१) गजल
जलेको छु आफैँभित्र, देखाऊँ म कसरी,
जे लेख्यो भाग्यले ललाटमा, मेटाऊँ म कसरी।
बहिष्कृत गर्यौ जुन दिलबाट निःशब्द निर्दयी भई,
त्यही उजाड हृदयभित्र फेरि आऊँ म कसरी।
परदेशी जीवन आफैँ अधुरो महाकाव्य बनेको छ,
सुखकै आवरण ओढी दुःख बताऊँ म कसरी।
'विप्लवी' मौनताको व्याख्या शब्दले कहाँ सक्छ र?
अथाह पीडाको सागर छातीमा, सुनाऊँ म कसरी।
२) गजल
के रहस्य लुकेको छ तिम्रा ती अधरमा,
वा भ्रमको कुहिरो छ मेरो नै नजरमा।
सँगै हिँड्ने कसम खाएका ती पाइलाहरू,
कसको श्राप पर्यो आज हाम्रो सफरमा।
मुटुका सम्पूर्ण ऋतुहरू तिमीलाई सुम्पेर,
म उभिएको छु अझै त्यही पुरानो बगरमा।
'विप्लवी' प्रेमको दीप बोकी आज पनि उभिएको,
तिमी फर्किने विश्वास छ मेरो प्रत्येक प्रहरमा।
प्रकाशित: ७ श्रावण २०८३ ०८:१३ बिहीबार

-600x400.jpg)

