि मैले बिर्सिए पनि बुबाले फोन गरिहाल्नुहुन्थ्यो– ‘छोरी, तिमी ठिक छ्यौ ? तिम्रो फोन आउला भनेर कुरेको, नगरेकाले गरिहालेको । कता छ्यौ?’

प्रविधिले निकै ठुलो फड्को मारिसकेको वर्तमान समयमा हामी पनि प्रविधिमैत्री भइसकेका छौं । जति नै टाढा एक्लै पुग्नुपरे पनि आफ्नै निजी सवारीसाधन हुनैपर्छ भन्ने जरुरी छैन । सार्वजनिक यातायातको भिडभाडमा यात्रा गर्न मन नभएमा इनड्राइभ, पठाओ जस्ता एप डाउनलोड गरी कहाँबाट कता पुग्न, कति तिर्नुपर्छ त्यसको विवरण बुझ्न सकिने मात्र होइन, अनलाइनमै मोलमोलाइ गर्न, प्रत्यक्ष चालकसित कुरा गर्न आवश्यकै नपर्ने गरी सबै कुरा फोनबाटै निर्धारित गर्न सकिन्छ । नयाँ एसी भएको साधनमा जाने कि बजेट सुहाउँदो मध्यम किसिमको साधनमा जाने ? त्यसका चालकसहितको सवारीसाधनको नम्बरसमेत हेरी हामी आफ्नो गन्तव्य रोज्न सक्छौं । कति सहज, सर्वसुलभ बनिसकेको छ आजभोलि हाम्रो जीवनशैली!

सम्झनुस् त, जो असी–नब्बेको दशकमा जन्मेका हुन्, उनीहरूले अहिलेझैं यस्तो सर्वसुलभ यातायात सुविधाको कल्पना गरेका थिए र ? सार्वजनिक सवारीसाधनको नाममा रत्नपार्कमा न्यूनतम रुपैयाँमा पाइने साझाबस, त्योभन्दा अलि मोल लाग्ने मिटरवाला टेम्पो, ट्याक्सी, नत्र आफ्नै निजी सवारीको प्रयोग गर्नुपर्ने । यी सबैका बिच मैले भने सायद केही फरक अनुभव गर्न पाएँ । त्यसका कारक हुनुहुन्थ्यो, काठमाडौंको मुटु भोटाहिटीका रैथाने नेवार मेरा बुबा, जो मेरा लागि अहिलेको गुगल म्यापजत्तिकै हुनुहुन्थ्यो । कहीं पुग्नुछ भने सवारीसाधनमा भन्दा पनि छोटो, सहज सहरी क्षेत्रका भित्री बाटो प्रयोग गर्न लगाउने । यसले दुरी पनि कम हुने, हिँड्ने बानी पनि लाग्ने । सहरी क्षेत्रभित्रका चोकगल्ली, लिच्छविकालीन समयदेखि भनिएका हालसम्म विद्यमान विश्वसम्पदा सूचीमा सूचीकृत खुला संग्रहालयजस्ता भित्री बाटो प्रयोग गर्न बुबाले लगाइदिनुभएको त्यो बानीले गर्दा अहिले भन्नुपर्दैन कि ‘अहँ ! मलाई मेरै जन्मस्थानभित्रका चोकगल्ली, बाटा, दोबाटा, मठमन्दिरबारे जानकारी छैन।’

यिनले बुबाको प्रसंग किन ल्याएकी होलिन् भन्ने सोच्दै हुनुहोला । कारण उही, बितेपछि सम्झनाको भारी झन् गह्रौं हुने मानवीय प्रवृत्तिबाट कहाँ अछुतो रहन्थेँ र ! खैर, सानैमा टुहुरा बन्न पुगेका बा नेवारका छोरा भए पनि जन्मदाता आमा भने ब्राह्मण कुलकी कन्या थिइन् रे । साँच्चै ! मेरा हजुरबुबाले २००७ सालअघि प्रजातन्त्रको उदय नै नभएको त्यतिबेलाको समाजमा, भोटाहिटीजस्तो सहरको मुख्य केन्द्रविन्दुका बासिन्दाले त्यसरी समुदायभन्दा बाहिरकी कन्यासँग प्रेमविवाह गर्दा केकस्तो सामाजिक दुव्र्यवहार सहनुपरेको होला ? त्यो त बुबाले कहिल्यै खुलाएर भन्नुभएन । केवल भन्नुहुन्थ्यो– ‘हजुरआमा बित्दा बुबा मात्र पाँच वर्षको हुनुहुन्थ्यो रे।’

