कला/साहित्य

‘आलोकमय सूर्य’लाेकार्पण

सूर्योदय भूतपूर्व विद्यार्थी समाजले ‘आलोकमय सूर्य’ काे लाेकार्पण गरेकाे छ। वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीले ‘आलोकमय सूर्य’ काे लाेकार्पण गरेका हुन्।

सूर्यप्रसाद लाकोजू साहित्य, साहित्यिक पत्रकारिता, शिक्षा, समाजसेवा र संस्कृतिका आलोक हुन्। उनले एकातिर नेपाली भाषा र साहित्यको विकास र विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् भने अर्कोतर्फ साहित्यिक अभियन्ता बनेर समग्र साहित्यिक क्षेत्रको उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

साहित्यिक पत्रकारिताको माध्यमबाट नवप्रतिभाहरूलाई अवसर प्रदान गर्ने, अग्रजहरूको अक्षरकर्मलाई पुस्तकका रूपमा प्रकाशित गर्ने काम उनले गर्दै आएका छन्।

वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीले  ग्रन्थनायक लाकोजू साहित्य, साहित्यिक पत्रकारिता, संस्कृति, शिक्षा क्षेत्रका उदाहरणीय व्यक्तित्व भएको बताए।

एक अर्को सन्दर्भमा उनीको निस्वार्थी अक्षरसेवी भएको पनि बताए। फुर्सद छैन भन्नेहरूका लागि सूर्यको काम प्रेरणा भएको विचार पनि उनले व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईले सूर्यको काम सूर्यजस्तै उज्यालो रहेको विचार पोखे।

त्यस्तै आलोकमय सूर्यमाथि बोल्दै  प्रमुख वक्ता प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले साहित्यिक एवम् सांस्कृतिक कृतिले विशिष्ट पहिचान बनाउँदै आएका प्रतिभाशाली लाकोजू ज्ञानरश्मि छर्दै आएका आलोकमय सूर्यप्रसाद हुन्। सूर्यलाई सबैले नमस्कार गर्छन् भन्दै लाकोजू बुझ्न ग्रन्थ उपयोगी रहने विचार पोखे।

अर्का प्रमुख वक्ता डा. ज्ञानु अधिकारीले ग्रन्थले सूर्य लाकोजूको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्ने काम गरेको विचार व्यक्त गरिन्। त्यस्तै ग्रन्थनायक सूर्यप्रसाद लाकोजूले आफूले अक्षरकर्म गर्दा कहिल्यै कुनै कुराको आशा नगरेको तर सत्कर्मको फल राम्रै हुने विश्वासले मूर्त रूप लिएको बताइन्।

त्यस्तै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कुनै क्षेत्रमा वरिष्ठ उमेरले होइन कर्मले हुने भएकाले सूर्य लाकोजू पनि कर्मले वरिष्ठ भएको भनाइ राखे।

कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी, वरिष्ठ साहित्यकारहरू मोहन दुवाल, वियोगी बुढाथोकी, ज्ञाननिष्ठ ज्ञवाली, तथा ग्रन्थसम्पादकद्वय भीमप्रसाद काफ्ले र रामसुन्दर देउजा, समीर खड्का, प्रभा कर्माचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सम्पादकद्वयले सूर्यप्रसाद लाकोजू साहित्य, साहित्यिक पत्रकारिता, शिक्षा, समाजसेवा र संस्कृतिका आलोक र साहित्यका अभियन्ता पनि हुन्। आलोकमय सूर्य नामक बृहत ग्रन्थ उनको अक्षरकर्मको प्रतिफल रहेको सम्पादक भीम काफ्ले र रामसुन्दर देउजाले बताए।

आलोकमय सूर्यमा शब्दचित्रमा सूर्यप्रसाद लाकोजू स्मरणीय सूर्यप्रसाद लाकोजू, कविताको आलोकमा सूर्यप्रसाद लाकोजू, मुक्तकमा सजिएका सूर्य लाकोजू, गीतको लयमा रमाउँदै कवि सूर्यप्रसाद लाकोजू, हाइकुमा गुराँस फुलाउँदै हाइकुकार सूर्य, बालसाहित्यमा रमाएका सूर्यप्रसाद लाकोजू, सांस्कृतिक आलोक सूर्यप्रसाद लाकोजू, नियात्राभित्रका सूर्य, स्मृतिको आँखीझ्यालबाट सूर्यप्रसाद लाकोजू, कथाभित्रका सूर्यप्रसाद लाकोजू, कविहृदयमा सूर्यप्रसाद लाकोजू, पत्रकारिता/साहित्यिक पत्रकारितामा सूर्यप्रसाद लाकोजू, सूर्यप्रसाद लाकोजूका केही साहित्यवार्ता गरी चौध खण्ड छन्।

यस ग्रन्थले सूर्य लाकोजूको साहित्यिक कर्म, सांस्कृतिक कर्म, साहित्यिक पत्रकारिताको कर्मबारे प्रकाश पारिएको छ। साहित्यकार भीमप्रसाद काफ्ले र साहित्यकार रामसुन्दर देउजाले सम्पादन गरेको ग्रन्थ ट्रान्सवल्ड पब्लिकेशनले बजारमा ल्याएको हो।

उक्त लाेकार्पण कार्यक्रममा साहित्यकार लाकोजूलाई अभिनन्दन समेत गरिएको थियो।  

प्रकाशित: १ भाद्र २०८२ ११:२५ आइतबार