लगत्तै केही वर्षमै एकमात्र सहारा हजुरबुबा बित्नुभएसँगै परिवारको नाममा एक्लो हुन पुग्नुभएका बाले बाह्र–तेह्र वर्षकै उमेरदेखि चुरोट पिउन थाल्नुभएछ । यसैको प्रतिफल बुबा दमका रोगी हुनुभयो।

दमले सताइरहेका बुबालाई बेलाबेलामा दम बढ्दा बोल्न सकस हुन्थ्यो । म उहाँसित बढी कुराकानी गर्ने भएकाले होला, बुबा आफ्ना बाल्यकालदेखि विगतका सबै प्रसंग सुनाउनुहुन्थ्यो, जसका बारेमा उहाँ हत्तपत्त कसैसित खोल्नुहुन्नथ्यो । यसैको असर मेरो भर्खरभर्खरै थालेको लेखनमा पनि पर्न गएको थियो । बुबा भन्नुहुन्थ्यो– ‘म तिम्रो पाठक हुँ।’

यो कुरा व्यवहारमै देखाउनुभयो । छोरीका आलेख प्रकाशित भएछन् भने आफैं बजार पुगेर पत्रिका किनी, आँखाले भ्याएसम्म पढ्नुभएपछि त्यसलाई जतनका साथ राख्नुहुँदो रहेछ भन्ने तथ्य बुबा बित्नुभएपछि उहाँको दराजमा ती आलेखहरूको संकलन नै पाएपछि थाहा भयो।

सामान्यतया दमका बिरामीलाई विशेष रूपमा मन्दिरमा बालिने अगरबत्तीका धुवाँबाट टाढै रहनु भन्ने सुझाव चिकित्सकले दिएका हुन्छन् । बुबा दमका बिरामी हुनुभएकाले उहाँमा पनि यो लागु हुने नै भयो । त्यसैले केही वर्षदेखि बुबा एकाध रूपमा कसैको साथमा घरबाहिर जानुभए पनि मन्दिर जानबाट सकेसम्म रोक्थ्यौं । तर उहाँ मेरो जन्मदिनका दिन भने हरहालतमा मन्दिर पुग्ने बानी परिसकेकाले त्यस दिन ‘तिम्रो जन्मदिनको तारिख कुन बारमा परेछ, क्यालेन्डरमा चिनो लगाइराख्छु अनि त्यो दिन बुबाछोरीसँगै मन्दिर पुगौंला’ भन्नुहुन्थ्यो । बुबालाई रोक्दैमा मान्नुहुन्न भन्ने थाहा भएकाले ‘हुन्छ, साथमा जाऔंला बुबा’ भन्थेँ।

नियतिले जन्मदिनका दिन बुबासँग जान मात्रै होइन, अब उप्रान्त त्यो दिनलाई बिर्सनै नसकिने पीडा दिएर गयो । त्यस दिनको प्रतीक्षारत बुबालाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्‍यायौं । जाँचपछि डाक्टरले बुबाले अक्सिजन लिइरहनुभएको अनुपातमा शरीरभित्रको कार्बन डाइअक्साइड बाहिर फ्याँकिरहने प्रक्रियामा अवरोध पुगेकाले बाहिरिन नसकेका ती कार्बन डाइअक्साइड बिस्तारै शरीरमा सञ्चित हुन पुगेर यसैका प्रभावले छातीका मांसपेशीहरू कडा हुँदै श्वासप्रश्वासमा समस्या देखिएकाले तत्कालै उहाँलाई कृत्रिम रूपमा श्वासप्रश्वास दिइने मेसिन भेन्टिलेटरमा राखिहाल्नुपर्ने, नत्र उहाँको अवस्था झन् गम्भीर हुँदै जाने जानकारी दिए । साथै आश्वस्त पार्दै भने– ‘औसतमा दश जना बिरामीलाई भेन्टिलेटरमा राखी उपचार गर्दा आठ जना पूर्ण निको भएर घर फर्किन्छन् । यसमा राखिने समयावधि सुरुवातमा बहत्तर घण्टा, त्यसपछि बिरामीको अवस्था हेरी थपघट गर्नुपरेमा थप पाँच दिन वा हप्तादिन कति दिन बढाउन आवश्यक हुन्छ, सो बिरामीको स्वास्थ्यसुधारमा निर्भर हुन्छ । तर यसरी बिरामीलाई भेन्टिलेटरको अवधि पुनः बढाउने कि नबढाउने भन्ने निर्णय अनिवार्य रूपमा परिवारको इच्छाबमोजिम मात्र गरिन्छ । यसमा डराइहाल्नुपर्ने छैन।’ यति भनेसँगै बुबालाई अस्पताल पुर्‍याएको केही घण्टा नबित्दै भेन्टिलेटरमा राखियो ।

‘नमरी स्वर्ग देखिँदैन’ भनेझैं जबसम्म आफूमाथि आइपर्दैन, तबसम्म नबुझिने रहेछ । यसअघि सुन्दै–देख्दै आएको भेन्टिलेटरले दिनसक्ने मानसिक, शारीरिक र यसको प्रयोगको उच्च मूल्यका कारण थपिने ठुलो आर्थिक भार ! आधुनिक चिकित्साप्रणालीमा बिरामीको जीवनरक्षक मानिने भेन्टिलेटरको प्रयोग विश्वका विकसित मुलुकहरूमा उन्नाइसौं शताब्दीतिर भइसकेको रहेछ । समयसँगै यसको प्रभावकारी पक्षलाई ध्यानमा राखी यसको बनोट र स्वरूपमा परिवर्तन हुँदै बिरामीलाई गरिने उपचारमा महँगो मानिने भेन्टिलेटर आजको अवस्थासम्म आइपुगेको रहेछ । सुरुवाती चरणमा विश्वका सीमित मुलुकका अस्पतालहरूले मात्र प्रयोग गरेसँगै एक्काइसौं शताब्दीसम्म आइपुग्दा यसको प्रयोग युरोप तथा एसियाली देशहरूमा विस्तारित हुँदै वर्तमान समयमा नेपालका अस्पतालहरूले पनि यसको प्रयोग तीव्र गतिमा गर्न थालेका रहेछन् । तर जति अत्याधुनिक प्रविधि, त्यति नै त्यसको प्रयोग गर्दा उच्च मूल्य तिर्नुपर्ने । जुन मध्यम आय भएका परिवारका लागि ठुलो आर्थिक भार थपिने त छँदै छ । यसअलावा बुझ्नैपर्ने कुरा– यसको प्रयोग गर्दा बिरामीले भोग्ने असीम शारीरिक पीडा, जसलाई देख्न र सहन सम्बन्धित बिरामीका परिवारका लागि समेत कठिन पर्ने हुन्छ।

हामी प्रायः देख्छौं, भेन्टिलेटरमा राखिएका बिरामी बेहोसी अवस्थामा हुन्छन् । यसको कारण रहेछ– भेन्टिलेटर जडान गर्नुपर्ने बिरामीले स्वस्फूर्त रूपमा श्वास लिन नसक्नु । यस अवस्थामा उसको श्वासप्रश्वास नियमित गर्न बिरामीको मुखबाट सिधै पाइप लगी फोक्सोसम्म पु¥याई श्वासप्रश्वासलाई नियमित बनाइन्छ । यसअलावा बिरामीलाई औषधि, खानालगायत अन्य स्वास्थ्य परीक्षणका लागि आवश्यक अरू तीन प्रकारका पाइपहरू पनि मुखभित्रबाटै जडान गरिन्छ । यी कार्य बिरामी होसमै रहेको बेला सम्भव नहुने भएकाले सुरुमा बिरामीलाई पूर्ण रूपमा अचेत पारी भेन्टिलेटर जडान गरिन्छ र जडान गरिसकेपछि निश्चित समयावधिपश्चात् बिरामीलाई क्रमैसँग होसमा ल्याइन्छ । यसरी भेन्टिलेटरको सहायतामा राखिएको बिरामीको हेरविचार चौबिसै घण्टा सम्बन्धित चिकित्सक र नर्सहरूको प्रत्यक्ष निगरानीमा रहने, संक्रमणबाट जोगाउन बाहिरी सम्पर्कमा रहेका चीजवस्तुबाट टाढै राखिने हुन्छ । अर्थात्, भेन्टिलेटरमा रहुन्जेल बाहिरी खाद्यवस्तु लगायतका कुरा दिन वा खुवाउन नमिल्ने मात्र नभई बिरामीलाई चाहेको समयमा भेटघाट गर्नसमेत चिकित्सकको अनुमतिमा बिहान–बेलुकी गरी बढीमा एक मिनेटको समयावधिमा अस्पतालले उपलब्ध गराएको पहिरन लगाएपछि मात्र भित्र प्रवेशको अनुमति पाइने भएपछि बिरामीका परिवार विवश भई बाहिर अधैर्यसाथ प्रतीक्षा गर्नुको विकल्प नै रहँदैन।

बिहान दश बजे र साँझ पाँच बजेपछि डाक्टरको राउन्ड सकिएपछि बढीमा एक मिनेटको समयभित्र बुबालाई हेर्न पाइन्थ्यो । दिनभरिमा केवल एक मिनेटको समयसीमा ! दिन बित्दै जाँदा बुबालाई पनि केही होसमा राख्न थालियो । हामी देख्नेबित्तिकै बुबा ‘घर लैजाऊ’ भन्नुहुन्थ्यो । तर बुबाको शरीरले औषधिलाई राम्ररी रेस्पोन्स गर्न नसकिरहेको, यद्यपि श्वासप्रश्वास भेन्टिलेटरको माध्यमबाट निरन्तर चलिरहेकाले अवस्था यसै हो भन्न नसकिने भन्ने आश्वासनका शब्दहरू मात्रै सुन्दै थियौं ।

न बुबासँग राम्ररी कुरा गर्न पाउँथ्यौं, न साथमा बस्न मिल्थ्यो । ‘आज ठिक होला, भोलि होला, बुबा घरमा झैं बोल्नुहोला’ भन्ने आशाका किरणहरू समयसँगै निराशामा परिवर्तित हुँदै थिए । ‘निभ्न लागेको बत्ती धपक्क बल्छ’ भनेझैं बुबाको जीवनको अन्तिम दिन बन्न पुगेको त्यो दिन, त्यही क्यालेन्डरमा चिनो लगाएको दिन आइपुग्यो, जसको प्रतीक्षामा बुबा हुनुहुन्थ्यो । उहाँसित गरेको वाचा पूरा गर्न एक्लै मन्दिर पुगी फर्कें । लगत्तै निधारको रातो टीका देख्दा बुबालाई जन्मदिन आएको सम्झना आउला, मन खल्लो होला भन्ने डरले उहाँको सामुन्ने पुग्नुअघि निधारको टीका पखालेँ ।

त्यस दिन उज्यालिएको मुहारमा बुबाले म देख्नेबित्तिकै नर्सले खुवाउँदै गरेको खानातिर औंल्याउँदै ‘खुवाइदेऊ’ भनेर आग्रह गर्नुभयो । तर एक–दुई गाँस खुवाउन नपाउँदै रोक्दै ‘पानी पिलाइदेऊ छोरी’ भन्नुभएको त्यो नै उहाँको जीवनको अन्तिम गास र पानीको अन्तिम घुट्को बन्न पुग्यो । सोही दिन बितेको मध्यरात कट्न नपाउँदै बुबा सदाका लागि अस्ताउनुभयो ।

जीवित छँदै बुबाले आमासामु इच्छा जाहेर गर्नुभएको रहेछ– ‘आफूलाई ब्रह्मनालको चिरनिद्रामा राख्दा तुलसीको सिरानी राखिदिनु।’

त्यस दिन आमाले हातमा राखिदिनुभएको तुलसीको टकिया मैले निष्प्राण निदाइरहेका मेरा बुबाको सिरानीमा राखिदिएँ । पाँच वर्षकै उमेरमा मातृत्वविहीन हुन पुगेका मेरा बाले आफ्नी जन्मदाता आमा ब्राह्मण कुलकी कन्याकी सन्तान हुनुको यथार्थ आफैंभित्र राख्नुभएको रहेछ सायद । अनि उही व्यापारिक विज्ञापनमा भनेझैं...!

प्रकाशित: २ जेष्ठ २०८३ ११:२६ शनिबार